पोखरामा भेडा–च्याङ्गा व्यापारीबाट मनपरी शुल्क असुली

पोखरा । दसैँका लागि बिक्री गर्न पोखरा ल्याइएका भेडा–च्याङ्गा व्यापारीबाट मनपरी रूपमा शुल्क असुल गरिएको पाइएको छ। पोखरा महानगरपालिका–१ याम्दीस्थित सडक किनारमा बिक्रीका लागि राखिएका भेडा–च्याङ्गा व्यापारीसँग सिमपानी सामुदायिक उपभोक्ता समूहका नाममा महँगो शुल्क उठाइएको व्यापारीहरूले गुनासो गरेका छन्।


सार्वजनिक सडक किनारमा भेडा–च्याङ्गा बिक्रीका लागि राखे पनि विभिन्न व्यक्ति र सामुदायिक वनका नाममा पैसा तिर्नुपरेको एक व्यापारीले बताए। उनका अनुसार पैसा नदिए बिक्रीका लागि बस्न नदिने अवस्था छ।


‘पैसा नदिई हुँदैन, नत्र बस्न दिँदैनन्,’ ती व्यापारीले भने।
पोखरा महानगरपालिकाले भेडा–च्याङ्गा बिक्री गरेबापत कुनै शुल्क नउठाएको जनाएको छ। महानगरले शुल्क नलिएको बताउँदा पनि व्यापारीहरूले भने आफूहरूले पैसा तिरेको बताएका छन्। व्यापारीका अनुसार व्यक्ति र सामुदायिक वनका नाममा रकम उठाइएको छ।

यस विषयमा पोखरा महानगरपालिका–१ का वडाध्यक्ष सहारा प्रधानसँग बुझ्दा उनले शुल्क उठाउन कसैलाई अनुमति नदिइएको स्पष्ट पारे। ‘हामीले कसैलाई अनुमति दिएका छैनौँ,’ अध्यक्ष प्रधानले भने।

सार्वजनिक सडक किनारमा बिक्रीका लागि राखिएका भेडा–च्याङ्गा व्यापारीबाट अनुमति नलिई शुल्क असुल गरिएको हो भने त्यसले सार्वजनिक स्थलको प्रयोग र शुल्क सङ्कलनको पारदर्शितामाथि प्रश्न उठाएको छ।

वर्षमा एक पटक दसैँका लागि हिमाली जिल्लाबाट ल्याइने भेडा–च्याङ्गा त्यसै पनि महँगो पर्ने गर्छन्। व्यापारीहरूले हप्तौँसम्म यात्रा गरेर पोखरा ल्याउँदा ढुवानी, खाना तथा अन्य खर्च व्यहोर्नुपर्ने हुन्छ। त्यसमाथि बिक्री गर्न राखिएको स्थानमा विभिन्न नाममा शुल्क तिर्नुपर्दा लागत बढ्ने र उपभोक्तासम्म पुग्दा मूल्यसमेत महँगो हुने अवस्था छ।

समयमै बिक्री नहुने र विभिन्न शीर्षकमा रकम बुझाउनुपर्ने समस्याले घाटासमेत व्यहोर्नुपरेको व्यापारीहरूको गुनासो छ। यसरी अनधिकृत रूपमा शुल्क असुली भइरहेको भए सम्बन्धित निकायले छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने देखिन्छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...