सहयोग रकम रोक्न राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साम्बाकाे आग्रह

पाेखरा ।नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा चर्चित खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि देश–विदेशबाट प्राप्त अभूतपूर्व सहयोगप्रति आभार व्यक्त गर्दै सहयोग रकम रोक्न आग्रह गरेकी छन्।

पछिल्लो २४ घण्टामा प्राप्त साथ, विश्वास र आर्थिक सहयोगले आफू भावुक बनेको उल्लेख गर्दै उनले ‘धन्यवाद’ शब्द नै सानो भएको बताएकी छन्। समर्थकहरूले उपचार खर्च जुटाइदिनुका साथै दिएको मनोबलले आफूलाई अझ बलियो बनाएको उनले जनाएकी छन्। यही ऊर्जा र समर्थनलाई साथ लिएर शल्यक्रिया र पुनर्स्थापनामा शतप्रतिशत मेहनत गर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छन्।

 

उनका अनुसार उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) संकलन भइसकेको छ। विभिन्न संघ–संस्था तथा प्रायोजकहरूले नगद तथा अन्य सुविधा सहयोगको प्रतिबद्धता जनाएका छन्। कतारमा उपचारका क्रममा लाग्ने आवास तथा यातायात खर्चसमेत जुट्ने अवस्था देखिएकाले उनले आजैदेखि दुवै खातामा सहयोग रकम जम्मा गर्न रोकिदिन अनुरोध गरेकी छन्।

 

सावित्रा आवद्ध क्लब Wellington Phoenix FC ले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोग गर्दै उपचार प्रक्रियालाई सहजीकरण गरिरहेको उनले जानकारी दिएकी छन्। छिट्टै शल्यक्रियाको मिति तय भएर प्रक्रिया अघि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

 

चोटका कारण शारीरिक मात्र होइन, मानसिक रूपमा समेत थकित बनेको स्वीकार्दै उनले समर्थकहरूको मायाले फेरि उठ्ने साहस दिएको बताएकी छन्। आफू एक्लो नभएको विश्वास दिलाएको भन्दै उनले दृढ संकल्पका साथ अझ मजबुत भएर मैदानमा फर्कने प्रतिबद्धता जनाएकी छन्।

 

“फेरि नेपालको जर्सी लगाएर देशका लागि खेल्नेछु, तपाईंहरूको विश्वासको सम्मान गर्नेछु,” उनले भनिन्, “मेरो साँचो धन्यवाद भनेकै मेरो पुनरागमन हुनेछ।”उनले चाँडै मैदानमा भेट हुने विश्वाससमेत व्यक्त गरेकी छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...