पोखरा । नेपाली चलचित्र ‘झिंगे दाउ–२’ हेर्दा चलचित्रको शीर्षक र कथावस्तुबीचको सम्बन्ध दर्शकले अपेक्षा गरेजस्तो स्पष्ट रूपमा स्थापित भएको देखिँदैन। ‘झिंगे दाउ’ नामले कथामा कुनै विशेष सामाजिक, सांस्कृतिक वा प्रतीकात्मक सन्दर्भको अपेक्षा जगाए पनि चलचित्रको मूल कथा भने पारिवारिक द्वन्द्व र सम्बन्धको उतारचढावमै केन्द्रित देखिन्छ।

चलचित्रको पहिलो हाफमा प्रयोग भएका केही छाडा शब्द तथा दृश्यले पारिवारिक दर्शकका लागि सहज वातावरण बनाउन सकेको देखिँदैन। हास्य तथा मनोरञ्जन प्रस्तुत गर्ने प्रयास भए पनि केही दृश्य र संवादले चलचित्रको पारिवारिक स्वरूपलाई कमजोर बनाएको महसुस हुन्छ।
दोस्रो हाफ भने छोरा र बुहारीबीचको विवादपछि घर छाडेकी आमाको खोजीमा केन्द्रित हुन्छ। पारिवारिक सम्बन्ध, पुस्ताबीचको दूरी र घरभित्र उत्पन्न हुने विवादलाई कथाको आधार बनाइएको भए पनि त्यसलाई अझ प्रभावकारी र नवीन ढंगले प्रस्तुत गर्न सकिने ठाउँ देखिन्छ।
चलचित्रमा समेटिएको चर्चित गीत ‘धागो काट्ने चर्खाको, आफ्नै खार कि गर्छेउ कुरा अर्काको’ ले भने पुरानो सांस्कृतिक स्वाद र सम्झना दिलाउँछ। गीतको छनोट आफैंमा आकर्षक भए पनि यसको समय निर्धारण भने उपयुक्त देखिँदैन। करिब डेढ घण्टासम्मको पहिलो भाग हेरेपछि दर्शक मध्यान्तरमा बाहिर निस्कने क्रममा यही गीतलाई प्रस्तुत गरिएको छ।
मध्यान्तरको समयमा दर्शकको ध्यान चलचित्रको कथाबाट केही समयका लागि बाहिरिने अवस्था हुन्छ। त्यसैले चलचित्रको भावनात्मक प्रवाहसँग जोडेर उक्त गीतलाई मध्यभागको कुनै उपयुक्त दृश्यमा वा चलचित्रको अन्त्यतिर प्रभावकारी ढंगले प्रस्तुत गरिएको भए त्यसको प्रभाव अझ बलियो हुन सक्थ्यो। चर्चित गीतलाई समेट्नु मात्र पर्याप्त हुँदैन, त्यसको सन्दर्भ, दृश्य र समय पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
चलचित्रका मुख्य कलाकार महेश त्रिपाठी, केकी अधिकारी र आँचल शर्माको अभिनय भने प्रशंसायोग्य छ। उनीहरूले आ–आफ्ना भूमिकालाई स्वाभाविक रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्। कलाकारको अभिनयले चलचित्रका केही कमजोर पक्षलाई सम्हाल्ने प्रयास गरेको देखिन्छ।
तर कलाकारको अभिनय राम्रो हुँदाहुँदै पनि कथा र पटकथामा अपेक्षित नयाँपनको अभाव चलचित्रको मुख्य कमजोरीका रूपमा देखिन्छ। नेपाली चलचित्रमा पारिवारिक झगडा, सम्बन्धको तनाव, पुस्ताबीचको द्वन्द्व र भावनात्मक उतारचढाव पटक–पटक प्रस्तुत हुँदै आएका छन्। त्यसैले यस्ता विषयलाई नयाँ कोण, बलियो पटकथा र प्रभावकारी प्रस्तुतिमार्फत दर्शकसम्म पुर्याउनुपर्ने चुनौती निर्मातासामु रहन्छ।
चलचित्रको शीर्षकले एउटा छुट्टै कथ्य वा विषयवस्तुको संकेत गरे पनि पर्दामा त्यसको प्रभावकारी प्रतिविम्ब देखिन नसक्दा शीर्षक र कथाबीचको मेलमाथि प्रश्न उठ्ने ठाउँ बनेको छ। चलचित्रको नामले दर्शकमा पैदा गर्ने अपेक्षा र पर्दामा देखाइने कथाबीचको दूरी कम गर्न सकिएको भए यसको प्रभाव अझ बलियो हुन सक्थ्यो।
अहिले नेपाली चलचित्रको बजारमा दर्शकलाई हलसम्म ल्याउने चुनौती पनि उत्तिकै महत्वपूर्ण छ। चलचित्र चलेको घोषणा वा निश्चित समूह, समुदाय अथवा अन्य प्रभावका आधारमा दर्शक जुटाउने प्रयासभन्दा चलचित्र आफैंको विषयवस्तु, अभिनय, पटकथा र प्रस्तुतिले दर्शकलाई हलसम्म तान्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ।
चलचित्रको सफलता केवल सय दिन प्रदर्शन भएको तथ्यले मात्र मापन हुँदैन। दर्शक स्वस्फूर्त रूपमा हलसम्म पुग्छन् कि पुग्दैनन्, चलचित्र हेरेपछि सकारात्मक प्रतिक्रिया दिन्छन् कि दिँदैनन् र चलचित्रले आफ्नो विषयमार्फत दर्शकमा कस्तो प्रभाव छाड्छ भन्ने पक्ष अझ महत्वपूर्ण हुन्छ।
‘झिंगे दाउ–२’ मा कलाकारको अभिनय, सांस्कृतिक स्वाद दिने गीत र मनोरञ्जन प्रदान गर्ने प्रयास देखिए पनि कथा, शीर्षकसँगको सामञ्जस्य, गीतको सन्दर्भ र समय निर्धारण तथा प्रस्तुतिको नवीनतामा अझ मेहनत गर्नुपर्ने देखिन्छ। नेपाली चलचित्रको बजार विस्तारका लागि प्रचार वा प्रभावले मात्र होइन, बलियो कथा, सुसंगत पटकथा र दर्शकको समय तथा रुचिलाई सम्मान गर्ने प्रस्तुतिले हलसम्म तान्ने वातावरण सिर्जना गर्न आवश्यक छ।