उमेरले ६४ वर्ष पुगेका पोखरेली पर्यटन व्यवसायी कृष्ण काफ्ले मर्दी हिमालको पदयात्रामा पोखराबाट निस्कँदा जति खुशी हुनुहुन्थ्यो, फर्कंदा त उहाँमा खुशीको कुनै सिमा नै थिएन । प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले आफूलाई निकै हर्षित बनाएको उहाँले अनुभव सुनाउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन (टेसा) पोखराद्वारा आयोजित मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक चार दिवसीय पदयात्रामा काफ्लेजस्तै पोखराका पर्यटन व्यवसायी एवं सञ्चारकर्मी औपचारिकरुपमा सो कार्यक्रममा सहभागी बनेका थिए ।“यस पदमार्गमा ठूला बस्ती नरहेका कारण यो प्रकृतिमा आधारित पदमार्ग हो”, उहाँले भन्नुभयो, “यसको प्राकृतिक सौन्दर्यतालाई जोगाउँदै बस्ती नरहेका कारण आगामी दिनमा पनि यस क्षेत्रमा जथाभावी मोटरबाटो खन्ने काम रोकिनु आवश्यक छ ।” बढ्दो पर्यटकको आगमनसँगै हुनसक्ने वातावरणीय प्रदूषणसमेतलाई दृष्टिगत गर्दै बेलैमा यसतर्फ सचेत बन्नुपर्ने पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । छोटो दूरीमा हिमाल छुन सकिने मर्दी पदयात्राको आफ्नै विशिष्ट महत्व रहेको बताउँदै उहाँले पदयात्रा मार्गका बाटोलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । –––