नेपाल पत्रकार महासंघको माग : प्रेस पासका आधारमा समाचार संकलनमा सहजीकरण गर्न आग्रह

पाेखरा ।प्रतिनिधि सभा निर्वाचनको समाचार संकलनका क्रममा प्रशासनिक झन्झट व्यहोर्नु परेको भन्दै देशभरबाट पत्रकार तथा सञ्चारगृहले गुनासो गरिरहेका सन्दर्भमा नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


मतदानको अघिल्लो दिनसम्म पनि पत्रकार र सञ्चारगृहले सहज रूपमा जनता समक्ष सूचना पुर्‍याउने वातावरण सुनिश्चित नभएकोमा महासंघले दुःख व्यक्त गरेको छ।


महासंघले सूचना विभाग तथा अन्य सरकारी निकायबाट जारी प्रेस पास, सम्बद्ध सञ्चारगृह वा महासंघकै परिचयपत्रका आधारमा मतदान तथा मतगणनाको समाचार संकलन गर्न र त्यस प्रयोजनका लागि सवारी साधनको पास तत्काल उपलब्ध गराउन निर्वाचन आयोग र नेपाल सरकारसँग जोडदार माग गरेको छ।
पारदर्शी, स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सुनिश्चित गर्न नेपाली प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै महासंघले प्रेसलाई आफ्नो दायित्व निर्वाहमा सहजीकरण र समन्वय गर्नु सम्बन्धित निकायको कर्तव्य भएको जनाएको छ।

 

 

अन्यथा निर्वाचन प्रक्रियाप्रति नै आशंका सिर्जना हुन सक्ने चेतावनीसमेत दिएको छ।यसैगरी, निर्वाचन अवधिभर उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै पत्रकारहरूको सुरक्षामा विशेष ध्यान दिन पनि महासंघले आग्रह गरेको छ। साथै, पत्रकारहरूलाई सुरक्षित रूपमा कार्यथलोमा खटिन, तटस्थता कायम राख्न तथा निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पालना गर्न आह्वान गरिएको छ।

 

महासंघले आफ्ना सदस्यहरूका समस्या समाधानमा सक्रिय हुन सबै प्रदेश समिति, शाखा समिति तथा संस्थागत सदस्य संस्थाहरूलाई समेत अपिल गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...