रामप्रसाद खनाल/राजनीतिक पार्टीको जीवनमा केही क्षण यस्ता आउँछन्, जहाँ अरूलाई हेरेर होइन, आफैँलाई ऐनामा हेरेर प्रश्न गर्नुपर्ने हुन्छ। हामी कहाँ चुक्यौँ? जनताले हामीलाई किन फरक ढंगले हेर्न थाले? हाम्रो विचार र व्यवहारबीच कहाँ दूरी पैदा भयो? संगठन किन अपेक्षित रूपमा जनताको जीवनसँग जोडिन सकेन? र अब पनि पुरानै ढाँचामा हिँडेर नयाँ परिणाम खोज्न मिल्छ? यस्ता प्रश्नबाट उम्केर कुनै पनि राजनीतिक शक्ति नयाँ यात्रा सुरु गर्न सक्दैन।

नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक २०८३ असोज ५ देखि ८ गतेसम्म ललितपुरमा सम्पन्न भयो। बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। बैठकले पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्पलाई राजनीतिक कार्यदिशासँग जोड्दै संगठनात्मक तथा राजनीतिक विषयमा विभिन्न निर्णय गरेको थियो।
तेस्रो बैठकले तत्कालका दुई प्रमुख कार्यभारका रूपमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा तथा आगामी निर्वाचनको तयारीलाई अघि सारेको एमालेको आधिकारिक विवरणमा उल्लेख छ। त्यससँगै संगठनात्मक पुनर्निर्माण, अनुशासन, जनसम्बन्ध, राजनीतिक एकता र आगामी कार्यभार पूरा गर्न पार्टीलाई एकढिक्का बनाउने सन्देश पनि बैठकबाट आएको छ।
तर कुनै पनि बैठकको वास्तविक महत्व त्यसले पारित गरेको दस्तावेज वा गरेको निर्णयको संख्याले मात्र निर्धारण गर्दैन। त्यसको महत्व त्यसले पार्टीको सोच, संगठन र व्यवहारमा कति परिवर्तन ल्याउँछ भन्ने कुराले निर्धारण गर्छ। राजनीतिक दस्तावेजमा सुन्दर शब्दहरू लेखिनु आफैँमा परिवर्तन होइन। ती शब्दहरू संगठनको दैनिक व्यवहारमा कसरी अनुवाद हुन्छन् भन्ने नै मुख्य प्रश्न हो। बैठक सकिएपछि दस्तावेज सुरक्षित राख्ने तर पुरानो कार्यशैली यथावत् राख्ने हो भने पुनर्निर्माण, पुनर्गठन र रूपान्तरणका घोषणा फेरि अर्को राजनीतिक भाषणमा सीमित हुन सक्छन्।
त्यसैले अब प्रश्न के लेखियो भन्नेभन्दा पनि के बदलिन्छ भन्ने हो।
यहीँबाट तेस्रो बैठकका सन्देशलाई गहिरो वैचारिक अर्थमा बुझ्नुपर्छ। पार्टीको कमजोरी स्वीकार गर्नु आवश्यक छ, तर कमजोरी स्वीकार गर्नु आत्मसमर्पण होइन। विगतका कमजोरीमाथि आत्मसमीक्षा गर्नु आफ्नो राजनीतिक अस्तित्व अस्वीकार गर्नु होइन। बरु कमजोरी पहिचान गरेर त्यसलाई सच्याउने शक्ति निर्माण गर्नु नै राजनीतिक परिपक्वता हो। कमजोरी स्वीकार गरौँ, आत्मसमर्पण होइन। आफूलाई कमजोर देखिन्छ कि भन्ने डरले कमजोरी लुकाउनु संगठनलाई बलियो बनाउनु होइन। कमजोरी स्वीकारेर सुधारको बाटो खोल्नु नै वास्तविक शक्ति हो।
मार्क्सवादी दर्शनले समाजलाई स्थिर वस्तुका रूपमा हेर्दैन। समाज निरन्तर गतिशील हुन्छ। उत्पादनका साधन बदलिन्छन्, उत्पादन सम्बन्ध बदलिन्छन्, वर्गीय सम्बन्धका रूप बदलिन्छन्, प्रविधि बदलिन्छ, मानिसका आवश्यकता बदलिन्छन् र त्यससँगै चेतना पनि बदलिन्छ। जो राजनीतिक शक्ति परिवर्तनलाई बुझ्न सक्दैन, उसले इतिहासको नेतृत्व गर्न सक्दैन। त्यसैले आज एमालेका अगाडि आफ्नो इतिहास दोहोर्याउने होइन, इतिहासबाट शिक्षा लिएर नयाँ यथार्थको सामना गर्ने चुनौती छ।
विगतका उपलब्धि महत्वपूर्ण छन्। ती आन्दोलन र संघर्षबाट प्राप्त राजनीतिक सम्पत्ति हुन्। तर उपलब्धिको स्मृतिले वर्तमानका कमजोरी ढाक्न सक्दैन। हिजो सही भएको कार्यशैली आज पनि त्यत्तिकै प्रभावकारी हुन्छ भन्ने कुनै वैज्ञानिक नियम छैन। परिस्थिति बदलिएको छ भने संगठनको सोच, शैली र कार्यविधि पनि बदलिनुपर्छ।
तर यहाँ एउटा आधारभूत भिन्नता बुझ्न आवश्यक छ। शैली बदल्नु र सिद्धान्त बदल्नु एउटै कुरा होइन।
समाज बदलिँदा संगठन सञ्चालनको शैली बदलिन सक्छ। जनतासँग संवाद गर्ने माध्यम बदलिन सक्छ। प्रविधिको प्रयोग बदलिन सक्छ। नेतृत्व विकासको प्रक्रिया बदलिन सक्छ। प्रशिक्षणको शैली बदलिन सक्छ। संगठनको कार्यविधि बदलिन सक्छ। तर यी परिवर्तनको अर्थ आफ्नो वैचारिक आधार त्याग्नु होइन। शैली बदलौँ, सिद्धान्त होइन।
मार्क्सवाद–लेनिनवाद तथा जनताको बहुदलीय जनवादलाई आफ्नो वैचारिक आधार मान्ने एमालेका लागि चुनौती यही हो—आफ्नो आधारभूत वैचारिक धरातलमा दृढ रहँदै बदलिएको समाजलाई बुझ्ने र त्यसअनुकूल नीति, कार्यदिशा र कार्यशैली विकास गर्ने। सिद्धान्तलाई जड बनाउनु र सिद्धान्तलाई छाड्नु दुवै अतिवाद हुन्। जीवन्त सिद्धान्तले नयाँ प्रश्नसँग संवाद गर्छ।
द्वन्द्वात्मक भौतिकवादले परिवर्तनलाई विरोधाभासभित्र खोज्छ। प्रत्येक उपलब्धिभित्र नयाँ समस्या जन्मिन सक्छ र प्रत्येक संकटभित्र नयाँ सम्भावना पनि लुकेको हुन्छ। त्यसैले निर्वाचनमा आएको पराजयलाई केवल दुःखद परिणामका रूपमा हेर्नु अधुरो दृष्टि हो। पराजयले राजनीतिक शक्तिलाई दुई बाटो दिन्छ—आफ्नो कमजोरी ढाक्ने वा त्यसलाई चिरेर नयाँ शक्ति निर्माण गर्ने। हार आफैँमा सबैभन्दा ठूलो समस्या होइन, हारको कारण खोज्न नसक्नु ठूलो समस्या हो।
गल्ती हुनु कमजोरी हुन सक्छ, तर गल्ती दोहोरिनु राजनीतिक संस्कारको कमजोरी हो।
यही ठाउँमा आत्मसमीक्षाको प्रश्न आउँछ। कुनै पनि पराजयको कारण केवल बाहिर खोज्नु राजनीतिक रूपमा सहज हुन्छ। परिस्थितिलाई दोष दिन सजिलो हुन्छ। विपक्षीको प्रचारलाई दोष दिन सजिलो हुन्छ। सञ्चारमाध्यमलाई दोष दिन सजिलो हुन्छ। तर कठिन प्रश्न आफैतिर फर्किन्छ—जनतासँगको सम्बन्ध कहाँ कमजोर भयो? संगठन किन कतिपय ठाउँमा सक्रिय राजनीतिक शक्तिभन्दा औपचारिक संरचनाजस्तो देखिन थाल्यो? कार्यकर्ताको योगदान र नेतृत्व निर्माणबीच कस्तो सम्बन्ध रह्यो? आलोचना किन कहिलेकाहीँ गुटको प्रश्न बन्यो? चाकरी र निष्ठाबीचको सीमा कहाँ मेटियो? जनताको समस्या र पार्टीको राजनीतिक भाषाबीच दूरी किन बढ्यो?
आत्मसमीक्षा आत्मग्लानि होइन। यो क्रान्तिकारी राजनीतिक संस्कार हो।
आफूलाई सधैँ सही ठानिरहने संगठन विस्तारै आफ्नै कमजोरी देख्न नसक्ने संगठन बन्न सक्छ। मार्क्सवादी परम्परामा आलोचना र आत्मालोचनाको महत्व यही कारणले छ। आलोचना व्यक्तिलाई कमजोर बनाउन होइन, विचारलाई बलियो बनाउन हुनुपर्छ। आत्मालोचना दोष स्वीकार्ने औपचारिक कर्मकाण्ड होइन, व्यवहार सच्याउने प्रक्रिया हुनुपर्छ।
अब मूल प्रश्नमा फर्किनुपर्छ—पुनर्गठन भनेको के हो?
राजनीतिक पार्टीमा पुनर्गठनको बहस उठ्दा प्रायः नेतृत्वमा को रहने, को हट्ने, कसलाई नयाँ जिम्मेवारी दिने र संगठनको संरचना कसरी बदल्ने भन्ने प्रश्न अगाडि आउँछ। तर माक्र्सवादी दृष्टिकोणबाट हेर्दा पुनर्गठनलाई केवल व्यक्ति र पदको फेरबदलमा सीमित गर्नु राजनीतिक प्रश्नलाई प्रशासनिक प्रश्नमा झार्नु हो।
व्यक्ति परिवर्तन पुनर्गठनको एउटा अभिव्यक्ति हुन सक्छ। तर यसको मूल प्रश्न पार्टीले बदलिएको सामाजिक यथार्थलाई कसरी बुझ्छ, समाजका वर्गीय अन्तरविरोधलाई कसरी पहिचान गर्छ र त्यसका आधारमा आफ्नो वैचारिक दृष्टिकोण, नीति, राजनीतिक कार्यदिशा, संगठन, संघर्ष र कार्यशैलीलाई कसरी विकसित गर्छ भन्ने हो।
त्यसैले वास्तविक पुनर्गठन बाहिरी संरचनाको हेरफेरभन्दा पहिले राजनीतिक अन्तर्वस्तुको पुनर्संरचना हो।
माक्र्सवादी दर्शनको आधारभूत मान्यता समाज गतिशील छ र यसको गतिशीलताको आधार उत्पादन शक्ति, उत्पादन सम्बन्ध तथा त्यसबाट पैदा हुने सामाजिक अन्तरविरोधमा निहित हुन्छ भन्ने हो। समाजमा आर्थिक सम्बन्ध बदलिँदा वर्गीय संरचना र वर्गीय चेतनाका रूपहरू पनि बदलिन्छन्। त्यसैले कुनै राजनीतिक पार्टीले विगतमा सही ठहरिएको नीति र कार्यशैलीलाई बदलिएको परिस्थितिमा यान्त्रिक रूपमा दोहोर्याएर वर्तमानको नेतृत्व गर्न सक्दैन।
माक्र्सवादी पद्धतिको सार ठोस परिस्थितिको ठोस विश्लेषणमा छ। यसको अर्थ आधारभूत वैचारिक धरातल त्याग्नु होइन, बरु नयाँ यथार्थमा त्यसको सिर्जनात्मक प्रयोग र विकास गर्नु हो। त्यसैले पुनर्गठन विगतको अस्वीकार होइन। पुनर्गठन भनेको विगतका अनुभवको आलोचनात्मक मूल्यांकन गर्दै वर्तमानका अन्तरविरोधबाट भविष्यको राजनीतिक दिशा निर्माण गर्ने प्रक्रिया हो।
आजको नेपाली समाजलाई पनि यही वर्गीय दृष्टिले हेर्नुपर्छ। कृषि अझै ठूलो जनसंख्याको जीवनसँग जोडिएको भए पनि परम्परागत कृषि संरचना संकटमा छ। रोजगारीका लागि ठूलो श्रमशक्ति विदेशिएको छ। शहरमा अनौपचारिक, असुरक्षित र न्यून प्रतिफलको श्रम विस्तार भइरहेको छ। अर्कोतर्फ व्यापार, वित्त, सेवा र उपभोगमा आधारित नयाँ आर्थिक शक्ति विकसित भइरहेको छ। नयाँ मध्यम वर्गको विस्तारसँगै उसको असुरक्षा र आकांक्षा पनि बढिरहेको छ।
शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, सामाजिक सुरक्षा र आर्थिक अवसरमा असमान पहुँचले समाजमा नयाँ प्रकारका वर्गीय अन्तरविरोध जन्माइरहेको छ। यसको अर्थ पुरानो वर्गसंरचना जस्ताको तस्तै छैन। वर्गीय सम्बन्ध नयाँ आर्थिक र सामाजिक परिस्थितिअनुसार पुनर्संयोजित भइरहेका छन्। त्यसैले कम्युनिष्ट पार्टीको पुनर्गठन आजको समाजमा वास्तविक वर्गीय शक्ति कहाँ छ, श्रम कहाँ छ, पुँजी कसरी संगठित हुँदैछ र राज्यका नीतिले कुन वर्गीय सम्बन्धलाई बलियो बनाइरहेका छन् भन्ने अध्ययनबाट सुरु हुनुपर्छ।
यहीँबाट पुनर्गठनको वैचारिक प्रश्न जन्मिन्छ। समाज बदलिएको छ भने त्यसलाई बुझ्ने राजनीतिक दृष्टि पनि जीवन्त हुनुपर्छ। विचार केवल विगतमा लेखिएका दस्तावेजको संग्रह होइन। विचार बदलिँदो यथार्थलाई व्याख्या गर्ने र त्यसलाई रूपान्तरण गर्ने मार्गदर्शन हो। वर्गीय विश्लेषण कमजोर भयो भने विचार अमूर्त नारामा परिणत हुन्छ र विचार अमूर्त भयो भने राजनीति तत्कालीन सत्ता व्यवस्थापनमा सीमित हुने खतरा हुन्छ।
एमालेका लागि वैचारिक पुनर्गठन भनेको माक्र्सवाद त्याग्नु होइन। बरु माक्र्सवादी पद्धतिलाई अझ गहिरोसँग प्रयोग गर्दै आजको नेपाली समाजको वर्गीय संरचना र अन्तरविरोधको नयाँ व्याख्या गर्नु हो। वैचारिक स्पष्टता र वर्गीय स्पष्टता एकअर्काबाट अलग विषय होइनन्।
एमालेको सन्दर्भमा यो प्रश्न अझ महत्वपूर्ण हुन्छ। एमाले नेपाली कम्युनिष्ट आन्दोलनको लामो संघर्षबाट विकसित राजनीतिक शक्ति हो र माक्र्सवाद–लेनिनवाद तथा जनताको बहुदलीय जनवादलाई आफ्नो वैचारिक आधार मान्दै आएको छ। त्यसैले पुनर्गठनको प्रश्न उठ्दा आफ्नो वैचारिक आधारको पुनःपरीक्षण र विकास अपरिहार्य हुन्छ।
जनताको बहुदलीय जनवादलाई केवल बहुदलीय निर्वाचन र सरकार निर्माणको प्रक्रियासम्म सीमित गरेर बुझ्दा यसको राजनीतिक अन्तर्वस्तु साँघुरिन्छ। यसको लोकतान्त्रिक पक्षलाई जनताको राजनीतिक सहभागिता, सामाजिक न्याय, आर्थिक रूपान्तरण, राष्ट्रिय स्वाधीनता र समाजवादतर्फको यात्रासँग कसरी जोड्ने भन्ने प्रश्न आजको बदलिएको समाजमा पुनः उठाउनुपर्छ।
सिद्धान्तलाई जोगाउने सबैभन्दा राम्रो तरिका त्यसलाई जड बनाउनु होइन, जीवन्त बनाउनु हो।
आज कृत्रिम बुद्धिमत्ता, स्वचालन, डिजिटल प्रविधि र गिग अर्थतन्त्रले श्रमको स्वरूप बदलिरहेका छन्। सामाजिक सञ्जालले मानिसको सूचना, मनोरञ्जन, उपभोग र राजनीतिक व्यवहारलाई प्रभावित गरिरहेको छ। जलवायु संकटले किसान, श्रमिक र निम्न आय भएका समुदायलाई फरक ढंगले प्रभावित गरिरहेको छ। वैदेशिक रोजगारीले देशको ठूलो श्रमशक्ति बाहिर लगिरहेको छ।
यस्तो अवस्थामा जबजको वैचारिक शक्ति विगतको व्याख्यामा मात्र होइन, आजका नयाँ सामाजिक विरोधाभासको समाधान खोज्ने क्षमतामा परीक्षण हुनेछ। शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, श्रमको सम्मान, उत्पादन, अवसरको समान पहुँच, डिजिटल अर्थतन्त्र, प्रविधि र वातावरणीय न्यायजस्ता प्रश्नलाई लोकतान्त्रिक अधिकार र समाजवादी दिशासँग कसरी जोड्ने भन्ने प्रश्न आजको वैचारिक पुनर्पाठको केन्द्रमा आउनुपर्छ।
वर्गीय राजनीति पनि पुराना नाराको पुनरावृत्ति होइन। वर्गीय राजनीति भनेको आजको समाजमा शक्ति, सम्पत्ति, अवसर र श्रमको वितरण कसरी भइरहेको छ भनेर बुझ्नु हो। किसान किन उत्पादनबाट विस्थापित हुँदैछ? युवा किन विदेश जान बाध्य हुन्छ? श्रमिक किन असुरक्षित छ? सानो व्यवसायी किन संकटमा पर्छ? शहरमा आम्दानी र सम्पत्तिको असमानता किन बढ्छ? शिक्षा र स्वास्थ्यमा पहुँच किन असमान छ? यस्ता प्रश्नलाई नीति र कार्यक्रमसँग जोड्नु नै आधुनिक वर्गीय राजनीतिका आधार हुन्।
जसको श्रमले समाज चल्छ, जसको उत्पादनले अर्थतन्त्र धानिन्छ र जसको पसिनाले देश बन्छ, उनीहरूको जीवन राजनीतिका केन्द्रमा आउनुपर्छ। किसान, औपचारिक र अनौपचारिक श्रमिक, गिग श्रमिक, साना उत्पादक, सेवा क्षेत्रका कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली, श्रमिक महिला र शहरी श्रमजीवी वर्गका अनुभव फरक भए पनि उनीहरूको जीवनलाई प्रभावित गर्ने आर्थिक संरचनाका प्रश्न राजनीतिक प्रश्न हुन्।
यसैले एमालेको पुनर्गठनले आफ्नो वर्गीय चरित्र दस्तावेजमा मात्र होइन, नीतिमा र व्यवहारमा प्रमाणित गर्नुपर्ने हुन्छ। श्रम, उत्पादन, रोजगारी, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, भूमि, राष्ट्रिय स्रोत र आर्थिक अवसरको वितरणका प्रश्नमा पार्टीका नीति कुन सामाजिक वर्गको जीवनमा कस्तो परिणाम ल्याउँछन् भन्ने आधारमा वर्गीय चरित्र परीक्षण हुनुपर्छ।
समाजवादको लक्ष्य स्वीकार गर्ने हो भने उत्पादन बढाउने कुरा मात्र पर्याप्त हुँदैन। उत्पादनको सामाजिक सम्बन्ध, श्रमको मूल्य, सम्पत्तिको वितरण, अवसरको पहुँच र राज्यस्रोतको प्रयोगको प्रश्न पनि उठाउनुपर्छ। समाजवादको वैचारिक लक्ष्य र जनताको दैनिक जीवनबीच सम्बन्ध स्थापित गर्न नसक्ने राजनीति नारामुखी बन्न सक्छ। त्यसैले पुनर्गठनले वैचारिक लक्ष्यलाई ठोस वर्गीय नीतिमा अनुवाद गर्ने क्षमता निर्माण गर्नुपर्छ।
तर पार्टीको वर्गीय चरित्र नीति र दस्तावेजमा मात्र देखिँदैन। त्यसको प्रत्यक्ष अभिव्यक्ति नेता र कार्यकर्ताको कार्यशैली तथा चरित्रमा पनि देखिन्छ। गरिब, मजदुर, किसान, श्रमिक, बेरोजगार युवा, साना व्यवसायी र निम्न आय भएका परिवारका समस्या भाषणमा उठाउने तर व्यवहारमा उनीहरूबाट टाढा रहने प्रवृत्तिले राजनीतिक विचार र व्यवहारबीच अन्तरविरोध पैदा गर्छ।
माक्र्सवादी राजनीतिमा राजनीतिक चरित्र भनेको व्यक्तिगत नैतिकताको कुरा मात्र होइन। यसको वर्गीय अर्थ पनि हुन्छ। नेता–कार्यकर्ताको जनताप्रतिको उत्तरदायित्व, निजी स्वार्थ र सार्वजनिक जिम्मेवारीबीचको सम्बन्ध, शक्ति र स्रोतप्रतिको व्यवहार तथा कठिन परिस्थितिमा राजनीतिक अडानबाट चरित्र अभिव्यक्त हुन्छ। पदलाई सुविधा होइन जिम्मेवारीका रूपमा बुझ्ने, श्रमको सम्मान गर्ने, सार्वजनिक स्रोतलाई निजी लाभको साधन नबनाउने, फरक मत सुन्न सक्ने र गल्ती स्वीकार गरेर सच्याउन सक्ने संस्कार जनपक्षीय राजनीतिक चरित्रका आधार हुन्।
यही ठाउँमा नेतृत्वको प्रश्न पनि जोडिन्छ। ‘पुनर्गठन व्यक्ति परिवर्तन होइन’ भन्नुको अर्थ व्यक्तिको प्रश्नबाट भाग्नु होइन। व्यक्ति परिवर्तनलाई न त पुनर्गठनको पर्याय बनाउनुपर्छ, न त त्यसलाई निषेध गर्नुपर्छ।
तेस्रो बैठकले पार्टीभित्र उन्नतस्तरको समझदारी र सुदृढ एकताको सन्देश दिएको एमालेको आधिकारिक विवरण छ। विगतका टिप्पणीका सन्दर्भमा मिनाहा, जायज माग सम्बोधन र आगामी दिनमा अनुशासन कडाइका साथ लागू गर्ने सन्देश पनि बैठकबाट आएको छ। यस सन्दर्भमा नेतृत्वको प्रश्नलाई व्यक्ति–केन्द्रित विवादमा होइन, पार्टी निर्माणको व्यापक प्रक्रियामा राख्न आवश्यक हुन्छ।
नेतृत्वमा रूपान्तरण र हस्तान्तरणको तयारी गर्नु आवश्यक छ। तर यसको अर्थ व्यक्तिलाई अपमानित गर्ने, निषेध गर्ने वा हतारमा विस्थापित गर्ने होइन। युवालाई अगाडि बढाऔँ, अनुभवको सम्मान गरौँ। पुरानो पुस्ताको संघर्ष, अनुभव र राजनीतिक ज्ञानलाई अस्वीकार गरेर नयाँ नेतृत्व निर्माण हुँदैन। त्यस्तै नयाँ पुस्तालाई सधैँ ‘भोलिको नेतृत्व’ भन्दै वर्तमान जिम्मेवारीबाट बाहिर राखेर पुस्तान्तरण पनि हुँदैन।
पुस्तान्तरणको अर्थ पुरानो पुस्ताको अवमूल्यन होइन। यो अनुभव र नवीनताको सिर्जनात्मक संयोजन हो। युवा नेतृत्वले नयाँ प्रविधि, नयाँ सामाजिक अनुभव र नयाँ प्रश्न ल्याउन सक्छ। पुरानो पुस्ताले संघर्ष, संगठन निर्माण, राजनीतिक उतारचढाव र वैचारिक अनुभवबाट प्राप्त ज्ञान दिन सक्छ। नवीनता र अनुभवबीचको सम्बन्ध प्रतिस्पर्धाको होइन, रूपान्तरणको हुनुपर्छ।
त्यसैले नेतृत्व रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणलाई योजनाबद्ध राजनीतिक प्रक्रियाका रूपमा लिनुपर्छ। नेतृत्व विकास केवल पदको उत्तराधिकारी खोज्ने विषय होइन। नयाँ पुस्तालाई नीति निर्माण, संगठन सञ्चालन, वैचारिक बहस, जनसम्बन्ध र राज्य सञ्चालनको तयारीमा वास्तविक अवसर दिनुपर्छ।
तर यस प्रक्रियामा अर्को महत्वपूर्ण कुरा पनि छ। व्यक्तिको आलोचना गरेर पार्टीलाई अनिश्चिततामा धकेल्नु हुँदैन। राजनीतिक नेतृत्वको आलोचना आवश्यक हुन सक्छ, तर आलोचना विचार, नीति, निर्णय, कार्यशैली र परिणामको आधारमा हुनुपर्छ। व्यक्ति केन्द्रित असन्तुष्टि, सामाजिक सञ्जालको आक्रोश वा गुटगत प्रतिस्पर्धालाई पार्टीको भविष्यको राजनीतिक दिशाको विकल्प बनाउन सकिँदैन।
त्यसैले नेतृत्वको समीक्षा गरौँ, तर व्यक्तिविरोधलाई राजनीतिक कार्यक्रम नबनाऔँ। नेतृत्वमा रूपान्तरणको तयारी गरौँ, तर संस्थागत निरन्तरता नतोडौँ। नयाँ पुस्तालाई अगाडि ल्याऔँ, तर अनुभवको सम्पत्ति नष्ट नगरौँ। यही सन्तुलनले नेतृत्व परिवर्तनलाई अनिश्चितताको स्रोत होइन, संस्थागत विकासको प्रक्रियामा बदल्न सक्छ।
यदि वर्तमान नेतृत्वले बदलिएको यथार्थ बुझेर आवश्यक वैचारिक र संगठनात्मक पुनर्गठनको नेतृत्व गर्न सक्छ, आफ्नै निर्णय र कार्यशैलीमाथि समीक्षा गर्न तयार छ, आलोचना र आत्मालोचनालाई स्वीकार गर्न सक्छ र आफूलाई समेत परिवर्तनको प्रक्रियामा सहभागी गराउन सक्छ भने नेतृत्वको निरन्तरता आफैँमा पुनर्गठनको बाधक हुँदैन। तर पुनर्गठनको आवश्यकता स्पष्ट हुँदाहुँदै नेतृत्व स्वयं समीक्षा र आवश्यक परिवर्तनका लागि तयार हुँदैन भने नेतृत्व परिवर्तनको प्रश्न पनि राजनीतिक बहसमा उठ्न सक्छ।
यस अर्थमा व्यक्ति परिवर्तन पुनर्गठनको विकल्प होइन, आवश्यक परिस्थितिमा पुनर्गठनको एउटा राजनीतिक परिणाम हुन सक्छ।
पुनर्गठनमा नेतृत्वको निरन्तरता र नेतृत्व परिवर्तनलाई एउटै कठोर सूत्रबाट हेर्नु उचित हुँदैन। यसको निर्धारण राजनीतिक अन्तर्वस्तुले गर्नुपर्छ। व्यक्ति विरोध वा व्यक्ति समर्थनभन्दा पार्टीको वैचारिक दिशा, वर्गीय चरित्र, राजनीतिक कार्यक्षमता, संगठनात्मक संस्कार र जनसम्बन्धलाई केन्द्रमा राख्नुपर्छ।
यही सन्दर्भमा नवीनता, अनुभव, एकता र वैचारिक दृढता नै एमालेको शक्ति हो। नवीनताले पार्टीलाई भविष्यतर्फ लैजान्छ। अनुभवले त्यसलाई इतिहासको जरा दिन्छ। एकताले राजनीतिक शक्ति निर्माण गर्छ। वैचारिक दृढताले दिशाहीन हुनबाट जोगाउँछ। यीमध्ये एउटालाई अर्कोको विरुद्ध उभ्याउनु होइन, चारै पक्षलाई एकीकृत गर्नु पुनर्गठनको आवश्यकता हो।
पुनर्गठनको अर्को महत्वपूर्ण पक्ष संगठनभित्रको लोकतान्त्रिक र वर्गीय संस्कार हो। कम्युनिष्ट पार्टी बाहिरी समाजको वर्गीय संघर्षको कुरा गर्ने तर आफ्नै संगठनभित्र पद, पहुँच र व्यक्तिगत प्रभावलाई राजनीतिक योगदानभन्दा माथि राख्ने संस्था बन्नु हुँदैन। पद राजनीतिक जिम्मेवारी हो, निजी विशेषाधिकार होइन। नेतृत्व राजनीतिक उत्तरदायित्व हो, व्यक्तिगत स्वामित्व होइन।
जब संगठनभित्र अवसरको वितरण गुट, पहुँच वा व्यक्तिगत निकटताबाट प्रभावित हुन्छ, तब वर्गीय राजनीतिक संस्कार कमजोर हुन्छ र पदकेन्द्रित संस्कार बलियो हुन्छ। त्यसैले पुनर्गठनले विचार, योगदान, क्षमता, जनसम्बन्ध र राजनीतिक आचरणलाई जिम्मेवारी निर्धारणको आधार बनाउने संस्कार निर्माण गर्नुपर्छ।
गुटबन्दीको प्रश्नलाई पनि यही वैचारिक धरातलमा बुझ्नुपर्छ। गुट केवल व्यक्तिहरूको समूह होइन। जब राजनीतिक विचारभन्दा पद, पहुँच र संरक्षण महत्वपूर्ण बन्छ, तब गुटीय सम्बन्ध संस्थागत हुन थाल्छ। गुट बदल्दैमा समस्या समाधान हुँदैन, किनकि गुटको पुनरुत्पादन गर्ने राजनीतिक संस्कार कायम रहन्छ। त्यसैले पुनर्गठनले व्यक्ति वा गुटको शक्ति सन्तुलन मिलाउनेभन्दा संगठनभित्र विचारको बहस, सामूहिक निर्णय, पारदर्शी जिम्मेवारी, आलोचना–आत्मालोचना र कार्यसम्पादनमा आधारित मूल्यांकनको संस्कार निर्माण गर्नुपर्छ।
संगठन ठूलो हुनु र संगठन शक्तिशाली हुनु एउटै कुरा होइन। कमिटी धेरै हुनु र समाजमा राजनीतिक प्रभाव हुनु एउटै कुरा होइन। सदस्य संख्या धेरै हुनु र ती सदस्य जनताको जीवनसँग जोडिनु एउटै कुरा होइन।
संगठन भनेको पदको सूची होइन, विचार बोकेका मानिसहरूको सामाजिक शक्ति हो। किसानले आफ्नो समस्या लिएर पार्टीको स्थानीय संरचनामा आउँदा त्यहाँ के हुन्छ? श्रमिकले श्रमको समस्या राख्दा पार्टीले कसरी हस्तक्षेप गर्छ? युवाले रोजगारीको प्रश्न उठाउँदा पार्टीले के कार्यक्रम दिन्छ? नागरिकले शिक्षा, स्वास्थ्य, खानेपानी वा सडकको समस्या उठाउँदा संगठनको भूमिका के हुन्छ? यिनै प्रश्नको उत्तरमा संगठनको वास्तविक जीवन भेटिन्छ।
राजनीतिक दलको शक्ति चुनावका बेला देखिने भीडमा मात्र होइन, चुनाव नभएका दिनमा जनताको जीवनमा देखिने उपस्थितिमा हुन्छ।
त्यसैले प्रतिपक्षको भूमिकालाई पनि नयाँ ढंगले बुझ्नुपर्छ। प्रतिपक्ष हुनु भनेको सरकारका हरेक निर्णयको विरोध गर्नु मात्र होइन। सरकारका गलत नीति वा निर्णयको तथ्यसहित आलोचना गर्ने, जनताको समस्या उठाउने र त्यसको विकल्प प्रस्तुत गर्ने जिम्मेवारी पनि हो। महँगी, बेरोजगारी, कृषि संकट, श्रमिकको असुरक्षा, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, साना व्यवसायीको समस्या, युवाको विदेश पलायन र उत्पादनको संकटलाई राजनीतिक बहसको केन्द्रमा ल्याउन सकिएन भने प्रतिपक्षको राजनीति जनताको जीवनसँग जोडिन सक्दैन।
जनताले कसले कसलाई गाली गर्यो भन्नेभन्दा आफ्नो जीवनमा के परिवर्तन आउँछ भन्ने कुरा हेर्छन्। यहीँबाट वैकल्पिक शासन–खाकाको आवश्यकता स्पष्ट हुन्छ। राजनीतिक दलले सत्ता किन चाहन्छ? सत्ता पाएपछि के बदल्छ? अर्थतन्त्र कसरी चलाउँछ? उत्पादन कसरी बढाउँछ? रोजगारी कहाँ सिर्जना गर्छ? शिक्षा र स्वास्थ्यलाई कसरी प्रभावकारी बनाउँछ? सामाजिक सुरक्षा कसरी दिगो बनाउँछ? प्रविधिको उपयोग कसरी गर्छ? यी प्रश्नको स्पष्ट उत्तरबिना सत्ता प्राप्तिको राजनीति अधुरो हुन्छ।
सत्ताको विकल्प दिनु भनेको केवल अर्को सरकारको नाम दिनु होइन, अर्को शासनदृष्टि दिनु हो।
डिजिटल युगले संगठन सञ्चालनको शैली पनि बदल्न माग गरेको छ। डिजिटल उपस्थिति भनेको सामाजिक सञ्जालमा पोस्ट राख्नु मात्र होइन। सूचना, ज्ञान, विचार, तथ्य र जनसम्बन्धको नयाँ राजनीतिक संरचना निर्माण गर्नु हो। कृत्रिम बुद्धिमत्ता र डिजिटल प्रविधिको विस्तारसँगै पार्टीले नयाँ पुस्तासँग संवाद गर्ने नयाँ माध्यम विकास गर्नुपर्छ। तर प्रविधिलाई प्रचारको साधनमा मात्र सीमित गरेर हुँदैन। त्यसलाई अध्ययन, नीति निर्माण, जनसम्पर्क, प्रशिक्षण र संगठनात्मक पारदर्शितासँग जोड्नुपर्छ।
युवा नेतृत्वको प्रश्न पनि यसैसँग जोडिन्छ। युवालाई केवल चुनावी प्रचार, सामाजिक सञ्जाल सञ्चालन वा भीड व्यवस्थापनका लागि प्रयोग गर्ने हो भने त्यो पुस्तान्तरण होइन। नयाँ पुस्तालाई नीति निर्माण, संगठन सञ्चालन, वैचारिक बहस र नेतृत्व विकासको वास्तविक अवसर दिनुपर्छ। तर युवा नेतृत्व विकासको नाममा अनुभवलाई विस्थापित गर्नु पनि हुँदैन। अगाडि युवा, साथमा अनुभव र केन्द्रमा विचार—यही सन्तुलित पुस्तान्तरणको आधार बन्न सक्छ।
महिला तथा सामाजिक प्रतिनिधित्व पनि पदको गणितमा सीमित हुनु हुँदैन। समाजका विभिन्न वर्ग, समुदाय, क्षेत्र र पुस्ताका अनुभव पार्टीको निर्णय प्रक्रियामा पुग्नुपर्छ। प्रतिनिधित्वको संख्या बढ्नु महत्वपूर्ण हुन सक्छ, तर त्यससँगै निर्णयको दृष्टिकोण फराकिलो हुनु पनि उत्तिकै आवश्यक छ।
ज्ञानमा आधारित पार्टी निर्माण पनि आजको अपरिहार्यता हो। राजनीतिमा विचार आवश्यक छ, तर जटिल समाज बुझ्न ज्ञान पनि आवश्यक छ। अर्थतन्त्र, विज्ञान, प्रविधि, जलवायु, ऊर्जा, कृषि, उद्योग, श्रम बजार, अन्तर्राष्ट्रिय सम्बन्ध र सामाजिक परिवर्तनबारे अध्ययन नगरी आधुनिक राज्य सञ्चालनको वैकल्पिक दृष्टि निर्माण गर्न सकिँदैन।
आजको कार्यकर्ता केवल नारा जान्ने होइन, समाज बुझ्ने हुनुपर्छ। आजको नेता केवल भाषण गर्ने होइन, समाधान निर्माण गर्ने हुनुपर्छ। पार्टीभित्र अध्ययन, अनुसन्धान, तथ्य संकलन, नीति बहस र विशेषज्ञतासँग सम्बन्ध जोड्ने संस्थागत संस्कार विकास गर्नुपर्छ।
स्थानीय मुद्दा केन्द्रित संगठनको अवधारणा पनि यही कारणले महत्वपूर्ण छ। राष्ट्रिय राजनीतिको ठूलो बहस आवश्यक छ, तर जनताको राजनीतिक अनुभव धेरैपटक स्थानीय समस्याबाट सुरु हुन्छ। खानेपानी, सडक, विद्यालय, अस्पताल, कृषि, रोजगारी, बजार र वातावरणका समस्या समाधान गर्न नसक्ने पार्टीले राष्ट्रिय स्तरका ठूला कुरा गरेर मात्र जनविश्वास कायम गर्न सक्दैन। राष्ट्रिय राजनीति स्थानीय जीवनबाट सुरु हुन्छ।
प्रवासी नेपालीसँगको सम्बन्धलाई पनि नयाँ ढंगले बुझ्नुपर्छ। विदेशमा रहेका नेपाली केवल रेमिट्यान्स पठाउने नागरिक होइनन्। उनीहरू ज्ञान, सीप, पूँजी र विश्व अनुभव बोकेका राष्ट्रिय स्रोत हुन्। देशभित्रको उत्पादन र विदेशमा आर्जित ज्ञानबीच सम्बन्ध निर्माण गर्ने नीति आवश्यक छ।
राष्ट्रिय स्वाधीनताको अर्थ पनि सीमा र भूगोलको सुरक्षामा मात्र सीमित छैन। उत्पादन क्षमता, ऊर्जा, खाद्य सुरक्षा, प्रविधि, रोजगारी, आर्थिक क्षमता र सन्तुलित कूटनीति स्वाधीनताका आधार हुन्। राजनीतिक रूपमा स्वतन्त्र भएर आर्थिक रूपमा अत्यधिक निर्भर रहनुपर्ने अवस्था दीर्घकालीन चुनौती हो। त्यसैले राष्ट्रिय स्वाधीनताको नारालाई उत्पादन, आर्थिक क्षमता, राष्ट्रिय हित र सन्तुलित कूटनीतिसँग जोड्नुपर्छ।
लोकतन्त्रको प्रश्न पनि सामाजिक जीवनसँग जोडिन्छ। लोकतन्त्र पाँच वर्षमा एकपटक मतदान गर्ने अधिकार मात्र होइन। नागरिकको सम्मान, अभिव्यक्ति, संगठन, न्यायमा पहुँच, सामाजिक सुरक्षा र निर्णय प्रक्रियामा सहभागिता पनि लोकतन्त्रका आधार हुन्। संविधान र लोकतन्त्रको रक्षा केवल संस्थाको रक्षा होइन, नागरिकको अधिकार र गरिमाको रक्षा पनि हो।
अब संगठनात्मक लोकतन्त्र र अनुशासनको प्रश्न आउँछ। निर्णयअघि खुला बहस, निर्णयपछि एकताबद्ध कार्यान्वयन र कार्यान्वयनपछि कठोर समीक्षा—यही स्वस्थ संगठनात्मक चक्र हो। न बहसविहीन अनुशासन लोकतान्त्रिक हुन्छ, न निर्णयपछि अनन्त असहमति संगठनात्मक रूपमा उपयोगी हुन्छ। बहसले विचार जन्माउँछ, निर्णयले दिशा दिन्छ, अनुशासनले कार्यान्वयन गर्छ र आत्मसमीक्षाले संगठनलाई सच्याउँछ।
निर्णयअघि गोडा धसेर बहस गर्ने, तर निर्णय भइसकेपछि भारी बोकेर कार्यान्वयनमा लाग्ने संस्कार संगठनात्मक लोकतन्त्र र अनुशासनको स्वस्थ सम्बन्धको प्रतीक बन्न सक्छ। विषयमा गम्भीर बहस गर्ने तर निर्णयपछि सामूहिक जिम्मेवारीका साथ कार्यान्वयनमा जाने राजनीतिक संस्कार बलियो बनाउनुपर्छ।
यसका लागि आलोचना र आत्मालोचनालाई गुटको हतियार होइन, संगठन सुधारको साधन बनाउनुपर्छ। नेतृत्वमाथि प्रश्न उठ्न सक्नुपर्छ। कार्यकर्ताले पनि आफ्ना कमजोरी स्वीकार गर्न सक्नुपर्छ। तर आलोचनाको उद्देश्य संगठन तोड्नु होइन, संगठन सुधार्नु हुनुपर्छ। यहीँ कमजोरी स्वीकार गरौँ, आत्मसमर्पण होइन भन्ने सन्देशको अर्को अर्थ स्पष्ट हुन्छ।
निर्वाचनको तयारी पनि यही व्यापक राजनीतिक प्रक्रियाभित्र हुनुपर्छ। निर्वाचन लोकतन्त्रको महत्वपूर्ण प्रक्रिया हो, तर पार्टीको सम्पूर्ण जीवन होइन। चुनाव आउँदा मात्र जनतासँग पुग्ने, टिकट बाँड्दा मात्र कार्यकर्ता सम्झिने र प्रचारका बेला मात्र जनजीविकाका कुरा गर्ने शैलीले दीर्घकालीन विश्वास निर्माण गर्न सक्दैन। निर्वाचन जित्ने तयारीभन्दा पहिले जनताको विश्वास पुनर्निर्माण गर्ने तयारी आवश्यक हुन्छ।
तेस्रो बैठकका विभिन्न कार्यभारलाई यही समग्र दृष्टिले हेर्नुपर्छ। सत्यलाई जनतासम्म पुर्याउने कुरा जनजीविकासँग जोडिन्छ। जनजीविकाको राजनीति संगठनसँग जोडिन्छ। संगठन डिजिटल क्षमतासँग जोडिन्छ। डिजिटल क्षमता ज्ञानसँग जोडिन्छ। ज्ञान वैचारिक पुनर्पाठसँग जोडिन्छ। वैचारिक स्पष्टता नैतिक राजनीतिक व्यवहारसँग जोडिन्छ। अन्ततः यी सबै कुरा जनविश्वाससँग जोडिन्छन्।
त्यसैले पार्टी पुनर्निर्माण भनेको कमिटी फेरबदल मात्र होइन, पार्टीको राजनीतिक संस्कार फेरबदल हो।
यसका लागि “काम गर, परिणाम नाप, गल्ती चिन, सुधार गर” भन्ने कार्यशैली संगठनको दैनिक जीवन बन्नुपर्छ। निर्णयको जिम्मेवारी स्पष्ट हुनुपर्छ। परिणाम मापन हुनुपर्छ। असफलता लुकाउनुको सट्टा त्यसबाट शिक्षा लिनुपर्छ। सफलताको श्रेय बाँड्न सक्ने र असफलताको जिम्मेवारी लिन सक्ने संस्कार विकास गर्नुपर्छ।
पुनर्जागरणको अर्थ पुरानो गौरवको गीत गाउनु होइन। पुरानो अनुभवबाट शक्ति लिँदै नयाँ यथार्थसँग संघर्ष गर्ने नयाँ चेतना निर्माण गर्नु हो। इतिहास एमालेको शक्ति हो, तर इतिहास वर्तमानको कमजोरी लुकाउने पर्दा बन्नु हुँदैन। उपलब्धि गर्वको विषय हो, तर उपलब्धिको स्मृतिले आत्मसमीक्षाको ढोका बन्द गर्नु हुँदैन।
त्यसैले एकताबद्ध, सुदृढ र प्रतिरोधी एमाले निर्माण गरौँ भन्ने भावना केवल संगठनात्मक नारा भएर पुग्दैन। एकता विचारविहीन सहमति होइन। एकता पार्टीको साझा राजनीतिक उद्देश्यमा आधारित हुनुपर्छ। सुदृढता केवल संख्यात्मक विस्तार होइन। सुदृढता विचार, संगठन, जनसम्बन्ध, अनुशासन र कार्यक्षमताबाट आउँछ। प्रतिरोधी चरित्र केवल विरोध गर्ने क्षमतामा होइन, राष्ट्रिय हित, लोकतन्त्र, सामाजिक न्याय र जनजीविकाका प्रश्नमा स्पष्ट राजनीतिक अडान लिन सक्ने क्षमतामा देखिन्छ।
अब एमालेले आफैँलाई एउटा कठिन प्रश्न सोध्नुपर्ने हुन्छ—हामी जनताको राजनीतिक चेतनालाई नेतृत्व गरिरहेका छौँ कि जनताको बदलिँदो चेतनालाई पछ्याइरहेका छौँ?
यदि उत्तर असहज छ भने त्यही असहजताबाट सुधार सुरु गर्नुपर्छ। कुनै पनि राजनीतिक शक्ति सधैँ उही अवस्थामा रहँदैन। उत्थान हुन्छ, विस्तार हुन्छ, उपलब्धि हुन्छ, चुनौती आउँछ, कमजोरी पैदा हुन्छ, पराजय आउन सक्छ र पुनःउत्थानको सम्भावना पनि जन्मिन सक्छ। इतिहासको द्वन्द्वात्मक गति यही हो।
अबको बाटो व्यक्तिको प्रशंसा वा आलोचनाभन्दा माथि उठेर विचार, वर्ग, संगठन र व्यवहारको प्रश्न बन्नुपर्छ। नेतृत्व आवश्यक छ, तर नेतृत्वलाई संस्थागत संस्कारले बलियो बनाउँछ। कार्यकर्ता आवश्यक छन्, तर कार्यकर्तालाई उद्देश्य र सम्मानले सक्रिय बनाउँछ। संगठन आवश्यक छ, तर संगठनलाई जनसम्बन्धले जीवन दिन्छ। विचार आवश्यक छ, तर विचारलाई व्यवहारले प्रमाणित गर्नुपर्छ।
एमालेको वास्तविक पुनर्जागरण बैठकको हलमा घोषणा हुने विषय होइन। त्यो गाउँको टोलमा, श्रमिकको कार्यस्थलमा, किसानको खेतमा, युवाको भविष्यको प्रश्नमा, महिलाको नेतृत्वमा र नागरिकको दैनिक जीवनमा देखिने परिवर्तन हो।
त्यसैले अब एमालेले पुरानो नारालाई नयाँ शब्दमा दोहोर्याउने होइन, नयाँ यथार्थका प्रश्नको नयाँ उत्तर खोज्नुपर्छ। संगठनलाई पदको संरचनाबाट जनशक्तिमा, कार्यकर्तालाई परिचालनको साधनबाट विचार निर्माणको सहभागीमा, नेतृत्वलाई अधिकारको केन्द्रबाट उत्तरदायित्वको केन्द्रमा र राजनीतिलाई चुनावी गतिविधिबाट सामाजिक रूपान्तरणको प्रक्रियामा बदल्नुपर्छ।
विचारलाई जीवनसँग जोड्ने, संगठनलाई जनतासँग जोड्ने, राजनीतिलाई श्रम र उत्पादनसँग जोड्ने, लोकतन्त्रलाई नागरिक अधिकारसँग जोड्ने र राष्ट्रिय स्वाधीनतालाई आर्थिक क्षमतासँग जोड्ने बाटो नै अबको वैचारिक चुनौती हो।
अन्ततः एमालेको प्रश्न केवल “अर्को चुनाव कसरी जित्ने?” भन्ने प्रश्न होइन। त्योभन्दा गहिरो प्रश्न हो—“जनताले फेरि किन विश्वास गर्ने?”
यस प्रश्नको उत्तर प्रचारले होइन, व्यवहारले दिनुपर्छ। भाषणले होइन, कामले दिनुपर्छ। घोषणाले होइन, परिणामले दिनुपर्छ। र सबैभन्दा महत्वपूर्ण कुरा, पुरानो आत्मविश्वासले होइन, नयाँ आत्मबोधले दिनुपर्छ।
हारलाई लुकाएर पुनर्जागरण हुँदैन। हारको कारण खोजेर, कमजोरी स्वीकारेर, विचारलाई पुनर्पाठ गरेर, संगठनलाई जनतासँग जोडेर, नयाँ पुस्तालाई जिम्मेवारी दिएर र निर्णयलाई व्यवहारमा उतारेर मात्र पुनर्निर्माण सम्भव हुन्छ।
यस अर्थमा पुनर्गठनको वास्तविक मापन कति व्यक्ति फेरिए भन्ने होइन। पार्टीले समाजलाई हेर्ने दृष्टि कति स्पष्ट बनायो, वर्गीय पक्षधरता व्यवहारमा कति स्थापित गर्यो, विचार र नीतिबीचको सम्बन्ध कति बलियो बनायो, संगठनलाई जनतासँग कति जोड्यो, नेता–कार्यकर्ताको चरित्र तथा कार्यशैली कति जनपक्षीय बनायो र आवश्यक परिवर्तनको नेतृत्व गर्न सक्ने राजनीतिक संस्कार कति निर्माण गर्यो भन्ने हो।
व्यक्ति बदलिनु पुनर्गठनको दृश्य पक्ष हो। विचार, वर्गीय दृष्टिकोण, नीति, कार्यदिशा, संगठनात्मक संस्कार र राजनीतिक चरित्र बदलिनु यसको अन्तर्वस्तु हो।
नेतृत्वको रूपान्तरण र हस्तान्तरण पनि यही अन्तर्वस्तुसँग जोडिनुपर्छ। नेतृत्व बदल्नु मात्र परिवर्तन होइन। नयाँ नेतृत्वले नयाँ विचार, नयाँ कार्यशैली, नयाँ सामाजिक सम्बन्ध र नयाँ राजनीतिक संस्कार पनि ल्याउन सक्नुपर्छ। त्यसैगरी पुरानो नेतृत्व रहनु मात्र निरन्तरता होइन। यदि नेतृत्वले आफूलाई समयसँगै पुनःपरीक्षण गर्छ, नयाँ पुस्तालाई अघि बढाउँछ, अनुभव हस्तान्तरण गर्छ र संगठनलाई संस्थागत बनाउँछ भने निरन्तरता पनि परिवर्तनको माध्यम बन्न सक्छ।
त्यसैले नवीनता र अनुभव, निरन्तरता र परिवर्तन, एकता र बहस, अनुशासन र जनवाद, सिद्धान्त र व्यवहारबीचको द्वन्द्वात्मक एकता नै एमालेको पुनर्गठनको वास्तविक आधार बन्नुपर्छ।
सार्थक पुनर्गठन भनेको अनुहारको फेरबदल मात्र होइन। बदलिएको समाजलाई बुझ्ने दृष्टिकोण, त्यसलाई रूपान्तरण गर्ने राजनीतिक दिशा, जनतासँग जोडिएको संगठन, जनपक्षीय नेता–कार्यकर्ता र आवश्यक परे नेतृत्व स्वयंलाई समेत परिवर्तनको प्रक्रियामा समेट्ने राजनीतिक पुनर्निर्माण हो।
अन्ततः हारको पाठलाई आत्मसमीक्षामा, आत्मसमीक्षालाई सुधारमा, सुधारलाई संगठनात्मक शक्तिमा, संगठनात्मक शक्तिलाई जनविश्वासमा र जनविश्वासलाई सामाजिक रूपान्तरणको शक्तिमा बदल्नु नै एमालेको आगामी बाटोको वास्तविक चुनौती हो।
यहीँबाट एउटा महत्वपूर्ण कुरा स्पष्ट हुन्छ—पुनर्जागरण नयाँ नारा होइन, नयाँ व्यवहार हो। पुनर्निर्माण नयाँ संरचना मात्र होइन, नयाँ राजनीतिक संस्कार हो। आत्मसमीक्षा आत्मग्लानि होइन, भविष्य निर्माणको सुरुवात हो। र विचार पुस्तकमा थन्किएको सिद्धान्त होइन, जनताको जीवन बदल्ने व्यवहारिक शक्ति हो।
त्यसैले पराजय अन्तिम अध्याय बन्नैपर्छ भन्ने छैन। इतिहासको अर्को अध्याय लेख्ने अवसर पनि हुन सक्छ। तर त्यो अवसर आफैँ आउँदैन। त्यसका लागि विचारमा साहस, आत्मसमीक्षामा इमानदारी, संगठनमा अनुशासन, बहसमा खुलापन, नेतृत्वमा उत्तरदायित्व र व्यवहारमा परिणाम चाहिन्छ।
अब एमालेको भविष्य उसको विगत कति गौरवशाली थियो भन्ने कुराले मात्र तय गर्ने छैन। उसले वर्तमानको कठोर सत्यलाई कति इमानदारीपूर्वक स्वीकार्छ, आफ्नो वैचारिक धरातललाई कति दृढतापूर्वक जोगाउँदै शैली र कार्यशैलीलाई कति सिर्जनात्मक रूपमा बदल्छ, नयाँ पुस्तालाई कति जिम्मेवारी दिन्छ, अनुभवलाई कति सम्मान गर्छ, नेतृत्व रूपान्तरण र हस्तान्तरणलाई कति संस्थागत बनाउँछ र त्यसबाट भविष्यको नयाँ बाटो कति सिर्जनात्मक रूपमा निर्माण गर्छ भन्ने कुराले उसको आगामी यात्रालाई आकार दिनेछ।वर्गीय दृष्टिकोण र वैचारिक रूपान्तरण नै वास्तविक पुनर्गठन हो।
