रक्तदानमार्फत समानताको सन्देश

पोखरा, जेठ । २१औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा पोखरामा खुला रक्तदान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।


“समतामूलक सभ्य समाज निर्माण गरौँ” भन्ने नारासहित मानव अधिकारका लागि दलित महिला सशक्तीकरण नेपाल, इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरा तथा मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।


पोखरा–२६ स्थित बहुउद्देश्यीय सामाजिक भवन सक्नेरीमा आयोजित कार्यक्रममा “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने नारासहित रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १५ युनिट रगत सङ्कलन भएको आयोजकले जनाएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय प्रमुख नितु गर्तौलाले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछुत तथा विभेदमुक्त राष्ट्र घोषणा गरिएको स्मरण गर्दै सोही ऐतिहासिक निर्णयको सम्मानस्वरूप हरेक वर्ष यो दिवस मनाइँदै आएको बताउनुभयो।

 

उहाँले सामाजिक सद्भाव, समानता र मानव अधिकारको संरक्षणमा यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै सामाजिक रूपान्तरण र मानवीय सेवामा आधारित अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो। साथै, राज्यले छुवाछुतमुक्त घोषणा गरिसकेपछि यसको व्यवहारिक कार्यान्वयन र सामाजिक चेतनामा अझ बढी जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

 

इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक गणेश भण्डारीले जातीय विभेद अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै व्यवहार परिवर्तन र सामाजिक उत्तरदायित्व आवश्यक रहेको बताउनुभयो।

 

नेपाल रेडक्रस सोसाइटी कास्कीकी सदस्य बबिता सुवेदीले पोखरामा दैनिक करिब १०० युनिट रगतको माग हुने गरे पनि औसतमा ५० देखि ६० युनिट मात्र सङ्कलन हुने अवस्था रहेको जानकारी दिँदै नियमित रक्तदानको आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले विभेदमुक्त समाज निर्माण, सामाजिक न्याय र मानव अधिकारको सम्मानका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

 

मानव अधिकारका लागि दलित महिला सशक्तीकरण नेपालकी अध्यक्ष इश्वरी विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखराका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। दिवसको अवसरमा पोखराका विभिन्न सङ्घसंस्थाले जनचेतनामूलक कार्यक्रमहरू समेत आयोजना गरेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...