पोखरा — शनिबारदेखि सुरु भएको यू–२० एथलेटिक्स च्याम्पियनसिपमा गण्डकी प्रदेशले पहिलो दिन नै दुई स्वर्ण पदक जित्दै उत्कृष्ट सुरुवात गरेको छ।

पोखरा रंगशालामा जारी प्रतियोगिताको १५ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी र बादल कार्कीले स्वर्ण पदक जितेका हुन्।

महिला तर्फ १५ सय मिटर दौडमा नारायणी भण्डारीले ५ मिनेट १० सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। बागमती प्रदेशकी भगवती खड्काले ५ मिनेट १६.६३ सेकेण्डमा दौड पूरा गर्दै रजत पदक जितिन् भने लुम्बिनी प्रदेशकी गुञ्जा यादवले ५ मिनेट २७.९१ सेकेण्डमा दौड पूरा गर्दै कास्य पदक हात पारिन्।
पुरुष तर्फको १५ सय मिटरमा गण्डकीका बादल कार्कीले ४ मिनेट ०९.३५ सेकेण्डको समय निकाल्दै स्वर्ण पदक जिते। बागमती प्रदेशका हस्त सुनारले ४ मिनेट ०९.८२ सेकेण्डका साथ रजत पदक जित्दा लुम्बिनी प्रदेशका नरेन्द्र दानीले ४ मिनेट १४.०३ सेकेण्डमा दौड पूरा गर्दै कास्य पदकमा सीमित भए।
यसैबीच, प्रतियोगितासँगै सञ्चालन भइरहेको दोस्रो पोखरा ओपन एथलेटिक्स मिटमा पनि शनिबार विभिन्न विधाका खेलहरू आयोजना गरिनेछन्।
नेपाल एथलेटिक्स संघको आयोजना तथा कास्की जिल्ला एथलेटिक्स संघको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा यू–२० च्याम्पियनसिप अन्तर्गत २४ विधा र पोखरा ओपन अन्तर्गत ३० विधामा प्रतिस्पर्धा गराइने छ। ट्र्याक एन्ड फिल्डका यी स्पर्धामा सातै प्रदेशका खेलाडीहरूको सहभागिता रहेको छ।
प्रतियोगितामा पोखरा ओपनतर्फ विजेताले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने यू–२० च्याम्पियनसिपका विजेताले ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
प्रतियोगितालाई रेडबुल, सफल दूध (सुजल डेरी), सगरमाथा लुम्बिनी इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक, सोल्टी पानी, योर्स ट्रेनिङ सेन्टर, गेट्स ट्रेनिङ सेन्टर र कफी दी हिमालयजले सहयोग गरेका छन्।