पोखरा । सहारा क्लब पोखराले आयोजना गरेको २५औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ। क्लबका अनुसार प्रतियोगितामा रु. १ करोड ३३ लाख ३३ हजार ४ सय ८५ रुपैयाँ ३७ पैसा आम्दानी भएको छ।

प्रतियोगिता सञ्चालनमा रु. १ करोड ३० लाख १ हजार ६ सय ४६ रुपैयाँ खर्च र ३ लाख २१ हजार ८ सय ३९ रुपैयाँ ३७ पैसा बचत भएको सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।
क्लबले प्रतियोगिताबाट बचत भएको रकम पोखरा महानगरपालिका–१७ दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सञ्चालनमा खर्च गर्ने जनाएको छ। उक्त रकम विपन्न तथा कठिन परिस्थितिमा रहेका बालबालिकालाई निःशुल्क आवास, शिक्षा, स्वास्थ्य तथा फुटबल प्रशिक्षण प्रदान गर्न उपयोग गरिने अध्यक्ष थापाले बताए ।
प्रतियोगिताको मुख्य प्रायोजक आहा, रारा तयारी चाउचाउका उत्पादक हिमश्री फुड्स प्रालि. रहेको थियो। संरक्षकमा पोखरा महानगरपालिका रहेकाे छ ।
त्यस्तै, प्रतियोगितालाई विभिन्न संघसंस्था, व्यवसायी तथा प्रतिष्ठानबाट प्रायोजन, सहयोग र टिकट बिक्रीमार्फत एक करोड ३३ लाख २३ हजार ४८५ रुपैयाँ ३७ पैसा आम्दानी भएको विवरण सार्वजनिक गरिएको छ।
विवरण अनुसार हिमश्री फुड्स प्रालिबाट ३० लाख १८ हजार ७५० रुपैयाँ, प्रदेश खेलकुद परिषद्बाट १० लाख, पोखरा महानगरपालिकाबाट १० लाख तथा सहारा हङकङबाट ५ लाख सहयोग प्राप्त भएको क्लबका उपाध्यक्ष पूर्ण बहादुर गुरुङले जानकारी दिए ।
गेटटिकट बिक्रीबाट ८ लाख ३३ हजार ५०० रुपैयाँ, सिजनल टिकटबाट १२ हजार रुपैयाँ, ब्यानर सहयाेग १७ लाख ८२ हजार ३६५ रुपैयाँ आम्दानी भएको क्लबले जनाएको छ ।