पोखरा महानगरका मासु पसलमा अनुगमन

एकराज गिरी/पोखरा। चाडपर्व नजिकिएसँगै पोखरा महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। म्याद गुज्रिएका सामान बिक्रीवितरण हुने, उपभोग्य वस्तुमा बढी मूल्य लिने तथा उपभोक्ता ठगिने गरेको गुनासो बढेपछि महानगरले बजार अनुगमन सुरु गरेको हो।

महानगरपालिकाले मंगलबार पोखराका बिरौटा, पृथ्वीचोक, सिद्धार्थचोक, बसपार्क, सांग्रिलाचोकलगायत क्षेत्रमा सञ्चालित मासु तथा माछा पसलमा अनुगमन गरेको छ। पोखरा महानगरपालिकाका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरिएको हो।महानगरको पशु विकास अधिकृत एवं पशु शाखा प्रमुख पवन पाण्डेका अनुसार दसैँ–तिहारजस्ता ठूला चाडपर्वमा माछा तथा मासुको खपत बढ्ने भएकाले मूल्यवृद्धि र गुणस्तरहीन वस्तुको बिक्री रोक्न अनुगमन गरिएको हो।

अनुगमनका क्रममा पोखरा–९ बसपार्कमा सञ्चालित कृष्ण प्रेस हाउस, न्यू मिना गुरुङ फ्रेस हाउस, राजु फिस हाउस, समिट फ्रेस हाउस र मनोज फिस हाउसमा निरीक्षण गरिएको थियो। त्यस्तै, पोखरा–१७ स्थित सांग्रिलाचोकको एस सिटी मिट सप, केसी मिट सप र प्रवेश फ्रेस हाउस तथा पोखरा–८ का आतिस फ्रेस हाउस र दिप्सन फ्रेस हाउसमा पनि अनुगमन गरिएको थियो।

पशु शाखा प्रमुख पाण्डेका अनुसार अधिकांश पसल दर्ताबिना सञ्चालनमा रहेको र सरसफाइमा ध्यान नदिएको पाइएको छ। दर्ता भएका केही पसलको नवीकरण नभएको, तौल गर्ने उपकरण नापतौलमा दर्ता नगरिएको तथा मासु र माछाको भण्डारणमा मापदण्ड पालना नभएको पनि भेटिएको उनले बताए। कैफियत भेटिएका व्यवसायीलाई आवश्यक कागजातसहित महानगर कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमनका क्रममा विगतको तुलनामा केही पसल व्यवस्थित देखिए पनि कानुनी प्रक्रिया र मापदण्ड पालनामा समस्या रहेको पाण्डेले बताए। केही पसलमा गुणस्तरसम्बन्धी कमजोरी देखिएकाले सचेत गराइएको र मासुलाई निर्धारित मापदण्डअनुसार फ्रिजमा राख्न निर्देशन दिइएको उनले जानकारी दिए।

“उपभोक्ताको गुनासोपछि अनुगमन गरेका हौँ। महानगरको अनुगमन तिहारसम्म चलिरहन्छ,” पाण्डेले भने, “उपभोग्य वस्तुमा ठगी नहोस् भनेर महानगर सचेत भएको हो। अनुगमनका क्रममा कैफियत देखिएका पसललाई सचेत गराइएको छ। फेरि अनुगमन गर्दा सुधार नभए जरिवाना गरिनेछ।”

अनुगमनका क्रममा राजु फिस हाउसले महानगरपालिकामा व्यवसाय नवीकरण नगरेको, तौल गर्ने उपकरण दर्ता नगरेको र बिक्रीस्थल फोहोर राखेको पाइएको थियो। उक्त पसललाई सरसफाइ गरी तीन दिनभित्र महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ।

 

त्यस्तै, समिट फ्रेस हाउसमा कुखुरा काट्ने स्थानमै जिउँदो कुखुरा राखिएको र सरसफाइको अवस्था कमजोर देखिएकाले सचेत गराइएको छ। मनोज फिस हाउसमा तौल गर्ने उपकरण दर्ता नभएको, माछा काट्ने स्थान फोहोर रहेको र माछा फ्रिजमा नराखी बाहिर राखिएको पाइएको महानगर उद्योग शाखा अधिकृत कल्पना बरालले बताइन्।

 

आतिस फ्रेस हाउसमा तौल गर्ने उपकरण दर्ता नगरिएको र मासु खुला रूपमा बाहिर राखिएको भेटिएको थियो। न्यू मिना गुरुङ फ्रेस हाउसमा मासुमा रङ प्रयोग गरिएको, तौल गर्ने उपकरण दर्ता नगरिएको र मासु कार्टुनमा राखिएको पाइएको थियो। उक्त पसललाई सरसफाइमा ध्यान दिन निर्देशन दिइएको महानगरले जनाएको छ।

 

अनुगमनमा उपप्रमुख गुरुङ, डा. आशिष गौतम, गुणस्तर तथा नापतौल कार्यालयका रघुनाथ पौडेल, महानगरका पशु शाखा प्रमुख डा. पवन पाण्डे, नवराज अधिकारी, सहकारी तथा उद्योग शाखाका लेखा अधिकृत राजु सुवेदी, पत्रकार धनबहादुर गुरुङ, विजय नेपालीलगायत सहभागी थिए।महानगरपालिकाले चाडपर्व अवधिभर बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...