काठमाडौं, कात्तिक २९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको नैतिकता माथि प्रश्न उठाउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले ज्यानजी आन्दोलन हाइज्याक गरेर बनेको ‘गैरदलिय सरकार’ का एक मन्त्रीले नयाँ पार्टी दर्ता गरी आगामी निर्वाचनमा प्रत्यक्ष रूपमा सहभागी हुने घोषणा गरिसक्नु गम्भीर राजनीतिक सङ्केत भएको टिप्पणी गर्नु भएको छ । ‘गैरदलिय सरकार बनाउने भन्ने, तर मन्त्रीले नै पार्टी दर्ता गरेर चुनावमा जाने घोषणा गर्ने परिस्थिति देखियो, यस्तो व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु प्रधानमन्त्रीकै प्रतिविद्धतासँग मेल खाँदैन’, उहाँले लेख्नु भएको छ ।
उनका अनुसार, निर्वाचनमा भाग लिन पार्टी खोलेको व्यक्ति सरकारमा मन्त्रीको हैसियतमा बसिरहनु नैतिक रूपमा असम्यक मात्र नभई सरकारको विश्वसनीयतामै आघात पुग्ने विषय हो । पोखरेलले प्रधानमन्त्री कार्कीलाई सो बारे अविलम्ब निर्णय लिन आग्रह गर्दै लेख्नु भएको छ, ‘यदि गैरदलिय सरकारमा बस्ने मन्त्रीले आफ्नो राजनीतिक पार्टी खोलेर चुनाव लड्ने तयारी गरिसक्या छन् भने, उनको निरन्तरता मन्त्री पदमा हुनु नैतिक र राजनीतिक दुवै दृष्टिले उचित हुँदैन, अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?’, उहाँको प्रश्न छ ।
हालको सरकारको ढिलासुस्ती, अस्पष्टता र ‘गैरदलिय’ दाबीभन्दा फरक व्यवहारले आगामी निर्वाचन प्रक्रिया प्रभावित हुने उहाँको आशङ्का छ । चुनावी वातावरण तयार पार्ने जिम्मेवारी बोकेको सरकारले नै राजनीतिक द्वैधता देखाउँदा निर्वाचनको निष्पक्षता र पारदर्शिता प्रश्नमा पर्न सक्छ ।
पोखरेलले समग्र राजनीतिक वातावरणलाई स्थिर बनाउन सरकारले स्पष्ट निर्णय, व्यवहार र प्रतिबद्धता देखाउनुपर्ने आवश्यकता औँल्याउनुभएकाे छ ।