पोखरा, जेठ । पोखरा महानगरपालिकाद्वारा जानकी माध्यमिक विद्यालयमा सञ्चालित अटिजम स्रोत कक्षालाई विरौटा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा–१७ ले शैक्षिक सामग्री सहयोग गरेको छ।

सहकारीको १८औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत करिब १५ हजार रुपैयाँ बराबरका मादल, मुरली, भुँइमा बस्ने सामग्रीलगायत विभिन्न सिकाइ सामग्री हस्तान्तरण गरिएको हो।
अटिजम स्रोत कक्षाको भवनमा आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष टिका प्रसाद पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलालाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष राधिका शाही योगीले पछिल्लो समय अटिजम समस्या तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै महानगरले पहिलो पटक जानकी माध्यमिक विद्यालयमा अटिजम स्रोत कक्षा सञ्चालन गरेको जानकारी दिइन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन कडेल, सहकारीका उपाध्यक्ष ध्रुव अधिकारी तथा स्रोत कक्षाका इन्चार्ज कमल आचार्यले अटिजम स्रोत कक्षाको महत्व र यसले खेल्दै आएको भूमिकाबारे चर्चा गरेका थिए।
सो अवसरमा बेलायती नागरिक डा. आनाडफी र हाना स्किलले स्पेसल एलोपेटर हेर्ने सामग्री, सेन्सरी बिन, ट्याक्टायल सामग्री, माटो, जग बललगायत करिब २० हजार रुपैयाँ बराबरका सामग्री उपलब्ध गराएका थिए।
वि.सं. २०८२ भदौदेखि सञ्चालनमा आएको उक्त कक्षामा हाल ४० जना बालबालिका अध्ययनरत छन्। कक्षामा शिक्षक, थेरापिस्ट, सहजकर्ता, आया तथा सहयोगीसहित ११ जना कर्मचारी कार्यरत रहेका छन्। अटिजम भएका ११४ जना बालबालिकाको आवेदन परेको जानकारी पनि कार्यक्रममा दिइएको थियो।