पोखरा । नेपाल दशनामी समाज गण्डकी प्रदेश र कास्की जिल्लाले संयुक्त रूपमा गुरु श्री शंकराचार्य जयन्ती मनाउने तयारी गरेका छन्। समाज कास्कीका अध्यक्ष भुपेन्द्र गिरीका अनुसार बैशाख ८ गते विविध कार्यक्रमका साथ जयन्ती मनाइनेछ।

गण्डकी प्रदेश अध्यक्ष मोती गिरी सहित समाज कास्कीको शुक्रबार पोखरामा सम्पन्न बैठकले जयन्ती भव्य र सभ्य रूपमा मनाउने निर्णय गरेको समाज कास्कीका सचिव बोधराज गिरीले जानकारी दिए।
बैठकले जयन्ती सफल बनाउन समाज कास्कीकी कोषाध्यक्ष सुनिता गिरीलाई संयोजक चयन गरेको अध्यक्ष गिरीले बताए। कार्यक्रममा समाजका सल्लाहकार बाबुराम गिरीले सबैको साथ र सहयोगमा जयन्ती भव्य रूपमा मनाउनुपर्ने सुझाव दिएका थिए।
वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्वपूर्ण योगदान दिएका आदि शंकराचार्यको जन्मजयन्तीका अवसरमा विभिन्न मठ, पीठ तथा गुरुकुलमा उहाँका योगदानबारे चर्चा गरिने कार्यक्रम पनि तय गरिएको छ।
आदि शंकराचार्यको जन्म सन् ७८८ मा वैशाख शुक्ल पक्षको पञ्चमी तिथिमा भएको मानिन्छ। दक्षिण भारतको नम्बुदिरी ब्राह्मण वंशमा जन्मिएका शंकराचार्यले सानै उमेरमा वेदहरूको गहिरो ज्ञान हासिल गरेका थिए।
उनले भारत भ्रमण गरी चारै दिशामा चार पीठ स्थापना गरेका थिए, जसलाई आज ‘चारधाम’का रूपमा चिनिन्छ। शंकराचार्यले गोवर्धन पुरी, शृंगेरी, द्वारिका शारदा पीठ तथा ज्योतिर्मठ (बद्रीनाथ) स्थापना गरेको विश्वास गरिन्छ।
उनले ३२ वर्षको उमेरमा हिमालय क्षेत्रमा समाधि ग्रहण गरेको जनविश्वास रहेको छ, यद्यपि जन्म र समाधिसम्बन्धी मितिमा विभिन्न मतभिन्नता पाइन्छ।