पोखरा, जेठ २८ । पोखराका पूर्व बैंकर रेशमबहादुर थापाको कार दुर्घटनामा निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार साँझ बेगनास–भोर्लेटार सडकखण्डअन्तर्गत पोखरा महानगरपालिका–३१ स्थित पचभैयामा कार दुर्घटना हुँदा थापाको ज्यान गएको हो।
पोखरातर्फ आउँदै गरेका थापाले चलाएको बा १३ च ४२०९ नम्बरको कार साँझ ६ बजेर २५ मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि मोहरियास्थित सामुदायिक अस्पताल पुर्याइएको थियो। अस्पतालले साँझ ७ बजेर १५ मिनेटमा उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
थापा लामो समय बैंकिङ क्षेत्रमा आबद्ध रही विभिन्न बैंक तथा वित्तीय संस्थामा जिम्मेवार पदमा कार्यरत रहँदै आएका व्यक्तित्वका रूपमा परिचित थिए। उनको निधनको खबरले पोखराको बैंकिङ क्षेत्र तथा सामाजिक वृत्तमा शोक छाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। मृतक थापाको शव पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।