तल्लाकोट स्वास्थ्य चौकीमा आगजनी र तोडफोड,वडा सदस्य आचार्यको आपत्ति

पोखरा । पोखरा महानगरपालिका–१९ स्थित ऐतिहासिक तल्लाकोट स्वास्थ्य चौकीमा अज्ञात व्यक्ति वा समूहबाट आगजनी तथा तोडफोड गरिएको घटनाप्रति पोखरा महानगरपालिका–१९ का वडा सदस्य विकासकुमार आचार्यले घोर आपत्ति जनाएका छन् ।
आचार्यले एक विज्ञप्ति जारी गर्दै स्थानीय समुदायको श्रमदान, सहयोग र भूमिदानबाट स्थापना भएको स्वास्थ्य चौकीमा आगजनी तथा तोडफोड हुनु अत्यन्त दुःखद र निन्दनीय भएको बताएका छन् ।


उनका अनुसार विगतमा ढुङ्गा, माटो, काठ र जस्तापाताको प्रयोग गरी स्थानीयवासीको श्रमदानबाट तल्लाकोट स्वास्थ्य चौकी निर्माण गरिएको थियो । स्वर्गीय हरिकृष्ण बास्तोलाले ४ रोपनी ९ आना १ पैसा ३ दाम र स्वर्गीय रुद्रनाथ आचार्यले २ आना ३ दाम जग्गा भूमिदान गरी स्वास्थ्य चौकी निर्माणमा योगदान पुर्‍याएका थिए ।


उक्त स्वास्थ्य चौकी विगतमा आसपासका उपस्वास्थ्य चौकीहरूसँग समन्वय गर्ने केन्द्रका रूपमा समेत रहेको र यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको आचार्यले उल्लेख गरेका छन् ।

 

स्थानीयवासीले घटनाको गम्भीर, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी संलग्न व्यक्तिको तत्काल पहिचान गर्न, विगतका घटनासँग यसको सम्बन्ध भए–नभएको अनुसन्धान गर्न तथा प्रमाणका आधारमा दोषीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन् ।

त्यसैगरी स्वास्थ्य चौकीको सुरक्षा व्यवस्था मजबुत बनाउन, सार्वजनिक सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गर्न र आवश्यक मर्मत तथा पुनःस्थापनाको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

स्वास्थ्य चौकी बिरामीले उपचार पाउने, गर्भवती महिलाले सुरक्षित सेवा प्राप्त गर्ने र बालबालिकाले खोप लगाउने अत्यावश्यक सार्वजनिक संस्था भएकाले यसमाथिको आक्रमणले भवनमा मात्र नभई समग्र समुदायको स्वास्थ्य सेवा र नागरिकको अधिकारमा असर पुर्‍याउने स्थानीयको भनाइ छ ।

स्थानीयवासीले कसैलाई पूर्वाग्रहका आधारमा दोषी करार गर्न नहुने उल्लेख गर्दै अनुसन्धानबाट दोषी देखिने जोसुकै व्यक्ति भए पनि राजनीतिक, सामाजिक वा व्यक्तिगत पहुँचका आधारमा उन्मुक्ति दिन नहुने बताएका छन् ।

सार्वजनिक सम्पत्ति सबै नागरिकको साझा सम्पत्ति भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै स्थानीयवासीले तल्लाकोट स्वास्थ्य चौकीको संरक्षण र घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन एकजुट हुन आह्वान गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...