एकराज गिरी /पोखरा । जिएमसी अस्पताल पोखरामा कार्यरत १०१ जना स्वास्थ्यकर्मी विभिन्न सेवा–समूहका कर्मचारीहरूको सहभागितामा आन्दोलनमा उत्रिएका छन्। आन्दोलनमा प्यारामेडिकल, ल्याब, डेन्टल, फार्मेसी, फिजियोथेरापी तथा रेडियोग्राफी विभागका स्वास्थ्यकर्मी सहभागी रहेका छन्।

आन्दोलनरत स्वास्थ्यकर्मीहरूले नेपाल सरकार र आन्दोलनरत पक्षबीच २०८२ असोज १५ गते भएको सम्झौताअनुसार पाँचौँ तहसरह मासिक ३४ हजार ७३० रुपैयाँ (ग्रस तलब) उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन्। उनीहरूले उक्त सम्झौताअनुसार कात्तिक महिनादेखि लागू हुनुपर्ने पारिश्रमिक हालसम्म कार्यान्वयन नभएको भन्दै कात्तिक १ गतेदेखि हालसम्मको बक्यौता रकम समेत भुक्तानी गर्न माग गरेका छन्।

त्यसैगरी, अधिकारका लागि गरिएका गतिविधिका कारण कुनै किसिमको प्रतिशोधपूर्ण व्यवहार नगर्न, राजीनामा दिएर जाने कर्मचारीलाई अनुभवपत्र (एक्सपेरियन्स लेटर) दिन अवरोध नगर्न तथा सामाजिक सुरक्षा कोष (एसएसएफ) वा कर्मचारी सञ्चय कोषको व्यवस्था प्रचलित कानुनअनुसार गर्नुपर्ने माग पनि स्वास्थ्यकर्मीहरूले गरेका छन्।

आन्दोलनरत पक्षले आफूहरूको अभियान अस्पताल प्रशासनविरुद्ध नभई श्रमिक अधिकार सुनिश्चित गर्न केन्द्रित रहेको स्पष्ट पारेको छ। उनीहरूले अस्पताल र स्वास्थ्यकर्मीबीच आपसी सम्मान, सहकार्य र विश्वास कायम रहनुपर्नेमा जोड दिएका छन्।
साथै, अस्पताल प्रशासनले तोकेका नीति, नियम तथा जिम्मेवारी पूर्ण रूपमा पालना गर्ने, संस्थाको हित र विकासका लागि समर्पित भएर काम गर्ने, संस्थाको गरिमामा आँच आउने गतिविधि नगर्ने तथा अस्पतालको भौतिक सम्पत्तिमा कुनै क्षति नपुर्याउने प्रतिबद्धता समेत जनाएका छन्।
स्वास्थ्यकर्मीहरूले आफ्ना माग सम्बोधनका लागि प्रशासनसँग संवाद र सहमतिमार्फत समाधान खोज्न आग्रह गरेका छन्।