एकराज गिरी ।पोखरा । हिमालको काख, हरियाली डाँडाकाँडा र मर्दीखोलाको सुन्दर परिवेश। यही प्राकृतिक सुन्दरताबीच अब माछापुच्छ्रे गाउँपालिका–५ रिभानको मैचे डाँडाबाट नयाँ पुस्ताले आकाशमा उड्न सिक्ने अवसर पाउने भएको छ। साहसिक पर्यटनको महत्वपूर्ण विधा प्याराग्लाइडिङमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित रिभानमा एरोडाइनामी प्याराग्लाइडिङ स्कुल स्थापना गरिएको छ।

चार जना युवाको संयुक्त लगानीमा स्थापना गरिएको स्कुलको आज उद्घाटन गरिएको हो। गण्डकी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक प्रकाश बरालले स्कुलको उद्घाटन गरेका हुन्। स्कुलले आगामी मंसिर महिनापछि औपचारिक रूपमा प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ।

विजय गौतम, विष्णु गौतम, किरण कार्की र अमृत अधिकारीको करिब २ करोड ५० लाख रुपैयाँको संयुक्त लगानीमा स्कुल स्थापना गरिएको हो। पोखरालाई प्याराग्लाइडिङको प्रमुख गन्तव्यका रूपमा चिनिँदै आएको अवस्थामा रिभानमा खुलेको यस स्कुलले दक्ष प्यारापाइलट उत्पादन र साहसिक पर्यटनको विस्तारमा नयाँ सम्भावना थप्ने अपेक्षा गरिएको छ।

स्कुलका सञ्चालक विष्णु गौतमका अनुसार प्याराग्लाइडिङ प्रशिक्षणका लागि आवश्यक उपकरण खरिदमा मात्रै हालसम्म करिब डेढ करोड रुपैयाँ खर्च भइसकेको छ। पूर्वाधार निर्माण तथा बाँकी काम पूरा गर्दा कुल लगानी २ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान छ।

प्रशिक्षणस्थलका रूपमा माछापुच्छ्रे गाउँपालिका–५ ले मैचे डाँडाको क्षेत्र उपलब्ध गराएको छ। स्थानीय क्षेत्रलाई साहसिक पर्यटनसँग जोड्ने उद्देश्यले गाउँपालिकाको सहयोगमा प्रशिक्षणस्थल तयार गरिएको सञ्चालकले बताएका छन्।

१० देखि १५ दिनमा उडान गर्न सक्ने लक्ष्य
स्कुलमा प्याराग्लाइडिङ सिक्न चाहने नयाँ पुस्तालाई व्यवस्थित र व्यावसायिक प्रशिक्षण दिइनेछ। सञ्चालकद्वय विजय गौतम र विष्णु गौतम आफैँ प्यारापाइलट तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रशिक्षक हुन्। उनीहरूले नै प्रशिक्षार्थीलाई प्रशिक्षण दिनेछन्।
दुई जना प्रशिक्षकले एक सत्रमा छ जनासम्मलाई प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ। प्रशिक्षार्थीको सिकाइ, अभ्यास र दक्षताका आधारमा सामान्यतया १० देखि १५ दिनभित्र आफैँ उडान गर्न सक्ने तहसम्म पुर्याउने लक्ष्य रहेको सञ्चालकहरूको भनाइ छ।
स्कुलमा बिगिनर कोर्स, एसआईभी, एड्भान्स तथा टेन्डम कोर्स सञ्चालन गरिनेछ। यसबाट प्याराग्लाइडिङ सिक्न चाहने सुरुआतीदेखि थप दक्षता हासिल गर्न चाहने पाइलटसम्मलाई प्रशिक्षणको अवसर उपलब्ध हुनेछ।
उडान मैचे डाँडाबाट, अवतरण मर्दीखोलामा
प्राकृतिक बनावट र भौगोलिक अवस्थालाई ध्यानमा राखेर रिभानको मैचे डाँडालाई टेकअफ अर्थात् उडान सुरु गर्ने स्थानका रूपमा छनोट गरिएको छ। उडानपछि मर्दीखोलाको किनारमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ ।
सञ्चालक तथा पाइलट विजय गौतमका अनुसार प्याराग्लाइडिङ उडानका लागि सराङकोट उपयुक्त गन्तव्य भए पनि प्रशिक्षणका दृष्टिले रिभानको भौगोलिक अवस्था उपयुक्त रहेको छ। उनले आफू अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रशिक्षक रहेको उल्लेख गर्दै व्यवस्थित प्रशिक्षणमार्फत दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको बताए।
पोखराको पर्यटनसँग जोडिँदै नयाँ सम्भावना
पोखरा लामो समयदेखि प्याराग्लाइडिङका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणको केन्द्र रहँदै आएको छ। प्याराग्लाइडिङ पर्यटनलाई निरन्तरता दिन दक्ष र तालिमप्राप्त पाइलट उत्पादन पनि उत्तिकै आवश्यक छ।
यही आवश्यकतालाई ध्यानमा राखेर रिभानमा स्थापना गरिएको स्कुलले पोखरा तथा आसपासका क्षेत्रमा प्यारापाइलट उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
चार युवाको करिब साढे दुई करोड रुपैयाँको लगानी केवल एउटा प्रशिक्षण संस्था स्थापना गर्ने प्रयास मात्र नभई माछापुच्छ्रे क्षेत्रको प्राकृतिक सम्भावनालाई साहसिक पर्यटनसँग जोड्ने पहल पनि हो। यसले स्थानीय क्षेत्रको पहिचान विस्तार गर्नुका साथै पर्यटन गतिविधि, आर्थिक अवसर र रोजगारी सिर्जनामा समेत योगदान पुर्याउन सक्ने विश्वास गरिएको छ।
माछापुच्छ्रेको काखबाट सुरु भएको यो नयाँ प्रयासले पोखराको साहसिक पर्यटनलाई थप उचाइमा पुर्याउँदै नयाँ पुस्ताका दक्ष प्यारापाइलट उत्पादन गर्ने अपेक्षा गरिएको छ।