जनगणनाको तयारी

काठमाडौँ, कात्तिक ८ गते । राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा विद्युतीय जनगणना हुनेछ । नेपालमा भएका हरेक कूटनीतिक निकायका मानिसलाई नेपालकै मानिस मानेर जनगणना गर्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

 

यसलाई ‘ई–सेन्सस’ नाम दिइएको छ । यस्तो जनगणना पहिलो पटक गरिन लागेको हो । परराष्ट्र मन्त्रालयमार्फत इन्टरनेट कनेक्सन गरी विभागको वेबसाइटमा जोडेर जनगणना गरिने तयारी रहेको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नवीनलाल श्रेष्ठले जानकारी दिनुभयो ।“जसरी विदेशमा रहेका नेपालीलाई विदेशी कानुनअनुसार व्यवहार गरिन्छ, त्यसरी नै नेपालमा रहेका राजदूतावास र कूूटनीतिक निकायका कर्मचारीलाई पनि नेपालकै कानुनअनुसार व्यवहार गर्ने गरी जनगणनामा समेट्न लागिएको हो”, विभागका निर्देशक ढुण्डीराज लामिछानेले भन्नुभयो ।

जनगणना गर्दा विभागमा रहेका कर्मचारीले ट्याब्लोइडबाट प्रश्नावली सोध्नेछन् । सफ्टवेयरमार्फत सीधै त्यो गणना डाटा सेन्टरमा प्रविष्ट गराइन्छ । सफ्टवेयर राख्ने प्रक्रिया अहिले जारी छ । त्यसका लागि आवश्यक कर्मचारी सोही प्रक्रियामार्फत भर्ना गरिँदै छ । ई–सेन्ससमा भाग लिँदा दूतावास, वाणिज्य दूतावास र अन्य कूटनीतिक निकायमा रहेका नेपाली कर्मचारीले नै सहजीकरण गरेर भर्ने व्यवस्था मिलाइएको छ । नेपालमा २५ वटा आवासीय दूतावास तथा विदेशी कूटनीतिक नियोग र ८२ वटा अस्थायी कूटनीतिक नियोग छन् ।

जनगणनाका लागि सामान खरिद प्रक्रियामा छ । “अहिलेसम्म हामी टेबल वर्कमै छौँ । माघदेखि तालिम सुरु गर्नुपर्छ”, विभागका महानिर्देशक श्रेष्ठले भन्नुभयो । प्रश्नावली अन्तिम चरणमा पुगेको जानकारी निर्देशक लामिछानेले दिनुभयो । यसका लागि अन्तिम चरणका केही छलफलमा विभाग व्यस्त छ । ती प्रश्नावली छाप्ने स्थान तय भइसकेको छ । आउँदो चैत १ देखि जनगणनाका लागि जिल्लास्तरीय कार्यालय स्थापना गर्ने तयारी सुरु भइसकेको छ । यसका लागि घर भाडामा लिने र डाटा सेन्टरका निम्ति आवश्यक तयारी भइरहेको छ । विगतमा जनगणनाको तथ्याङ्क सार्वजनिक गर्न दुई वर्षजति लागेको थियो । यसपटक छ महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

जनगणनाका लागि आवश्यक कर्मचारी भर्नाको प्रक्रिया अघि बढेको छ । यही माघ र फागनुमा कर्मचारी छनोट सक्ने योजना छ । यसपालि गणक र सुपरीवेक्षक करारमा लिइने भएको छ । त्यसका लागि शिक्षक–शिक्षिकालाई करारमा लिई तालिम दिइने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...