पोखरा । पोखरा महानगरपालिका–१७ हर्कमेयर चोकमा सडक नालीको भलले बगाउँदा आमा–छोरीको मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ४ बजे बिरौटाबाट पृथ्वीचोकतर्फ स्कुटरमा आउँदै गरेकी पोखरा–३० ढुङ्गेपाटनकी २६ वर्षीया सुष्मा दाहाल स्कुटर साइड लगाएर झरीमा हिँड्ने क्रममा सडक नालीको पानीको भलले बगाएको थियो। उनलाई उनकी २ वर्षीया छोरी रानीका दाहालसहित भलले बगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
घटनाको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयको सहयोगमा उनीहरूलाई पोखरा–१७ बिरौटास्थित नहर कुलोबाट उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो।
सुष्माको बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर थियो। उपचारकै क्रममा शुक्रबार राति ९ः४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सुष्माका श्रीमान् ३० वर्षीय कमल दाहाल उपचारमा संलग्न थिए।
त्यस्तै, सुष्माकी २ वर्षीया छोरी रानीका दाहालको पनि उपचारका क्रममा शनिबार बिहान १ः२१ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैको शव गण्डकी मेडिकल कलेजमै रहेको छ।घटनास्थल वडा प्रहरी कार्यालय बैदामबाट करिब २ किलोमिटर पूर्व–दक्षिणमा पर्छ।