पोखरा । रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले दलित महिलाहरू आफ्ना अधिकारबारे जागरुक बन्नुपर्ने बताउनुभएको छ । संविधानले दलित महिलाका लागि विभिन्न अधिकार प्रत्याभूत गरे पनि त्यसबारे पर्याप्त जानकारी नहुँदा कार्यान्वयनमा समस्या देखिएको उहाँको भनाइ छ ।

स्थानीय सरकारको नीति, योजना तथा बजेटका विषयमा सरोकारवाला र पत्रकारबीच आयोजित छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले रुपा गाउँपालिकाले दलित महिलाको सशक्तीकरणका लागि बजेट विनियोजन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा दलित महिलाको सशक्तीकरणका लागि ९ लाख रुपैयाँ विनियोजन गरिएको भए पनि विभिन्न कारणले उक्त बजेट खर्च हुन सकेन ।

कार्यक्रममा रुपा गाउँपालिका कास्कीका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले आर्थिक वर्ष २०८२/०८३ मा दलित महिलासँग सम्बन्धित सञ्चालन गरिएका कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

दलित महिला संघ (फेडो) कास्कीको आयोजनामा भएको कार्यक्रम संघका अध्यक्ष लक्ष्मी खाती परियारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहायक शर्मिला सुनार रसाइलीले स्वागत गर्नुभएको थियो भने कार्यक्रम संयोजक तनुजा परियारले सञ्चालन गर्नुभएको थियो ।
