वर्तमान सन्दर्भमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता

रामप्रसाद खनाल /

पृष्ठभूमि: इतिहासको एउटा यस्तो संवेदनशील मोड, जहाँ विश्व कम्युनिष्ट आन्दोलनले अपूर्व धक्का व्यहोरेको थियो,सोभियत सङ्घको विघटन र पूर्वी युरोपमा समाजवादको अवसानसँगै माक्र्सवादको भविष्यमाथि नै पुँजीवादी शक्तिहरूले चौतर्फी प्रहार गरिरहेका थिए। ठीक त्यही विषम परिस्थितिमा नेपाली भूमिमा माक्र्सवाद-लेनिनवादको जगमा उभिएर एउटा पृथक, मौलिक र युगद्रष्टा वैचारिक दृष्टिकोणको प्रादुर्भाव भयो। नेपाल भौगोलिक रूपमा अनेक रङ्गीन विविधतायुक्त र सामाजिक रूपमा बहुसांस्कृतिक,बहुभाषिक,बहुजातीय एवं बहुधार्मिक विशेषताले सजिएको एक अनुपम मुलुक हो।

यहाँको भूगोल, संस्कृति, भाषा, इतिहास र जनजीवनका प्रत्येक अवयवहरूमा बहुलता अन्तर्निहित छ। यस्तो प्राकृतिक र सामाजिक रूपले नै बहुलतायुक्त मुलुकमा कुनै पनि प्रकारको जड, यान्त्रिक वा एकाधिकारवादी विचार टिक्न सक्दैन भन्ने गहिरो यथार्थलाई हृदयङ्गम गर्दै जननेता मदन भण्डारीले नेपाली माटोको ठोस धरातल अनुकूल यो सिद्धान्तको प्रतिपादन गर्नुभयो। यसको बिजारोपल चौथो महाधिवेशनमै भइसकेको थियो । वि.सं. २०४९ सालमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पाँचौँ महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको त्यस्तो कार्यक्रम थियो, जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई जडसूत्रवाद र विसर्जनवाद दुवैको चक्रव्यूहबाट सुरक्षित रूपमा बाहिर निकाल्यो।

​जबज केवल सैद्धान्तिक विलासिता र प्राज्ञिक बहसको विषय मात्र थिएन, बरु यसले नेपाली समाजको लोकतान्त्रिक रूपान्तरणका लागि सञ्चालित भौतिक सङ्घर्षहरूलाई प्रत्यक्ष र व्यावहारिक मार्गनिर्देश प्रदान गर्‍यो। वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलन र त्यसको जगमा उभिएर वि.सं. २०६२/०६३ सालमा सम्पन्न शान्तिपूर्ण दोस्रो जनआन्दोलनलाई उत्कर्षमा पुर्‍याउँदै गणतन्त्र स्थापनाको विन्दुसम्म डोर्‍याउन जबजकै शान्तिपूर्ण जनविद्रोह र सङ्गठित जनबलको सिद्धान्तले मुख्य रणनीतिक कडीको काम गरेको थियो।

जननेता मदन भण्डारी र नेकपा (एमाले) ले वि.सं. २०४७ सालको संविधान जारी हुँदाका बखत राजाको विशेषाधिकार र निरङ्कुशताका छिद्रहरूलाई बेलैमा ठम्याएर दर्ता गराएको २७ बुँदे असहमति / फरक मत वास्तवमा नेपाली इतिहासलाई अग्रगामी निकास दिने ऐतिहासिक मार्गचित्र थियो। मदन भण्डारीको दूरदर्शिताको प्रमाण त्यतिबेला अकाट्य रूपमा स्थापित भयो जब वि.सं. २०६३ सालको अन्तरिम संविधान र अन्ततः संविधानसभाबाट बनेको नेपालको ऐतिहासिक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले ती २७ बुँदे फरक मतमा उठाइएका धर्मनिरपेक्षता, सार्वभौमसत्ता पूर्ण रूपमा जनतामा रहने व्यवस्था, सेनाको जनवादीकरण, र समावेशी प्रतिनिधित्व जस्ता आधारभूत विषयहरूलाई पूर्ण रूपमा स्वीकार्दै मूल अंगको रूपमा आत्मसात् गर्‍यो। आजको सन्दर्भमा यो क्रान्तिकारी कार्यक्रम हिजो जति सान्दर्भिक थियो, आज समाजवादी यात्राको आधार तयार गर्ने सन्दर्भमा र दक्षिणपन्थी घेराबन्दी एवं राजनीतिक षड्यन्त्रहरूको डटेर सामना गर्न यो अझ बढी जीवन्त र मार्गनिर्देशक बनेर उभिएको छ ।

​जबज र लोकतान्त्रिक मूल्यमान्यता:

​जनताको बहुदलीय जनवादको सबैभन्दा बलियो र सुन्दर पक्ष भनेको लोकतान्त्रिक मूल्यमान्यताहरूसँग माक्र्सवादी विचारको अचुक फ्युजन हो। परम्परागत कम्युनिष्ट सत्ताहरूले एकदलीय अधिनायकत्वलाई नै समाजवादको अचुक ओखती मानिरहेका बेला जबजले बहुदलीय प्रतिस्पर्धा, संविधानको सर्वोच्चता, कानुनको शासन, मानव अधिकारको रक्षा, शक्ति पृथकीकरणको सिद्धान्त र आवधिक निर्वाचनजस्ता विशेषताहरूलाई अंगीकार गर्‍यो। जबजले प्रष्ट रूपमा भन्यो कि कुनै पनि क्रान्तिकारी शक्तिले राज्यको बल प्रयोग गरेर होइन, बरु सङ्घर्ष, सेवा गरेर पहलकदमी, प्रतिस्पर्धा र श्रेष्ठताका माध्यमबाट जनताको मन जितेर मात्र सत्ताको नेतृत्व गर्नुपर्छ।

​आजको विश्व र घरेलु राजनीतिमा यो विचारको सान्दर्भिकता अझ बढी प्रखर भएर आएको छ। आजको नेपाली समाज निकै सचेत र खुला छ। यस्तो अवस्थामा राज्यशक्ति र पार्टी नेतृत्व दुवै स्थानमा लोकतान्त्रिक अभ्यास अपरिहार्य बन्न पुगेको छ। जबजले परिकल्पना गरेको ‘बहुलवादी खुला समाज’ र ‘बहुदलीय प्रतिस्पर्धा’ नै वर्तमान नेपालको संविधानको मूल स्तम्भ बनेका छन्। जनअनुमोदित भएर मात्र सत्तामा पुग्ने र सरकार चलाउने संवैधानिक व्यवस्था वास्तवमा जबजकै वैचारिक विजय हो।

जब कुनै दल वा विचारले जनभावनाको कदर गर्न सक्दैन, तब उसले सत्ता छोड्नुपर्छ र रचनात्मक प्रतिपक्षको भूमिका खेल्नुपर्छ भन्ने जबजको मान्यताले राजनीतिक दलहरूलाई निरङ्कुश वा सर्वसत्तावादी बन्नबाट रोक्छ। वर्तमान सन्दर्भमा लोकतन्त्रको सुदृढीकरण र कम्युनिष्ट आन्दोलनको लोकप्रियतालाई कायम राख्न जबजले निर्दिष्ट गरेको लोकतान्त्रिकीकरणको यो बाटो नै एक मात्र भरपर्दो मार्ग हो।

​क्रान्तिका चरणहरू:

​जनताको बहुदलीय जनवाद केवल तत्कालको सत्ता प्राप्ति र राजनीतिक दाउपेचको सिद्धान्त होइन। यो त समाजको वर्गीय धरातललाई बुझेर वैज्ञानिक समाजवादतर्फ पाइला चाल्ने क्रमिक र सुस्पष्ट क्रान्तिकारी विज्ञान हो। जननेता मदन भण्डारीले समाजवादको हतारोमा वस्तुगत परिस्थिति तयार नहुँदै बलजफ्ती फड्को मार्ने काल्पनिक आदर्शको कडा आलोचना गर्नुभएको थियो। उहाँले अघि सार्नुभएको दृष्टिकोणमा एउटा खुट्टो दह्रोसँग नटेकी अर्को खुट्टा उचाल्दा क्रान्ति दुर्घटनामा पर्छ भन्ने व्यावहारिक सत्य उजागर गरिएको थियो। यसैकारण जबजले क्रान्ति सम्पन्न भएपछि जनवादी व्यवस्थाको सुदृढीकरण र समाजवादको आधार तयार गर्न अनिवार्य रूपमा तीनवटा विशेष चरण वा अवधिहरू पार गर्नुपर्ने ठोस मार्गचित्र प्रस्तुत गरेको छ, जुन आजको संक्रमणकालीन नेपालका लागि कडीको रूपमा रहेको छ।

​क्रान्तिको पहिलो चरण पुरानो व्यवस्थाका सामन्ती र साम्राज्यवादी शोषण-उत्पीडनका अवशेषहरूलाई सबै क्षेत्रबाट पूर्ण रूपमा अन्त्य गर्ने अवधि हो। नेपालमा कानुनी र राजनीतिक रूपमा राजतन्त्र र सामन्ती भू-स्वामित्वको औपचारिक अन्त्य त भयो, तर नोकरशाही दलाल पुँजीवादको रूपमा सामन्तवादका अवशेषहरू अझै अर्थतन्त्र, संस्कृति र प्रशासनमा जीवितै छन्। तसर्थ, आजको सन्दर्भमा क्रान्तिको यो पहिलो चरणलाई पूर्णता दिन प्रशासनिक सुधार, भ्रष्टाचार विरोधी कठोर कदम र दलाल पूँजीवादको जालो तोड्नु अपरिहार्य छ।

​क्रान्तिको दोस्रो चरण नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले तीव्र विकास गर्ने अवधि हो। नेपालले संविधानमा “समाजवाद उन्मुख” राज्यको संकल्प त गर्‍यो, तर मुलुकभित्र जबसम्म आत्मनिर्भर उत्पादन सम्बन्ध र बलियो राष्ट्रिय उद्योगको विकास हुँदैन, तबसम्म त्यो केवल कागजको घोडा मात्र साबित हुन्छ। यो दोस्रो चरणको मुख्य उद्देश्य कृषिमा आधारित जनशक्तिलाई औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्ने र राष्ट्रिय पुँजीको संरक्षण गर्दै नागरिकहरूको भौतिक र सांस्कृतिक चेतना स्तर माथि उठाउने हो। यस चरणमा राज्यले स्वास्थ्य, शिक्षा र रोजगारको ग्यारेन्टी गर्दै आर्थिक उत्पादनको ढाँचामा परिवर्तन ल्याउनुपर्छ।

​क्रान्तिको तेस्रो र अन्तिम चरण समाजवादमा सङ्क्रमणका निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने अवधि हो। जब राष्ट्रिय अर्थतन्त्र स्वाधीन हुन्छ, जब समाजमा सांस्कृतिक रूपमा वर्गीय तथा लैङ्गिक समानता बलियो भएर स्थापित हुन्छ र जब उत्पादक शक्तिको गुणात्मक विकास हुन्छ, तब मात्र मुलुक समाजवादको ढोकामा पुग्न सक्छ। हामीले यी तीनवटै चरणहरूलाई क्रमिक र योजनाबद्ध रूपमा पार नगरी सिधै समाजवादको हवाइ गफ गर्‍यौँ भने त्यसले मुलुकलाई झन् ठूलो आर्थिक अराजकतातिर धकेल्नेछ। वर्तमान संक्रमणकालीन परिस्थितिमा जबजले अघि सारेको क्रान्तिको यो चरणबद्ध अवधारणाले हतार र लहडका भरमा गरिने नीतिगत निर्णयहरूलाई अंकुश लगाउँदै सही दिशामा अघि बढ्न मार्गनिर्देश गर्दछ।

​वर्ग आएको फेरबदल:

​मदन भण्डारीले जबजको जग बसाल्दा नेपाली समाज मूलतः कृषिप्रधान र परम्परागत सामन्ती उत्पादन सम्बन्धमा जेलिएको थियो। तर आज समयको गतिसँगै नेपालको वर्गीय धरातल र वर्ग संरचनामा निकै ठूलो फेरबदल एवं रूपान्तरण आएको छ। परम्परागत रूपमा रहेको सामन्ती भू-स्वामित्व र जमिनदार तथा जोताहा किसानबीचको मुख्य अन्तरविरोध अब धैरे हदसम्म कमजोर भइसकेको छ। वैदेशिक रोजगारीले सिर्जना गरेको रेमिट्यान्स अर्थतन्त्र, व्यापक सहरीकरण र पश्चिमा नवउदारवादी बजारको प्रभावले गर्दा नेपालमा एउटा ठूलो मध्यम वर्गको जन्म भएको छ। यो मध्यम वर्ग उत्पादक शक्ति बन्नुको साटो बिचौलीया र केवल उपभोक्तावादी चरित्रमा खुम्चिएको छ।

​यस वर्ग संरचनाको फेरबदलमा सबैभन्दा खतरनाक पक्ष भनेको दलाल नोकरशाही पुँजीपति वर्गको जन्म र यसको अभूतपूर्व विस्तार हो। राष्ट्रिय उद्योगधन्दाहरूको अभाव र राज्यको कमजोर नीतिका कारण देशभित्र औद्योगिक पुँजी निर्माण हुन सकेको छैन। फलस्वरुप, दलाल र बिचौलियाहरूको एउटा शक्तिशाली वर्गले राज्यका नीति निर्माण, प्रशासनिक संयन्त्र र उत्पादनका साधनहरूमाथि आफ्नो बलियो र अभेद्य नियन्त्रण कायम गरेको छ।

कृषिबाट श्रम शक्ति पलायन भएको छ, तर त्यो औद्योगिक श्रममा रूपान्तरित हुनुको साटो वैदेशिक श्रम बजारमा सस्तोमा बिक्न बाध्य छ। वर्ग संरचनामा आएको यो रूपान्तरणले समाजमा नयाँ खालको असन्तोष र वर्गीय खाडल जन्माएको छ, जसलाई सम्बोधन गर्न जबजले निर्देश गरेको राष्ट्रिय पूँजीको निर्माण र उत्पादक शक्तिको विकाससम्बन्धी आर्थिक नीति आज झनै सान्दर्भिक बनेको छ।

​संयुक्त मोर्चा र कार्यगत एकताबारे जबजको मार्गचित्र:

​नेपाली राजनीतिमा देखा परेको गम्भीर दक्षिणपन्थी धक्का र विचारहीन लोकप्रियतावादको दबदबालाई चिर्दै राजनीतिक शक्ति सन्तुलनलाई पुनः देशभक्त र प्रगतिशील शक्तिहरूको पक्षमा फेरबदल गर्नका लागि “संयुक्त मोर्चा” र “कार्यगत एकता” सम्बन्धी जबजको सिद्धान्त र स्पष्ट मार्गनिर्देशन आज झनै सान्दर्भिक बनेको छ। जननेता मदन भण्डारीले संयुक्त मोर्चालाई सामन्तवाद र दलाल पुँजीवाद विरोधी जनवादी आन्दोलनलाई सफल बनाउने एक निर्णायक हतियारको रूपमा सैद्धान्तिकरण गर्नुभएको थियो।

 

जबजको मर्म अनुसार, साझा शत्रुका विरुद्ध र साझा राष्ट्रिय तथा जनपक्षीय उद्देश्यका निम्ति विभिन्न वर्ग, पेशा, समुदाय र समान कार्यदिशा भएका राजनीतिक शक्तिहरूलाई बृहत्तर रूपमा गोलबन्द गर्नु नै संयुक्त मोर्चाको मूल मर्म हो। जबजले संयुक्त मोर्चालाई दुई तहमा विभाजित गरी अगाडि बढाउने निर्देश गरेको छ, जसमा कम्युनिष्ट आन्दोलनको प्रत्यक्ष वा परोक्ष वैचारिक-राजनीतिक नेतृत्वमा बन्ने “वर्गीय संयुक्त मोर्चा” र तत्कालीन राजनीतिक संवेदनशीलताका आधारमा बन्ने “राजनीतिक संयुक्त मोर्चा” वा “कार्यगत एकता” रहेका छन्।

​वर्तमान सन्दर्भमा जब हामी वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूको ठूलो पराजय र कथित लोकप्रियतावादी दक्षिणपन्थीहरूको दुई तिहाइको विशाल घेराबन्दीमा छौँ, त्यतिबेला शक्ति सन्तुलनलाई परिवर्तन गर्न कार्यगत एकता र मोर्चाबन्दीको ऐतिहासिक आवश्यकता अझ बढेर गएको छ। जबजले मोर्चा निर्माण गर्दा दुईवटा चरम र अलोकतान्त्रिक चिन्तनहरू विरुद्ध कठोर सङ्घर्ष गर्ने मार्गनिर्देश गरेको छ।

पहिलो हो-साझा राजनीतिक सवालमा सम्भव भएका शक्तिहरूलाई गोलबन्द गर्न नचाहने संकीर्ण “अलगाववादी र जडवादी दृष्टिकोण”। दोस्रो हो-आफ्नो स्वतन्त्र शक्तिलाई बलियो बनाउन ध्यान नदिई केवल अरूसँगको वैशाखी र गठबन्धनमा मात्र टिकिरहन खोज्ने परावलम्बी एवं आत्मसमर्पणवादी “गठबन्धनवादी दृष्टिकोण”। मदन भण्डारीले प्रष्ट रूपमा भन्नुभएको थियो कि आफ्नो स्वतन्त्र वैचारिक र सङ्गठनात्मक शक्तिलाई जनताको बीचमा लगेर बलियो नबनाई अरू कसैलाई पनि आकर्षित गर्न वा संयुक्त मोर्चामा सामेल गराउन सकिँदैन।

​तसर्थ, आजको प्रतिकूल शक्ति सन्तुलनलाई भत्काउनका लागि पहिलो सर्त नेकपा (एमाले) ले जनताको बीचमा आफ्नो सङ्गठनात्मक र वैचारिक श्रेष्ठता स्थापित गर्दै स्वतन्त्र शक्ति सञ्चय गर्नु हो। हिजोका कमीकमजोरी प्रति जनतासंग माफी माग्दै,नेता-कार्यकर्ताको जीवनशैली तथा कार्यशैली जनपक्षीय बनाउदै सम्बन्धित समुदायका बिचमा जनसंगठन र पेशागत संगठनलाई पुनः व्यवस्थापन गर्नु पर्दछ। त्यसैको सुदृढ जगमा उभिएर राष्ट्रिय हित, सार्वभौमिकताको रक्षा, सुशासन र जनजीविकाका तत्कालीन ज्वलन्त मुद्दाहरूमा सहयोग पुर्‍याउन सक्ने वामपन्थी, देशभक्त, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूलाई कार्यगत रूपमा एकताबद्ध बनाउनुपर्छ। यस्तो कार्यगत एकता दीर्घकालीन रूपमा वैचारिक सम्झौता वा आत्मसमर्पण गरेर होइन, बरु तत्कालीन राष्ट्रिय र जनपक्षीय साझा सवालहरूमा मुद्दाका आधारमा मात्र केन्द्रित हुनुपर्छ। साझा विषयहरूमा सहकार्य गर्दै र आफ्ना मतभेद भएका विषयहरूमा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने जबजको यो द्वन्द्वात्मक र लचिलो कार्यनीतिले मात्र वर्तमान लोकप्रियतावादी दक्षिणपन्थी लहरलाई परास्त गर्दै शक्ति सन्तुलनमा अग्रगामी परिवर्तन ल्याउन सक्छ।

​प्रतिगमन र प्रतिक्रान्तिबारे जननेताको सैद्धान्तिक चेतावनी:

​ऐतिहासिक यात्रा कहिल्यै पनि एकनाश र सीधा रेखामा मात्र अगाडि बढ्दैन। जननेता मदन भण्डारीले सधैँ अत्यन्तै गम्भीरताका साथ जोड दिने एउटा दार्शनिक र राजनीतिक सत्य के थियो भने- “क्रान्ति एकपटक सफल हुँदैमा वा लोकतान्त्रिक अधिकारहरू स्थापित हुँदैमा प्रतिक्रान्ति र प्रतिगमनको खतरा सधैँका लागि टरेर जाँदैन।” उहाँले बारम्बार भन्नुभयो कि प्रतिगमन र प्रतिक्रान्ति यो वा त्यो स्वरूपमा, यो वा त्यो ढङ्गले जहिले पनि हुन सक्छ। पुराना व्यवस्थाका शोषक र प्रतिगामी शक्तिहरूले फेरिएको रूपमा, नयाँ मुकुण्डो लगाएर जहिले पनि शिर ठाडो पार्न सक्छन्। त्यसकारण, प्रगतिशील आन्दोलनको संवाहक नेकपा (एमाले) र समाजका सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू सधैँ सचेत र सजग रहनुपर्छ।

​मदन भण्डारीको यो चेतावनी नेपाली राजनीतिको वर्तमान कसीमा हुबहु सत्य प्रमाणित भएको छ। प्रतिगमनकारीहरू सिधै पुरानै ब्यानर र झन्डा बोकेर मात्र आउँदैनन् , उनीहरू लोकतन्त्र र जनताकै भाषा सापटी लिने, नयाँ नाराहरू र भ्रमका रंगीन पाटाहरू बुनेर जनताको चेतनालाई दिग्भ्रमित पार्न अगाडि सर्न सक्छन्। जब लोकतान्त्रिक शक्तिहरू सत्ताको जोडघटाउ र प्राविधिक खेलमा अल्झिन्छन्, तब प्रतिगामी तत्वहरूले यही कमजोरीको फाइदा उठाउँदै लोकतान्त्रिक संस्थाहरूलाई भित्रैदेखि मक्किएको बनाउँछन् र अन्ततः व्यवस्थालाई नै उल्ट्याउने प्रपञ्च रच्छन्। तसर्थ, प्रतिगमनको यो नव-स्वरूपलाई चिन्न र त्यसको वैचारिक प्रतिवाद गर्नका लागि जबजको क्रान्तिकारी सतर्कताको सिद्धान्त आजको सबैभन्दा ठूलो रक्षाकवच हो।

​लोककल्याणकारी राज्य,सामाजिक सुरक्षा र समाजवादको जग:

​नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व लोकप्रिय र जनमुखी हुनुको पछाडि जबजले मार्गनिर्देश गरेको लोककल्याणकारी राज्यको बलियो जग नै हो। नेपालको लोकतान्त्रिक इतिहासमै एमालेको नेतृत्वमा सरकार गठन हुँदा चालेका कदमहरूले राज्य र जनताबीचको सम्बन्धलाई बुझाउने नयाँ भाष्य निर्माण गरे। वि.सं. २०५१ सालको पहिलो कम्युनिष्ट नेतृत्वको सरकारले सुरु गरेको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ र वृद्धवृद्धा, एकल महिला तथा अपाङ्गता भएका नागरिकहरूका लागि ल्याइएको ‘सामाजिक सुरक्षा भत्ता’ ले नेपालको सामाजिक-सांस्कृतिक चेतनामा व्यापक परिवर्तन ल्यायो। हिजो ओछ्यानमा थला परेका वृद्धवृद्धाहरूले राज्यबाट सम्मान र सहारा पाउँदा कम्युनिष्ट आन्देलनप्रति जुन अपूर्व सद्भाव जाग्यो, त्यो जबजको लोकतान्त्रिक र मानवीय संवेदनाकै प्रकटीकरण थियो।

​यसै वैचारिक जगमा उभिएर पछिल्ला सरकारहरूले मुलुकमा ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ लागू गरे, जसले अनौपचारिक र औपचारिक क्षेत्रका लाखौँ श्रमजीवी मजदुरहरूलाई सामाजिक सुरक्षाको दायराभित्र समेटेर उनीहरूको भविष्य सुरक्षित गर्ने ऐतिहासिक काम गर्‍यो। शिक्षालाई मौलिक हकको रूपमा व्यावहारिक रूपमै प्रत्याभूत गराउन विद्यालय भर्ना अभियान, निःशुल्क पाठ्यपुस्तक वितरण र छात्रवृत्ति जस्ता दूरगामी नीतिहरू अघि सारिए। स्वास्थ्य क्षेत्रमा विपन्न नागरिकको पहुँच सुनिश्चित गर्न ‘स्वास्थ्य बीमा कार्यक्रम’ को तर्जुमा र कार्यान्वयन अर्को बलियो क्रान्तिकारी कदम थियो, जसले आधारभूत स्वास्थ्य सेवालाई व्यापारको वस्तु हुनबाट जोगाएर नागरिकको मौलिक अधिकारको रूपमा स्थापित गराउन भूमिका खेल्यो।

सञ्चार क्षेत्रमा भएको अभूतपूर्व विकास र आम नागरिकको हात-हातमा प्रविधिको पहुँच पुर्‍याउने कार्य पनि कम्युनिष्ट नेतृत्वकै नीतिगत दूरदर्शिताको उपज हो। यी ऐतिहासिक सामाजिक कामहरू केबल खुद्रे सुधारहरू थिएनन्, बरु जबजको सिद्धान्तले निर्देश गरे बमोजिम नेपाली समाजलाई समाजवादको दिशामा लैजाने बलिया र व्यावहारिक प्रस्थानविन्दुहरू थिए।

​आर्थिक आत्मनिर्भरताको आधारशिला:

​कुनै पनि देशको सामाजिक क्रान्ति र समृद्धिको सपना सुदृढ भौतिक पूर्वाधारबिना सम्भव हुँदैन। जबजले उत्पादन पद्धतिको रूपान्तरण र राष्ट्रिय पुँजीको तीव्र विकासमा जोड दिएझैँ, एमालेको सरकारले समृद्ध नेपालको सपनालाई विपनामा बदल्न सडक सञ्जाल, ऊर्जा, सुरुङमार्ग र रेलमार्ग जस्ता ठूला भौतिक पूर्वाधारका क्षेत्रमा युगान्तकारी कामहरू अघि बढायो। दशकौँदेखि नेपाली जनताले खेप्दै आएको कहालीलाग्दो लोडसेडिङको अन्त्य गर्नु र नेपाललाई उज्यालो युगमा प्रवेश गराउनु कम्युनिष्ट नेतृत्वकै देश बनाउने दृढ इच्छाशक्ति र व्यवस्थापकीय कौशलको परिणाम थियो।

​नेपालको कनेक्टिभिटीमा क्रान्ति ल्याउन पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति, पुष्पलाल मध्यपहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्गको निर्माणले ग्रामीण अर्थतन्त्रलाई राष्ट्रिय बजारसँग जोड्यो। काठमाडौँ उपत्यकाको ट्राफिक जाम र जोखिमपूर्ण यात्रा सुधार्न ‘नागढुङ्गा सुरुङमार्ग’ को निर्माण कार्य आरम्भ हुनु र सफलतापूर्वक अघि बढ्नु नेपालका लागि सुरुङ प्रविधिको नयाँ युगको सुरुवात थियो। रक्सौल-काठमाडौँ र केरुङ-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन तथा जनकपुर-जयनगर रेल सेवाको पुनः सञ्चालनले छिमेकी राष्ट्रहरूसँगको स्थलगत सम्बन्धलाई नयाँ उचाइ दियो। कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि सुनकोशी-मरिन डाइभर्सन र रानी जमरा कुलरिया जस्ता राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूको दु्रत विकास गरियो।

​सबैभन्दा महत्त्वपूर्ण कुरा, देशलाई साँचो अर्थमा आर्थिक रूपमा आत्मनिर्भर बनाउन र आयातमुखी अर्थतन्त्रको साङिलो चुँडाउनका लागि नेपालभित्रै रहेका प्राकृतिक खानी तथा ऊर्जाको अन्वेषण, अध्ययन र अनुसन्धानमा एमाले नेतृत्वको सरकारले ऐतिहासिक र रणनीतिक पहलकदमी लियो। नेपालमा वर्षौँदेखि ओझेलमा परेका अमूल्य भूगर्भीय सम्पत्ति जस्तै पेट्रोलियम पदार्थ र फलाम खानीहरूको पहिचान, विस्तृत अध्ययन र उत्खननतर्फ चालिएका कदमहरू यसै आत्मनिर्भर समृद्धिको यात्राका निर्णायक प्रस्थानविन्दुहरू हुन्। दैलेखमा पेट्रोलियम पदार्थको चिनियाँ टोलीसँगको साझेदारीमा गरिएको गहिरो अध्ययन र भव्य अन्वेषण कार्य तथा होब्दी दोभान लगायतका क्षेत्रहरूमा फलाम खानीको अध्ययन र वैज्ञानिक उत्खननको जग बसाल्ने कामले नेपाललाई औद्योगीकरणको नयाँ उचाइमा पुर्‍याउने सपना बोकेको थियो।

फलाम र पेट्रोलियम पदार्थ जस्ता आधारभूत ऊर्जा एवं धातुको घरेलु स्रोत नभई कुनै पनि देश स्वाधीन र बलियो औद्योगिक राष्ट्र बन्न सक्तैन भन्ने सत्यलाई आत्मसात् गर्दै, जबजले निर्देश गरेको राष्ट्रिय पूँजी निर्माण र प्राकृतिक स्रोतमाथिको सार्वभौम नियन्त्रणकै कडी स्वरूप यी अनुसन्धान र उत्खननका योजनाहरू अघि सारिएका थिए। यी ऐतिहासिक प्रयत्नहरू नेपाली अर्थतन्त्रलाई परनिर्भरताबाट पूर्ण आर्थिक स्वाधीनतातर्फ लैजाने क्रान्तिकारी भौतिक पूर्वाधारका अभिन्न अंगहरू थिए।

​राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता:

​राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा जबजको राष्ट्रिय कार्यक्रमको सबैभन्दा संवेदनशील र प्राणप्रिय हिस्सा हो। इतिहासको कालखण्डमा नेपालले सधैँ दक्षिणतर्फको असमान व्यवहार र कतिपय अवस्थामा प्रभुत्ववादी नीतिको मार खेपिरहनुपर्‍यो। वि.सं. २०७२ सालमा नयाँ संविधान निर्माण गर्दा नेपालमाथि लादिएको अमानवीय ‘भारतीय नाकाबन्दी’ को समयमा नेपालको कम्युनिष्ट नेतृत्वले देखाएको अभूतपूर्व अडान र कूटनीतिक दृढता नेपाली इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ। छिमेकीसँगको सम्बन्ध समानता र पारस्परिक लाभका आधारमा हुनुपर्छ भन्ने जबजको मान्यतामा अडिएर चीनसँगको ‘पारवहन तथा यातायात सम्झौता’ मार्फत नेपालको एकल परनिर्भरताको सधैँका लागि अन्त्य गरियो।

​त्यस्तै, नेपालको भूगोलमाथि भएको वर्षौँदेखिको अतिक्रमणलाई ऐतिहासिक तथ्य र प्रमाणहरूको जगमा सच्याउन गरिएको पहल नेपाली राष्ट्रियताको कोशेढुङ्गा हो। दशकौँदेखि ओझेलमा परेका नेपाली भूभागहरू लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको वास्तविक राजनीतिक तथा प्रशासनिक नक्सा (चुच्चे नक्सा) प्रकाशन गरियो। यो केवल नक्साको प्रकाशन मात्र थिएन, बरु इतिहासमै पहिलोपटक संसद्मा रहेका सबै राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याएर सर्वसम्मत रूपमा संविधानको अनुसूची-३ संशोधन गरी उक्त नयाँ नक्सालाई राष्ट्रिय निसान छापमा सामेल गरियो। राष्ट्रियताका सवालमा देखिएको यो राष्ट्रिय एकता र कूटनीतिक साहस वास्तवमा जबजले मार्गदर्शन गरेको देशभक्तिपूर्ण अडान र राष्ट्रिय स्वाभिमानको ज्वलन्त नमुना थियो।

​वर्तमान राजनीतिक शक्ति संतुलन र २०८२ को दक्षिणपन्थी प्रतिक्रान्ति:

इतिहासको यात्रा सधैँ सीधा र सम्म रेखामा मात्र हिँड्दैन, यसमा अनेकौँ घुम्तीहरू, उबडखाबडहरू र प्रतिगामी हर्कतहरू आइरहन्छन्। जबजले स्पष्ट रूपमा चित्रण गरेझैँ, क्रान्तिका शत्रुहरू सधैँ जनविरोधी र राष्ट्रिय हितविरोधी चरित्र बोकेर पर्दापछाडि षड्यन्त्र बुनिरहेका हुन्छन्। नेपालको तीव्र आर्थिक प्रगति, सामाजिक सुरक्षाका लोकप्रिय कार्यक्रमहरू र राष्ट्रिय स्वाभिमानको उचाइलाई नरुचाउने आन्तरिक तथा बाह्य शक्तिहरूले मुलुकमा अस्थिरता मच्चाउन लामो समयदेखि जालझेल बुन्दै आए।

​यसै षड्यन्त्रको उत्कर्षको रूपमा नेपाली इतिहासमै दुःखद घटनाको रूपमा वि.सं. २०८२ साल भाद्र २३ र २४ गतेको नियोजित तथा प्रायोजित आन्दोलन देखा प-यो । बाह्य शक्तिहरूको आड र आन्तरिक अवसरवादी शक्तिहरूको अपवित्र गठबन्धनद्वारा सञ्चालित यस प्रतिक्रान्तिकारी आन्दोलनले मुलुकको लोकतान्त्रिक स्थिरता, राष्ट्रिय स्वाभिमान र आर्थिक प्रगतिलाई खरानी बनाउने कुत्सित नियत राखेको थियो। जनताद्वारा निर्वाचित र देशभक्तिको पक्षमा दृढतापूर्वक उभिएको लोकतान्त्रिक सरकारलाई असंवैधानिक र अराजक तरिकाले अपदस्थ गरियो। यो कुनै सामान्य सत्ता परिवर्तन मात्र थिएन, बरु नेपालको संविधान, लोकतान्त्रिक प्रणाली र एमाले नेतृत्वको प्रगतिशील यात्रालाई रोक्ने एउटा डिजाइन थियो।

​यो नियोजित प्रतिक्रान्तिको पृष्ठभूमि निर्माण गर्नका लागि आधुनिक प्रविधि र सामाजिक सञ्जालको एल्गोरिदमलाई अत्यन्तै चातुर्यतापूर्वक र घातक ढङ्गले प्रयोग गरियो। कथित लोकप्रियतावादी दक्षिणपन्थी शक्तिहरूले सामाजिक सञ्जालका संवेगात्मक भिडियोहरू, सुनियोजित रूपमा सिर्जना गरिएका मिथ्या सूचनाहरू र तीव्र उत्तेजना फैलाउने सामग्रीहरूलाई एल्गोरिदमको अदृश्य चक्रव्यूहमार्फत हरेक नागरिकको डिजिटल स्क्रिन र मस्तिष्कसम्म पुर्‍याएर एउटा भयावह भ्रमजाल निर्माण गरे।

गम्भीर वैचारिक बहस, ऐतिहासिक योगदान र राजनीतिक सिद्धान्तहरूलाई पाखा लगाउँदै, क्षणिक भावनात्मक उत्तेजना र लोकरिझ्याइँका माध्यमबाट सिंगो नेपाली समाजलाई वैचारिक रूपमा शून्य र दिशाहीन बनाउने दुष्प्रयास गरियो। यो प्रविधि-निर्देशित भ्रमजालले जनताको जायज असन्तोष र आर्थिक सङ्कटको पीडालाई देशको अग्रगामी परिवर्तनतर्फ मोड्नुको साटो स्थापित लोकतान्त्रिक मूल्य, प्रणाली र संस्थाहरूमाथि नै अन्धो घृणा ओकल्ने अराजकताको औजार बनायो। समाजमा यसरी प्रायोजित रूपमा फैलाइएको मानसिक, सामाजिक र सांस्कृतिक अराजकताकै जगमा उभिएर लोकतान्त्रिक र प्रगतिशील शक्तिहरू विरुद्ध घेराबन्दी गरियो।

​भाद्रको सोही षड्यन्त्रको निरन्तरता र बाह्य प्रभावको चक्रव्यूह स्वरूप २०८२ सालको फागुन महिनामा आवधिक निर्वाचन सम्पन्न भयो। षड्यन्त्रकारीहरूले राज्यशक्तिको चरम दुरुपयोग, भ्रमको खेती, र अलोकतान्त्रिक घेराबन्दीको माध्यमबाट राष्ट्रवादी र देशभक्त शक्ति एमालेलाई पराजित गर्ने प्रपञ्च रचे।

​वर्ग संरचनामा आएको व्यापक रूपान्तरणले स्वाभाविक रूपमा देशको राजनीतिक शक्ति सन्तुलनमा पनि अत्यन्तै जटिल र अस्थिर प्रभाव पारेको छ। वर्तमान नेपाली राजनीति लामो समयदेखिको विचारधारात्मक अन्योलता, अवसरवाद र बाह्य रणनीतिक दबाबको चक्रव्यूहमा फसेको छ। यसै राजनीतिक खिचातानीको कसीमा वि.सं. २०८२ साल फागुन २१ गते सम्पन्न आम निर्वाचनको परिणामले देशको स्थापित शक्ति सन्तुलनमा ठूलो फेरबदल र उथलपुथल ल्याएको छ। यस निर्वाचनले परम्परागत राजनीतिक शक्तिहरूबीचको सन्तुलनलाई मात्र खलबल्याएको छैन, बरु नयाँ वैचारिक ध्रुवीकरणको ढोका पनि खोलेको छ।

​निर्वाचनको परिणामले देशभक्त, प्रगतिशील र राष्ट्रिय स्वाभिमानको पहरेदार शक्ति नेकपा (एमाले) लाई घेराबन्दीमा पार्दै रक्षात्मक अवस्थामा पुर्‍याउन खोजेको प्रष्ट देखिन्छ। यस निर्वाचनमा वर्षौँदेखि लोकतन्त्र र परिवर्तनका लागि लडेका वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूको शर्मनाक पराजय भएको छ भने मुलुकको वास्तविक धरातल र वैचारिक निष्ठाभन्दा बाहिर रहेका कथित लोकप्रियतावादी दक्षिणपन्थी शक्तिले प्रतिनिधि सभामा दुई तिहाइको भारी बहुमतसहितको सिट प्राप्त गरेको छ। यो परिणामले नेपाली समाजमा व्याप्त निराशा र आर्थिक सङ्कटलाई भजाएर अगाडि आएका अराजक, दिशाहीन र लोकरिझ्याइँवादी पपुलिष्ट शक्तिहरूको दबदबा स्थापित गरिदिएको छ।

​यस्तो विषम र प्रतिकूल शक्ति सन्तुलनको घडीमा विचारधारात्मक ध्रुवीकरण झनै प्रष्ट रूपमा देखा परेको छ। एकातिर जबजको सिद्धान्त र देशभक्तिपूर्ण विचार बोकेर समृद्धिको यात्रामा हिँड्ने एमाले र लोकतान्त्रिक शक्तिहरू उभिएका छन् भने अर्कोतिर नवउदारवाद, दलाल पूँजीवाद र अवसरवादको सहारामा सत्ता टिकाउन खोज्ने दक्षिणपन्थीहरूको मोर्चा खडा भएको छ। यो शक्ति सन्तुलनलाई फेरि मुलुकको स्वाधीनता र जनहितको अनुकूल बनाउन जबजले निर्देश गरेको देशभक्तहरूको वृहत् संयुक्त मोर्चा र वैचारिक श्रेष्ठता हासिल गर्ने कार्यदिशा आजको सबैभन्दा ठूलो र अनिवार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ। यस घटनाले मदन भण्डारीको त्यही भनाइलाई पुनर्पुष्टि गर्‍यो कि प्रतिगमनले जहिले पनि आफ्नो रूप र ढंग फेरेर प्रहार गर्न सक्छ, जसका विरुद्ध एमाले र लोकतान्त्रिक शक्तिहरू हरक्षण सचेत रहनैपर्छ।

​निष्कर्ष:
​आजको बदलिँदो राजनीतिक परिदृश्य, वैचारिक अलमल र चौतर्फी अराजकताको बीचमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता र महत्त्व अझ प्रखर एवं अनिवार्य बनेर देखा परेको छ। राजनीतिक रूपमा व्यवस्था परिवर्तन भए पनि जनताको जीवनस्तरमा ठोस परिवर्तन आउन नसक्दा समाजमा जुन किसिमको निराशा छ, त्यसलाई अराजकतावादी र पपुलिस्ट शक्तिहरूले लोकतान्त्रिक संस्थाहरू भत्काउन प्रयोग गरिरहेका छन्।

वैचारिक स्पष्टता नभएका र कुनै दर्शन नबोकेका हूलहरूले मुलुकलाई नयाँ दिशा दिन सक्दैनन्। यस्तो सङ्कटको घडीमा जबजले अराजकतालाई होइन, अनुशासित र संस्थागत लोकतान्त्रिक सङ्घर्षलाई महत्त्व दिन्छ। यसले निराशालाई चिर्न र युवा जनशक्तिमा देशभक्तिको भावना जगाउँदै परिवर्तनका लागि रचनात्मक राजनीतिक मार्ग प्रदान गर्दछ।

​त्यस्तै, जबजको महत्त्व राष्ट्रिय आत्मनिर्भरताको नयाँ भाष्य खडा गर्नमा छ। आज जब हामी विश्वव्यापी पुँजीवादी बजार र भूराजनीतिक खिचातानीको चक्रव्यूहमा छौँ, त्यतिबेला हाम्रो राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता जोगाउने एकमात्र हतियार आन्तरिक सबलीकरण हो। जबजले सिकाएको “लोकतान्त्रिक प्रतिस्पर्धा” र “पहलकदमी” को मर्मले पार्टी र सरकार दुवै ठाउँमा सुशासन कायम गर्न दबाब दिन्छ। यसले भ्रष्टाचार, नातावाद र कुशासनका विरुद्ध वैचारिक र व्यावहारिक हतियार प्रदान गर्छ।

विचारबिहीन र सिद्धान्तहीन दलदलमा फस्दै गएको समकालीन राजनीतिमा जबजले राजनीतिक दलहरूलाई विचारको श्रेष्ठता सिद्ध गर्न र लोकतान्त्रिक आचरणभित्र बाँधिन बाध्य पार्छ। त्यसैले, वर्तमान समयमा जबज केवल इतिहासको एउटा नीति मात्र होइन, बरु वर्तमानका संकटहरू मोचन गर्ने र समाजवादको सपनालाई व्यवहारमा अनुवाद गर्ने एक मात्र अचुक राजनीतिक कडी हो।

​मदन भण्डारीले कोर्नुभएको जबजको मार्गचित्र केबल एउटा कालखण्डको राजनीतिक दस्तावेज मात्र होइन, यो त निरन्तर विकसित र परिमार्जित हुँदै जाने एक गतिशील विज्ञान हो। यसले जडसूत्रवादी जस्तो कुनै शास्त्रलाई अकाट्य मानदैन, बरु बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय वस्तुस्थितिको जगमा उभिएर नयाँ निष्कर्षहरू निकाल्ने हिम्मत राख्छ। हिजो सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनाका लागि जबज राजनीतिक क्रान्तिको हतियार बन्यो भने आज सुशासन, सामाजिक सुरक्षा, राष्ट्रिय स्वाधीनता र समृद्धिको जगमा समाजवादको भौतिक तयारी गर्नका लागि यो उत्तिकै धारिलो वैचारिक हतियार हो।

​२०८२ का षड्यन्त्रहरू र चुनावी उतारचढावले नेपाली राष्ट्रिय आन्दोलनलाई केही समयका लागि कमजोर बनाएको जस्तो देखिए तापनि जनताको बहुदलीय जनवादको जग यति बलियो छ कि यसलाई कुनै पनि अल्पकालीन आँधीबेहरीले उखेल्न सक्दैन। “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा प्राप्त गर्दै नेपाललाई समाजवादको दिशामा डोर्‍याउन जबजले अघि सारेको मिश्रित अर्थतन्त्र, राष्ट्रिय पुँजीको निर्माण, सन्तुलित परराष्ट्र नीति, सामाजिक न्याय र बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धाको बाटो नै सबैभन्दा सुगम र सुरक्षित बाटो हो।

विचारको संकट, षड्यन्त्रको घेराबन्दी र नैतिक स्खलनले घेरिएको वर्तमान नेपाली राजनीतिमा जनताको बहुदलीय जनवाद अझै पनि एउटा चम्किलो प्रकाशस्तम्भका रूपमा उभिएको छ, जसले हामीलाई सधैँ राष्ट्र, राष्ट्रियता र आम श्रमजीवी जनताको कल्याणको मार्गमा अघि बढ्न प्रेरित गरिरहनेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...