पोखरामा एम्नेष्टी ईन्टरनेसनल नेपाल अन्नपूर्ण समुह ५४ को साधारण सभा

पोखरा, असार । पोखरामा एम्नेष्टी ईन्टरनेसनल नेपाल अन्नपूर्ण समुह ५४ को साधारण सभा सम्पन्न भएको छ । शनिवार संस्थाको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।साधारण सभाका प्रमूख अतिथि  एम्नेष्टी ईन्टरनेसनल नेपाल अन्नपूर्ण समुह ५४ का संस्थापक सदस्य कपिलनाथ कोइरालाले कार्यक्रमको व्यानरमा हस्ताक्षर गरेर  उद्दघाटन गरेका थिए ।

सो अवसरमा उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष समेत रहेका कोइरालाले नेपालमा २०४६ सालमा प्रजातन्त्र स्थापना पश्चात मानव अधिकारका बारेमा चर्चा परिचर्चा हुँदा पोखरामा एम्नेष्टी इन्टरनेसनल संस्था स्थापना गरिएको स्मरण गरे । पोखरामा संगठित भएर मानवअधिकारको क्षेत्रमा काम गरौं भन्ने भावनाका साथ संस्था गठन गरिएको उनको भनाइ छ । गरिमामय रुपमा स्थापित भएको संस्थाको उपस्थिति पछिल्ला दिनमा कमजोर भएको महसुस हुँदा दुख लागेको भन्दै कोइरालाले आगामी दिनमा प्रभावकारी भूमिका खेल्न आग्रह गरे ।
त्यसैगरी साधारण सभाको अध्यक्षता गरेकी संस्थाकी कार्यवाहक संयोजक अधिवक्ता मीनाकुमारी रानाभाटले आस्थाका आधारमा राज्यले कसैलाई पनि विभेद गर्नु हुँदैन भन्ने मान्यता बोकेर संस्था स्थापना भएको उल्लेख गरिन् । संस्थाका सदस्यहरुले ओजपूर्ण संस्थाका रुपमा रहेको एम्नेष्टीको महत्व बुझेर अगाडि बढ्न आवश्यक रहेको कार्यवाहक संयोजक अधिवक्ता रानाभाटको भनाइ छ ।कार्यक्रममा संस्थाका पूर्वसंयोजक नविन बरालले एम्नेष्टीका गतिविधि माथि प्रकाश पारेका थिए । संस्थाकी सल्लाहकार मञ्जु गौतम र  संस्थाका नयाँ सदस्य गणेश कँडेलले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रमको संचालन संस्थाकी सचिव ज्योती हमालले गरेकी थिइन् । सोही अवसरमा संस्थाका नयाँ सदस्यहरुलाई पनि स्वागत गरिएको थियो ।

आफु भन्दा फरक विचार वा आस्थाका कारण पनि नागरिकलाई थुनामा राख्ने यातना दिने जस्ता गैह्र कानून कारवाहीका बिरुद्ध आवाज उठाउने र आस्थाका आधारमा बन्दी बनाइएका नागरिकहरूको रिहाई लागी अपिल गर्ने उदेश्य सहित सन् १९६१ मा बेलायती कानून व्यवसायी पिटर बेनेन्सन समेतले यो अन्तराष्ट्रिय संस्थाको स्थापना गरेका थिए  । अन्नपूर्ण समुह ५४ एम्नेष्टी इन्टरनेसनल अन्तर्गतको एक समुह हो । संस्थामा हाल ५६ जना सदस्यहरू आवद्ध रहेका बताइएको छ । २४औं साधारण सभा तथा १२ औं अधिवेशनले विष्णु हरी पन्थीको संयोजकत्वमा नयाँ कार्य समिति चयन गरेको थियो । गतवर्ष संयोजक पन्थीको निधन भएपछि रानाभाट संस्थाको कार्यवाहक संयोजकका रुपमा रहेकीछिन् । यस वीचमा समूहले विभिन्न गतिविधिहरुमा सहभागी हुने तथा कार्यक्रमहरु संचालन गरेको सो अवसरमा जानकारी दिइएको छ ।

आगामी दिनमा विभिन्न कार्यक्रमहरु गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । जसमा एम्नेष्टी ईन्टरनेसनल नेपालको केन्द्रिय समितिले आह्वान गरेका कार्यक्रमहरूलाई सफल पार्ने, समितिले प्रत्येक वर्ष गर्ने कार्यक्रमहरू मानव अधिकार दिवस, नारी दिवस र एम्नेष्टी स्थापना दिवस जस्ता महत्वपूर्ण दिवसमा गरिने कार्यक्रमलाई निरन्तरता दिइने लगायत रहेका छन् ।संस्थाका नयाँ सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम र सबै सदस्यहरूलाई मानव अधिकार प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ । त्यसैगरी मानव अधिकारको संरक्षण र प्रबद्र्धनमा सम्बन्धित निकायहरूसंग संयोजन गरिने संस्थाकी सचिव ज्योती हमालको भनाइ छ ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...