पोखरा, वैशाख ४ — कास्की प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ४ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालयबाट खटिएको टोलीले अदालतको फैसला अनुसार कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ३ पुरुष र १ महिलालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये २ जना चेक अनादर कसूर र २ जना अभद्र व्यवहार कसूरका प्रतिवादी रहेका छन्। उनीहरूबाट कुल ६ हजार ४ सय रुपैयाँ जरिवाना असुल उपर गरिएको छ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि कास्की जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। साथै फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई तीव्र बनाइएको पनि प्रहरीले उल्लेख गरेको छ।