पोखरा, फागुन । सात दशक लामो गौरवपूर्ण इतिहास बोकेको नेपाल पत्रकार महासंघले आसन्न आमनिर्वाचनको सन्दर्भमा सम्पूर्ण पत्रकार र सञ्चारगृहलाई पेशागत इमान्दारिताका साथ उच्च व्यावसायिकताको पुनर्पुष्टि गर्न हार्दिक अपिल गरेको छ।

महासंघले जारी गरेको अपिलमा संविधानले प्रत्याभूत पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग जिम्मेवार ढंगले गर्नुपर्ने उल्लेख गर्दै निर्वाचनका बेला सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नु झन् आवश्यक रहेको जनाएको छ। लोकतान्त्रिक व्यवस्थामा जनमतबाट अनुमोदित सरकार गठन हुने भएकाले निर्वाचन प्रक्रियालाई सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने महासंघको धारणा छ।
विगतका आन्दोलनका क्रममा सञ्चारगृहले भौतिक क्षति बेहोर्नुपरेको र पत्रकारले असुरक्षा तथा ‘सेल्फ सेन्सरसीप’ झेल्नुपरेको स्मरण गर्दै महासंघले अहिले पनि अघोषित सेन्सरसीपको अवस्था विद्यमान रहेको जनाएको छ। यस्ता गतिविधि निन्दनीय भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
निर्वाचन अवधिमा सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना फैलिने क्रम बढ्ने भएकाले त्यसलाई चिर्न जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याइएको छ। सही र प्रमाणित सूचनामार्फत समाजमा व्याप्त अन्योल हटाउन सञ्चारमाध्यमले विशेष सतर्कता अपनाउनुपर्ने महासंघको भनाइ छ। विशेषगरी मौन अवधिमा भ्रामक सूचना फैलिन सक्ने भन्दै तथ्यमा आधारित सामग्री प्रकाशन–प्रसारण गर्न आग्रह गरिएको छ।
महासंघले नियामक निकाय प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहिता तथा निर्वाचन आयोगले तोकेको निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ। पेशागत तथा भौतिक सुरक्षाको विषयलाई उच्च प्राथमिकतामा राख्दै महासंघ श्रमजीवी पत्रकारको हितमा निरन्तर सक्रिय रहेको जनाएको छ।
निर्वाचन रिपोर्टिङमा खटिएका पत्रकारलाई अवरोध नगर्न सबै सरोकारवाला पक्षसँग आग्रह गर्दै प्रेस पासका आधारमा सञ्चारमाध्यमका सवारी साधनलाई निर्वाध आवत–जावतको व्यवस्था मिलाउन माग गरिएको छ। साथै, दुर्गम क्षेत्रमा खटिने पत्रकारको सुरक्षाका लागि ‘मिडिया सेफ्टी डेस्क’ स्थापना तथा आवश्यक परे हवाई उद्धारको व्यवस्था गर्न राज्यसँग आग्रह गरिएको छ।
महासंघकी अध्यक्ष निर्मला शर्माद्वारा जारी अपिलमा संवैधानिक जटिलताको अवस्थामा लोकतान्त्रिक निकासका लागि जिम्मेवार पत्रकारिता अपरिहार्य भएको उल्लेख गर्दै संविधान र प्रेस स्वतन्त्रताको संरक्षणमा सबैलाई एकताबद्ध हुन आह्वान गरिएको छ।