पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले संसदमा गएर केवल कुनामा बसेर ताली बजाउने सांसद नभई विकास र राष्ट्रिय मुद्दामा उत्कृष्ट भूमिका खेल्ने सांसद बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले संसदमा गनिने र परिणाममुखी काम गर्ने सांसदका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गरे ।पोखरा जेसिसले आयोजना गरेको ककस प्रत्यक्ष संवादमा बोल्दै उम्मेदवार आचार्यले कास्की क्षेत्र नम्बर २ मात्र नभई समग्र कास्कीको विकासका लागि संसदभित्र सकृय र प्रभावकारी भूमिका खेल्ने बताएका हुन् ।
आचार्यले विशेषगरी पर्यटन प्रवद्र्धनमा धेरै कानुनी जटिलता रहेको भन्दै ती समस्या समाधान गर्न संसदमा सशक्त आवाज उठाउने अठोट गरे । उनले भने—‘पर्यटन कास्कीको मुख्य आधार हो, तर कानुनी र नीतिगत जटिलताका कारण अपेक्षित विकास हुन सकेको छैन, यी जटिलता हटाउन संसदमा पहल गर्नेछु ।’
फोहोर व्यवस्थापन स्थानीय तहको कार्यक्षेत्रभित्र पर्ने विषय भए पनि त्यससँग सम्बन्धित नीतिगत पक्षहरू संसदमा उठाउने उनको भनाई थियो । उनले महानगरले कार्यान्वयन गर्ने काममा नीति र कानुनको माध्यमबाट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आचार्यले स्वर्गीय नेता रविन्द्र अधिकारीको समृद्ध नेपालको सपना आफ्नो मार्गदर्शन भएको उल्लेख गरे । उनको सम्मान गर्दै उनकै आधारमा नयाँ विकासको खाका कोर्ने उनले बताए । ‘उहाँले देखाएको विकासको मार्गलाई निरन्तरता दिँदै नयाँ योजना र कार्यक्रम अघि बढाउनेछु , ’ उनले भने ।
शिक्षा क्षेत्रमा आफूले गरेका योगदानबारे उल्लेख गर्दै आचार्यले पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति हुँदा बीएलएलबी, बीएससी र बीबीए जस्ता कार्यक्रम ल्याउन पहल गरेको बताए । सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि र सशक्तीकरणका लागि परिणाममुखी काम गरेको अनुभवले संसदमा पनि प्रभावकारी भूमिका खेल्न मद्दत गर्ने उनको विश्वास छ ।
उम्मेदवार आचार्यले समग्र कास्कीको विकास, शिक्षा सुधार, पर्यटन प्रवद्र्धन र राष्ट्रिय मुद्दामा स्पष्ट दृष्टिकोणसहित संसदमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याए ।