गोरखा । मनकामना दर्शन गरेर फर्किरहेको वागमती प्रदेश–००६ ख ८४३० नम्बरको EV माइक्रो गोरखामा दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको मृत्यु भएको छ।

“गोरखा–मनकामना–रामशाहघाट सडक” खण्ड अन्तर्गत शहीद लखन गाउँपालिका–३, कन्टारमा आज बेलुका करिब ८:१५ बजे माइक्रो दुर्घटनामा परेको हो। उक्त माइक्रोमा चालकसहित १४ जना सवार रहेको बताइएको छ।
दुर्घटनामा परेका मध्ये ७ जना भारतीय नागरिकको घटनास्थलमै ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। अन्य घाइतेहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। मृतक तथा घाइतेहरूको पहिचान खुल्ने क्रम जारी रहेको बताइएको छ।