वेलिङ्टन (न्यूजिल्यान्ड), २० असार — धेरैका लागि डा. रमिल अधिकारी जनस्वास्थ्य विज्ञ हुन्। कसैले उहाँलाई स्वास्थ्य नीतिका कुशल नेतृत्वकर्ता भनेर चिन्छन् भने कसैले समाजसेवीका रूपमा।

तर पछिल्ला वर्षहरूमा उहाँले नेपाली संगीत क्षेत्रमा सफल गीतकारका रूपमा पनि छुट्टै पहिचान बनाउनुभएको छ। विज्ञान र सिर्जनशीलतालाई सँगसँगै अघि बढाउँदै उहाँले सेवा र स्रष्टा दुवै भूमिकामा उल्लेखनीय सफलता हासिल गर्नुभएको छ।
हाल न्यूजिल्यान्डको स्वास्थ्य मन्त्रालयअन्तर्गत जनस्वास्थ्य क्षेत्रमा प्रधान सल्लाहकार (Principal Advisor) का रूपमा कार्यरत डा. अधिकारी स्वास्थ्य समानता, आप्रवासी समुदाय तथा बहुसांस्कृतिक समाजको स्वास्थ्य प्रवर्द्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ।
तथ्य, अनुसन्धान र प्रमाणमा आधारित जनस्वास्थ्य क्षेत्रमा सफल करिअर निर्माण गर्नुभएका उहाँभित्रको साहित्यप्रेमी मन भने कहिल्यै ओझेलमा परेन।
उहाँको सिर्जनात्मक यात्राको सुरुआत नेपालमै भएको थियो। कक्षा ८ मा अध्ययनरत रहँदा पहिलो पुस्तक प्रकाशित भएपछि कविता, गजल र गीत लेखनमा उहाँको रुचि निरन्तर बढ्दै गयो। यही यात्राले आज उहाँलाई नेपाली संगीत क्षेत्रका चर्चित गीतकारमध्ये एक बनाएको छ।
विदेशमा बसाइँ भए पनि उहाँका सिर्जनामा नेपाली माटोको सुगन्ध, गाउँघरका सम्झना, मानवीय सम्बन्ध, प्रेम, बिछोड र जीवनका विविध अनुभूतिहरू जीवन्त रूपमा अभिव्यक्त हुन्छन्। यही संवेदनशील अभिव्यक्तिका कारण उहाँका गीतले श्रोताको मन छोएका छन्।
उहाँका ‘बाचा गरौँ’, ‘हाम्रो जे भने पनि तिमी’, ‘जिउने चाहना’ र ‘बिन्दास नाच्ने हो’ जस्ता गीत लोकप्रिय बनेका छन्। त्यसैगरी ‘पिउन देऊ आज मलाई’, ‘बाचा गरौँ–२’ तथा ‘सुनको थालीमा’ उहाँका नयाँ सिर्जनाका रूपमा सार्वजनिक हुने क्रममा छन्।
विशेषगरी ‘बाचा गरौँ’ गीतले लाखौँ दर्शक–श्रोताको मन जित्नुका साथै विभिन्न राष्ट्रिय संगीत पुरस्कारसमेत दिलाएको छ।
गीतकारका रूपमा उहाँ म्युजिक खबर अवार्ड–२०८१, नवौँ राष्ट्रिय राप्ती अवार्ड–२०८२ र सगरमाथा म्युजिक अवार्ड–२०८३ बाट सम्मानित भइसक्नुभएको छ। यसका अतिरिक्त सन् २०२६ मा न्यूजिल्यान्ड पब्लिक हेल्थ अवार्ड प्राप्त गर्दै उहाँले जनस्वास्थ्य क्षेत्रमा गरेको योगदानको पनि अन्तर्राष्ट्रिय सम्मान पाउनुभएको छ।
डा. अधिकारीका अनुसार जनस्वास्थ्य र संगीत फरक विषय भए पनि दुवैको साझा उद्देश्य मानिसको जीवनलाई सकारात्मक बनाउनु हो।
उहाँ भन्नुहुन्छ, “जनस्वास्थ्यले शरीर र समाजलाई स्वस्थ बनाउने प्रयास गर्छ भने संगीतले मन र आत्मालाई स्पर्श गर्छ। मेरो लागि सेवा र सिर्जना एउटै यात्राका दुई फरक माध्यम हुन्।”
जनस्वास्थ्य, समाजसेवा, साहित्य र संगीतलाई समान समर्पणका साथ अघि बढाइरहनुभएका डा. रमिल अधिकारीको यात्रा विज्ञान र सिर्जनशीलता एकअर्काका पूरक हुन् भन्ने सन्देशको जीवन्त उदाहरण बनेको छ।
नेपालमा कक्षा ८ मै पहिलो पुस्तक प्रकाशित गर्ने बाल लेखकदेखि न्यूजिल्यान्डमा सफल जनस्वास्थ्य नेतृत्वकर्ता र राष्ट्रिय पुरस्कार विजेता गीतकारसम्मको उहाँको यात्रा समर्पण, निरन्तरता र सिर्जनशीलताले सपना साकार बनाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ।