काठमाडौं – प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा आमसञ्चार माध्यम र पत्रकारहरूलाई निष्पक्ष, सन्तुलित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।


काउन्सिलले सोमबार जारी गरेको विज्ञप्तिमा निर्वाचन अवधिमा ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’ वा ‘सर्वेक्षण’को नाममा मतदातालाई प्रभाव पार्ने खालका सामग्री सम्प्रेषण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केही सञ्चार माध्यमले राजनीतिक दल तथा उम्मेदवारको नाम नै किटान गर्दै ‘जित्नेछन्’, ‘अगाडि छन्’, ‘लहर छ/छैन’, ‘डेन्जर जोनमा’ जस्ता अभिव्यक्ति प्रयोग गरी मतदाताको मनोभावनामा असर पार्ने सामग्री प्रसारण गरेको भन्दै यस्ता कार्यले स्वच्छ र निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उल्लेख गरिएको छ।
काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका सामग्रीलाई नोटिसमा राखिएको जनाएको छ। स्रोतको संरक्षण नहुने तथा मतदाताको गोपनीयता भंग हुने गरी सामग्री सम्प्रेषण गर्दा व्यक्तिको सुरक्षामा समेत चुनौती उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ।
नेपालको संविधान, प्रेस काउन्सिल ऐन, २०४८ तथा निर्वाचन आयोग सम्बन्धी ऐन र आचारसंहिताअनुसार सञ्चार माध्यमले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने काउन्सिलको भनाइ छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले सरकारी तथा निजी सञ्चार माध्यमले समेत निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने व्यवस्था गरेको स्मरण गराइएको छ।
निर्वाचन सफल बनाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै काउन्सिलले स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा सामग्री सम्प्रेषण गर्न तथा मतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्न सबै सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।