काठमाडौं । बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ।

कार्यालयका अनुसार नेपाल सरकार वादी रहेको बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत इलामबाट पक्राउ अनुमति प्राप्त भएपछि फरार रहेका कृष्णकुमार राई लाई पक्राउ गरिएको हो। उनलाई २०८३ असार १२ गते काठमाडौं महानगरपालिका–१४, बल्खु क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका राई इलाम जिल्लाको देउमाई नगरपालिका–१२ का स्थायी बासिन्दा हुन्। हाल उनी काठमाडौंको कीर्तिपुर नगरपालिका–२ मा बसोबास गर्दै आएका थिए।
प्रहरीका अनुसार उनीविरुद्ध रु. १ करोड ४३ लाख ३७ हजार ५ सय बराबरको बिगो रहेको बैंकिङ कसुर मुद्दा रहेको छ। पक्राउ परेका राईलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, इलाम पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।