महिलाको नेतृत्व समाज परिवर्तनको आधार : भट्टराई

पोखरा । लायन्स क्लबस् इन्टरनेशनल अन्तर्गतको लायन्स क्लब अफ पोखरा बाराही टाउन को वर्ष २०२६/२७ का लागि पद हस्तान्तरण (ह्यान्डओभर/टेकओभर) कार्यक्रम बिहीबार सम्पन्न भएको छ।


कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आइका इलेक्ट डिष्ट्रिक्ट फर्स्ट भाइस गभर्नर लायन शैलेन्द्रमोहन भट्टराई ले समाजसेवामा महिलाको बढ्दो सक्रियता समाजमा सकारात्मक परिवर्तनको सङ्केत भएको बताउनुभयो। उहाँले सकारात्मक जीवनशैली, सभ्य समाज निर्माण तथा सामाजिक रूपान्तरणमा महिला नेतृत्वको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

 

व्यक्तिगत व्यस्तताका बाबजुद महिलाहरूले समाजसेवामा पुर्‍याइरहेको योगदान प्रशंसनीय रहेको बताउँदै उहाँले क्लबको नामअनुसारका कार्यले समाजमा सकारात्मक प्रभाव पारेको धारणा राख्नुभयो। समाजका समस्याको पहिचान गरी महिलाको नेतृत्वमा अझ प्रभावकारी, रचनात्मक र सृजनशील कार्यक्रम सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो। सङ्ख्याभन्दा कामको गुणस्तर र प्रभावकारितामा ध्यान दिनुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

 

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक काउन्सिलर लायन कृष्ण श्रेष्ठ (रोजी), वर्ष २०२४/२५ का अध्यक्ष लायन विजयालक्ष्मी खड्का, डिष्ट्रिक एरिया लिडर लायन सूर्य चपाई तथा वर्ष २०२४/२५ का रिजन चेयरपर्सन माधव खड्का ले राष्ट्रियदेखि स्थानीय तहसम्म महिला नेतृत्व र सहभागिता सशक्त बन्दै गएको धारणा व्यक्त गर्नुभयो।

 

वक्ताहरूले पछिल्लो निर्वाचन परिणामले समेत महिला नेतृत्वलाई प्राथमिकता दिएको उल्लेख गर्दै यसलाई सकारात्मक दिशाको रूपमा व्याख्या गरे। समाजसेवामा महिलाको बढ्दो सहभागिताले समाजमा सकारात्मक परिवर्तन ल्याइरहेको भन्दै नयाँ सोच र नवीन अवधारणासहित सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइयो।

 

क्लबले वर्ष २०२५/२६ मा वृक्षारोपण, खेलाडीलाई जर्सी वितरण, अपाङ्गतामैत्री संस्थामा खाद्यान्न सहयोग, महिला सशक्तीकरणसम्बन्धी प्रशिक्षण, प्रहरी चौकी छोरेपाटनमा विद्युतीय सामग्री वितरण, मन्दिर सरसफाइ, श्रद्धाञ्जली कार्यक्रम, चार्टर डे तथा मानसिक स्वास्थ्य सचेतना लगायतका विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

 

हाल क्लबमा २० जना महिला सदस्य आबद्ध रहेका छन्। वर्ष २०२६/२७ की नवनिर्वाचित अध्यक्ष लायन लक्ष्मी न्यौपाने ठकुरी ले लायन्स क्लबको नीति, नियम, अनुशासन र संस्कारअनुसार सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

वर्ष २०२५/२६ की अध्यक्ष लायन विजयालक्ष्मी खड्का को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्ष तथा डिष्ट्रिक एनएलएफ चिफ लायन गङ्गा शर्मा केसी ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव लायन लक्ष्मीदेवी शर्मा ले गर्नुभएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...