पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

पोखरा । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गको पोखरा–बुटवल सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक र पैदलयात्रीको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो ।

 

दुर्घटनामा पोखरा महानगरपालिका–१७ का १९ वर्षीय मोटरसाइकल चालक सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखराको विरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएपछि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...