पोखरा, फागुन । जिल्ला प्रशासन कार्यालय कास्की ले फागुपूर्णिमा (होली) पर्व सभ्य र मर्यादित रूपमा मनाउन आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

सूचनामा फागुपूर्णिमापछि मिति २०८२/११/२१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहिताको परिपालनालाई ध्यानमा राखी अघिल्ला वर्षहरूमा झैँ खुला सडक तथा सार्वजनिक स्थानमा भेला भई गरिने फेस्ट, स्टेज कार्यक्रम, कन्सर्ट, सांस्कृतिक कार्यक्रम लगायतका गतिविधिहरू गर्न अनुमति नदिइने स्पष्ट गरिएको छ। निर्वाचन सम्पन्न नभएसम्म यस्ता कार्यक्रमहरू आयोजना नगर्न/नगराउन सबैमा अनुरोध गरिएको छ।
कार्यालयले होली पर्व आफ्नै घर तथा परिवारको परिसरभित्र रही धार्मिक, सांस्कृतिक र सामाजिक मूल्य–मान्यताको संरक्षण हुने गरी मनाउन आग्रह गरेको छ। साथै निर्वाचनको सुरक्षा र आचारसंहिताको पालना गर्न जिल्लामा क्रियाशील राजनीतिक दल, उम्मेदवार, कर्मचारी, मतदाता, निजी क्षेत्र, गैरसरकारी संस्था, सञ्चार माध्यम तथा नागरिक समाज सबैलाई आह्वान गरिएको छ।
धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्ने।खुला सार्वजनिक स्थानमा लक्षित कार्यक्रम आयोजना नगर्ने।कसैको इच्छा विपरीत रंग दल्ने, लोला हान्ने, पानी छ्याप्ने, बाटो छेक्ने वा रकम असुल्ने जस्ता कार्य नगर्ने।मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने तथा होहल्ला र उच्छृङ्खल गतिविधि नगर्ने।
सवारी साधन प्रयोग गरी र्याली, अनावश्यक हर्न बजाउने कार्य नगर्ने,निर्वाचन आचारसंहिता, २०८२ विपरीत निर्वाचन चिन्ह वा झण्डा अंकित सामग्री (लोगो, स्टिकर, कपडा, टोपी, टिसर्ट, ज्याकेट, ब्याच, मास्क, लकेट आदि) प्रयोग नगर्ने।
आचारसंहिता उल्लंघन देखिएमा जिल्ला आचारसंहिता अनुगमन समिति वा नजिकको सुरक्षा निकायलाई जानकारी गराउने।
प्रचलित कानून विपरीत कार्य गरे/गराएको पाइएमा कानुन बमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।