
यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, विराटनगर, पशुपतिनगर र हेटौंडालाई छनोट गरिएको छ । पोखराका होटलकर्मी, पर्यटन व्यवसायी र संचारकर्मी संलग्न हुने अभियान अन्तर्गत पत्रकार सम्मेलन, छलफल र अन्तरक्रिया, प्रचार सामग्री वितरण र आन्तरिक पर्यटनका प्याकेज सार्वजनिक जस्ता गतिविधि समेटिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरामा आयोजना हुन लागेको २१ औं फेवा नव बर्ष महोत्सवमा सहभागिताका लागि पूर्वी नेपालका वासिन्दालाई निमन्त्रणा प्रदान गर्ने अभिप्राय पनि अभियानले लिएको उनले बताए ।
पोखरामा धेरै भन्दा धेरै पर्यटक भित्र्याई उनीहरुको बसाई अवधि लम्ब्याएर बसाईलाई थप रमाइलो र उल्लासपूर्ण बनाउन फेवा नव बर्ष महोत्सव सहयोगी हुने पनि उनले बताए । पोखरा पुग्न चाहने पर्यटकलाई यहाँ निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले थप सहजता थपेको पनि लामिछानेले स्मरण गराए ।
हवाई र स्थल कनेक्टिभिटिको विस्तार गर्दै पूर्वी नेपाल र पोखराविच पर्यटक तथा व्यवसायको आदानप्रदान गर्ने महत्वपूर्ण उद्धेश्य पनि अभियानले लिएको छ । यसका लागि विगतमा पोखराबाट भद्रपुर र विराटनगर जस्ता शहरसम्म संचालित सिधा हवाई सेवालाई पुनः नियमितता प्रदान गर्न र ती शहरबाट पोखरासम्म स्तरीय पर्यटक बस सेवा संचालनका लागि समेत संघले पूर्वका व्यवसायीसँग सहकार्यको प्रस्ताव राख्ने छ ।
नेपाली कला र संस्कृतिको संरक्षण र सम्बद्र्धनको मुख्य उद्धेश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर संघले आगामी चैत २९ देखि वैशाख १ गतेसम्म फेवा तालको किनार लेकसाइडमा २१ औं फेवा नव बर्ष महोत्सव आयोजना गर्दै छ । उक्त महोत्सवमा सहभागिताका लागि पूर्वी नेपालका बासिन्दालाई संघले निमन्त्रणा प्रदान गर्ने छ ।