पोखरा । कास्की प्रहरीले जेठ महिनाभर लागूऔषध नियन्त्रण, चोरीका घटनाको अनुसन्धान तथा फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिँदै उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न कारबाहीका क्रममा लागूऔषधसहित स्वदेशी तथा विदेशी नागरिक पक्राउ परेका छन् भने चोरीका घटनामा संलग्न व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार वैशाख ३० गते पोखरा–७ शहीदचोकस्थित हुलाक कार्यालयमा नेदरल्याण्ड्सबाट आएको शंकास्पद पार्सल जाँच गर्दा एक हजार थान एलएसडी (Lysergic Acid Diethylamide) फेला परेको थियो। उक्त घटनामा भारतको केरलाका २८ वर्षीय आयुस अजित पक्राउ परेका छन्। थप अनुसन्धानका क्रममा उनको बसोबास रहेको पोखरा–१८ स्थित गेष्टहाउसबाट सात लाख ४० हजार रुपैयाँ नगद र मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी जेठ ३ गते पोखरा–५ पस्याङस्थित एक कोठामा छापा मार्दा टापेन्टाडोल १०० मिलिग्रामका ३८ हजार ३४० चक्की लागूऔषध बरामद गरिएको छ। उक्त घटनामा २९ वर्षीय मनिष शाही ठकुरी पक्राउ परेका छन्। प्रहरीले घटनास्थलबाट एक लाख ८९ हजार ५०० रुपैयाँ नगद समेत बरामद गरेको जनाएको छ।
लागूऔषध गाँजासम्बन्धी छुट्टाछुट्टै घटनामा चार जना पक्राउ परेका छन्। जेठ ८ गते पोखरा रंगशाला क्षेत्रबाट पाँच किलो १५० ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको थियो। त्यसअघि जेठ ७ गते फिर्केपुल क्षेत्रमा तीन किलो ४०० ग्राम गाँजासहित थप दुई जना पक्राउ परेका थिए। सबै घटनामा लागूऔषध मुद्दाअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई समेत प्रभावकारी बनाएको छ। जेठ महिनामा मात्रै ६५ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये ३४ पुरुष र ३१ महिला रहेका छन्। उनीहरूबाट १४ वर्ष ४ महिना २९ दिन कैद तथा ९० लाख ६८ हजार ५६० रुपैयाँ जरिवाना असुलउपर हुन बाँकी रहेको विवरण प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ परेकामध्ये अधिकांश चेक अनादर, चोरी, सार्वजनिक अपराध, बैंकिङ कसुर तथा लागूऔषधसम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन्।
पोखराको लेकसाइड क्षेत्रमा विदेशी नागरिकसमेत प्रहरी कारबाहीमा परेका छन्। युगाण्डाका दुई नागरिकले नेपाली नागरिकको पर्स चोरी गरेको आरोपमा पक्राउ परेका छन्। त्यसैगरी लेकसाइडमै सार्वजनिक स्थानमा होहल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा थप तीन युगाण्डाली नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यस अवधिमा सुनका गरगहना चोरीका दुई ठूला घटनाको पनि प्रहरीले सफल अनुसन्धान गरेको छ। पोखरा–१८ खपौंदीस्थित एक घरबाट करिब १८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनामा चोरी गर्ने र चोरीका गरगहना खरिद गर्ने गरी दुई जना पक्राउ परेका छन्। यस्तै पोखरा–९ न्यूरोड प्रगतिटोलमा भएको चोरी घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी मुद्दा अदालतमा पेश गरिएको छ। अदालतले दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ भने अन्यलाई धरौटीमा रिहा गरेको छ।
सहरी व्यवस्थापनतर्फ पनि प्रहरीले कारबाहीलाई तीव्र बनाएको छ। पोखराका विभिन्न मुख्य क्षेत्रका फुटपाथमा अव्यवस्थित रूपमा पार्किङ गरिएका एक हजार ६० वटा सवारीसाधनमाथि कारबाही गरिएको छ। यसैगरी अवैध रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न १४ वटा सवारीसाधन नियन्त्रणमा लिई स्थानीय तहमार्फत कारबाही गरिएको छ। ती सवारीसाधनबाट दुई लाख २९ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध नियन्त्रण, चोरी अनुसन्धान, फरार प्रतिवादी पक्राउ तथा सार्वजनिक सुव्यवस्था कायम गर्ने अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने जनाएको छ।