प्रथम पिएसएम कप राष्ट्रिय जुनियर टेनिस : यू–१८ मा शाश्वत र यू–१६ मा सुरेन्द्र च्याम्पियन

भदौ ८, पोखरा । गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा पोखरा कलेज अफ म्यानेजमेन्टको प्रमुख प्रायोजनमा पोखरामा सम्पन्न प्रथम पिएसएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत यू–१८ ब्वाइज सिंगल्सतर्फ शाश्वत बज्राचार्य च्याम्पियन बनेका छन्।

सोमबार पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा भएको फाइनल खेलमा शाश्वतले सन्दिप बिकलाई ६–१, ६–१ को सहज सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।

 

त्यस्तै, यू–१४ ब्वाइज सिंगल्सतर्फ आर्यषराज पौडेलले उपाधि जिते। उनले अभिषेक बस्नेतलाई ६–१, ७–५ को सेटमा पराजित गरेका थिए।

 

यू–१६ ब्वाइज सिंगल्सतर्फ सुरेन्द्र विक च्याम्पियन बने। फाइनलमा उनले आर्यषराज पौडेललाई ६–३, ६–३ को सेटमा पराजित गरे।
गल्र्सतर्फ यू–१२ को उपाधि निम्मी कुँवरले जितिन्। यू–१० तर्फको उपाधि पनि निम्मी कुँवरले नै हात पारिन्।

 

यू–८ गल्र्स सिंगल्समा वाणी राजभण्डारी प्रथम तथा निवेदी सुनार द्वितीय भए। यू–१२ ब्वाइज सिंगल्समा सहंस बस्नेत प्रथम हुँदै इभान भट्टाराईलाई पराजित गर्न सफल भए। यू–९ ब्वाइज सिंगल्समा सर्वज्ञ जंग खत्री प्रथम तथा सोमन टि दोस्रो भए।

 

विजयी खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि पोखरा कलेज अफ म्यानेजमेन्टका प्राचार्य लिना नेगी श्रेष्ठ, नेपाल टेनिस संघका पूर्वअध्यक्ष मनोज राणा, प्रतियोगिता संयोजक लोक गुरुङलगायतले मेडल, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्परसहित पुरस्कृत गरे।

 

सो अवसरमा पोखरा कलेज अफ म्यानेजमेन्टका प्राचार्य श्रेष्ठले कलेजले विगत २५ वर्षदेखि व्यवस्थापन शिक्षासँगै युवालाई लक्षित विभिन्न कार्यक्रम गर्दै आएको बताइन्। उनले कलेजले खेलकुद क्षेत्रलाई पनि महत्व दिँदै आएको उल्लेख गरिन्।

आयोजक समितिका अध्यक्ष तथा कलेजका अध्यक्ष विनोद कायस्थले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी वर्षहरूमा पनि प्रतियोगितालाई निरन्तरता दिने बताए।कार्यक्रम आयोजक संघका महासचिव नवीन चालिसेले सञ्चालन गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...