पोखरा, साउन १२। नेपाल चिकित्सक संघको पूर्वघोषित कार्यक्रमअनुसार कास्कीका विभिन्न अस्पतालले आफ्नो ओपीडी सेवा बन्द गरेका छन्। बिरगञ्जस्थित नारायणी अस्पतालमा साउन ९ गते भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको गालीगलौज र दुर्व्यवहारको विरोधमा यस्तो कदम चालिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार बेलुका ७ बजेदेखि जिल्लाका अस्पतालहरूको नियमित ओपीडी सेवा बन्द रहेको जानकारी प्राप्त भएको हो। आकस्मिक सेवा भने सञ्चालनमै रहेको जनाइएको छ।
ओपीडी सेवा बन्द गरिएका अस्पतालहरूमा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) रामघाट, गण्डकी मेडिकल कलेज नयाँबजार–पृथ्वीचोक, चरक मेमोरियल अस्पताल नागढुंगा, फेवा सिटी अस्पताल नागढुंगा, शिशुवा अस्पताल लेखनाथ, मनिपाल शिक्षण अस्पताल फुलबारी, पोखरा शिक्षण अस्पताल खुदी, मोहोरिया अस्पताल शिशुवा, फिस्टेल अस्पताल गैहापाटन, साहारा अस्पताल बाग्लुङ बसपार्क, पद्माश्री अस्पताल न्युरोड, पद्मा नर्सिङ होम नदिपुर र मातृशिशु अस्पताल बाटुलेचौर रहेका छन्।
पछि प्राप्त थप जानकारीअनुसार आस्था अस्पताल अस्पतालचोक, हरियोखर्क अस्पताल बनक्याम्पस, बीजी अस्पताल माटेपानी र ग्यालेक्सी अस्पताल उत्तमचोकले पनि ओपीडी सेवा बन्द गरेका छन्। यससँगै सेवा बन्द गर्ने अस्पतालको संख्या १७ पुगेको छ।
नेपाल चिकित्सक संघले साउन १३ गते पनि आकस्मिक सेवा बाहेक सबै ओपीडी सेवा बन्द रहने जनाएको छ। सोही क्रममा बिहीबार बिहान ११ बजे संघका प्रतिनिधिहरू जिल्ला प्रशासन कार्यालय कास्कीअगाडि भेला भएका थिए। डा. सुनिल पनेरुको नेतृत्वमा करिब ४० जना सहभागी भएको उक्त भेलाबाट ६ सदस्यीय टोलीले प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङलाई ज्ञापनपत्र बुझाएको प्रहरीले जनाएको छ।