बन्दीपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ हुने

पाेखरा । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजनामा आगामी वैशाख १८ र १९ गते तनहुँको बन्दीपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ।


गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (VITOF) गण्डकीको सह–आयोजनामा हुन लागेको मेलाले ग्रामीण पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा रोजगारी सिर्जनामा टेवा पुर्‍याउने लक्ष्य लिएको आयोजकले जनाएको छ।

 

पर्यटनको राजधानी मानिने गण्डकी प्रदेशको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले गाउँ पर्यटनलाई आर्थिक उपार्जनको मुख्य स्रोतका रूपमा विकास गर्न आवश्यक रहेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

दुई दिनसम्म सञ्चालन हुने मेलामा सामुदायिक होमस्टे, पर्यटन व्यवसायी तथा सरोकारवालाबीच B2B र B2C कनेक्टिभिटी विस्तार गर्ने, स्थानीय उत्पादन तथा सेवाको बजारीकरण गर्ने र निजी तथा सरकारी लगानी अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।
मेलाअन्तर्गत ‘गाउँ पर्यटनबाट समृद्धिको यात्रा’ तथा ‘बन्दीपुर पर्यटन हिजो, आज र भोलि’ विषयमा प्यानल छलफल आयोजना गरिनेछ। साथै विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति, पर्यटनसम्बन्धी सूचना तथा प्रचार सामग्री वितरण लगायत कार्यक्रमसमेत सञ्चालन हुनेछन्।

 

आयोजकका अनुसार मेलामा ३० भन्दा बढी गाउँ पर्यटनसम्बन्धी होमस्टे तथा फर्महरूको सहभागिता रहनेछ भने पर्यटन व्यवसायी, नीति निर्माता, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी, स्वदेशी तथा विदेशी पर्यटक र विद्यार्थीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
बन्दीपुरलाई ‘गाउँ पर्यटन भ्रमण वर्ष २०२५’ का रूपमा अघि बढाइरहेको सन्दर्भमा यस मेलाले क्षेत्रको थप प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...