पाेखरा ।सुर्खेतमा २६ वर्षीया इनिशा विकमाथि भएको बलात्कार तथा हत्या प्रकरणमा न्यायको माग गर्दै पोखरामा नागरिकहरूले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत ध्यानाकर्षण पत्र बुझाएका छन्।

पोखराका सचेत तथा जिम्मेवार नागरिकहरूको तर्फबाट प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको पत्रमा उक्त घटनाले देशलाई स्तब्ध र दुःखी बनाएको उल्लेख गर्दै महिला तथा बालिकाको सुरक्षामाथि गम्भीर प्रश्न उठेको बताइएको छ। नागरिकहरूले पीडितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिलाउन र यस्ता जघन्य अपराध पुनः दोहोरिन नदिन राज्यका निकायहरूले कडा कदम चाल्नुपर्ने माग गरेका छन्।
पत्रमार्फत घटनाको छिटो, निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न, संलग्न सबै दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न तथा उमेर वा अन्य बहानामा अपराध लुकाउने वा सजाय कम गर्ने प्रयास नगर्न आग्रह गरिएको छ।
साथै, यदि घटनामा संलग्न व्यक्ति नाबालक भए पनि अपराधको गम्भीरता हेरी बालिग सरह कडा कानुनी सजायको व्यवस्था गर्न पहल गर्नुपर्ने माग गरिएको छ।
नागरिकहरूले पीडित परिवारलाई उचित क्षतिपूर्ति र आवश्यक सहयोग उपलब्ध गराउन तथा देशभर महिला तथा बालिकाको सुरक्षाका लागि प्रभावकारी कानुनी कार्यान्वयन र सुरक्षा व्यवस्था सुदृढ गर्न पनि सरकारसँग आग्रह गरेका छन्।
ध्यानाकर्षण पत्र शान्तिपूर्ण आन्दोलनका क्रममा बुझाइएको बताउँदै दोषीलाई कडा कारबाही गरी पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायले गम्भीर ध्यान दिनुपर्ने उनीहरूको माग छ।उक्त अभियानका सहजकर्तामा सुवानी पौडेल र संरस्वती पुरी रहेका छन्।