पोखरा, फागुन ११ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एन्फाले साम्बा नेपाली फुटबलको गौरव र धरोहर भएको उल्लेख गर्दै उनको उपचारमा कुनै कमी नआउने गरी पहल भइरहेको स्पष्ट पारेको छ।
हाल न्युजिल्याण्डको क्लब Wellington Phoenix FC बाट अष्ट्रेलियन ए–लिगमा व्यवसायिक फुटबल खेलिरहेकी साम्बाको खेलकै क्रममा घुँडामा चोट लागेको एन्फाले जनाएको छ।
अन्तर्राष्ट्रिय प्रचलनअनुसार व्यवसायिक क्लब फुटबलमा खेलाडी घाइते भए उपचारको जिम्मेवारी सम्बन्धित क्लबको हुने उल्लेख गर्दै एन्फाले क्लबले न्युजिल्याण्डमै उपचारको प्रक्रिया अघि बढाएको तर साम्बाले कतारमा उपचार गराउने इच्छा व्यक्त गरेपछि संघले त्यसतर्फ आवश्यक पहल थालेको जनाएको छ।
एन्फाका अनुसार साम्बाको उपचारका लागि कतार फुटबल संघसँग औपचारिक पत्राचार गरिसकिएको छ। साथै, एन्फा अध्यक्षले व्यक्तिगत रूपमा समेत आवश्यक पहल र ताकेता गरिरहेका छन्। साम्बाको आग्रहअनुसार परराष्ट्र मन्त्रालयमार्फत पनि उपचार समन्वयका लागि पत्राचार भइसकेको जनाइएको छ।
यसअघि राष्ट्रिय महिला टोलीका खेलाडीहरू प्रिती राई, दीपा शाही, हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर, रेनुका नगरकोटी र सविता राना मगरलगायतका खेलाडीहरूको सम्पूर्ण उपचार खर्च एन्फाले नै व्यहोरेको उल्लेख गर्दै संघले महिला खेलाडीहरूको स्वास्थ्य र सुरक्षाप्रति सदैव संवेदनशील रहेको दाबी गरेको छ।
एन्फाले सम्बन्धित क्लबसँग भएको सम्झौता अध्ययन र छलफल गरी साम्बाको उपचार प्रभावकारी रूपमा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय टोलीकी कप्तानलाई परेको यस कठिन घडीमा एन्फा परिवार पूर्ण रूपमा साथमा रहेको र उनलाई यथाशीघ्र मैदानमा फर्काउने लक्ष्यसहित काम भइरहेको प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन्।