सुदूरपश्चिममा यस वर्ष सुपथ मूल्य पसल सञ्चालनमा आएनन्

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा  यसबर्ष अहिलेसम्म सुपथ मूल्य पसल सञ्चालनमा आउन सकेका छैनन्। हरेक वर्ष सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भए पनि यस वर्ष भने सञ्चालनमा नआएका हुन्।

सुदूरपश्चिमको धनगढीमा मात्रै सुपथ मूल्य पसलमा सञ्चालनमा आएको छ। प्रदेशको बैतडीको पाटन, डडेल्धुरा, डोटी, कञ्चनपुर, टिकापुरमा भने यसबर्ष सुपथ मूल्य पसल सञ्चालनमा आउन नसकेका हुन्।  सरकारले यसअघि दशैंतिहार आउनुभन्दा १ महिना पहिला सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गर्दथ्यो।

दशैंतिहारलाई लक्षित गर्दै जिल्लाको पाटनमा सञ्चालनमा आउने सुपथ मूल्य पसल यो बर्ष सञ्चालनमा आउन नसकेको साल्ट  ट्रेसिङ कर्पाेरेसन डिपो पाटनका प्रमुख नरेन्द्र धामीले जानकारी दिए।  अनलाइन बिलिङ अनिवार्य रहेकोले त्यो व्यवस्था हुन नसक्दा सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिएको उनले बताए। उनले भने,  ‘हाते बिल नकाट्ने निर्देशन भएकोले अनलाइन बिलिङको व्यवस्था हुन नसक्दा सञ्चालन हुन नसकेको हो ’

सुपथ मूल्य पसलमा अन्य पसलको भन्दा सस्तो मूल्यमा चामल,नुन, चिनी पाइने गरेको थियो तर यसबर्ष भने सर्वासाधारण नागरिक महंगो मूल्य किन्न बाध्य भएका छन्। सहुलियता पाइने दैनिक उपभोग्य सामग्री किन्न नपाउँदा निरासा छाएको स्थानीय दिनेश विष्टको भनाई छ। उनले भने‘ सस्तोमा पाइने सामान समेत महंगोमा किन्नुपरेको छ’

धनगढीमा भने मंसिर ६ गतेसम्म सुपथ मूल्य पसल सञ्चालनमा रहने साल्ट  ट्रेसिङ कर्पाेरेसन लिमिटेड अञ्चल कार्यालय धनगढीले जनाएको छ।  धनगढीको सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन र स्यानिटाइजर लगायतका सामग्री विक्रि वितरण भइरहेका छन्। पसलमा चिनी प्रतिकिलो रु ७० र नुन प्रतिकिलो रु १८ मूल्य निर्धारण गरिएको छ। बाहिरको दरभन्दा चिनी प्रतिकिलोमा रु १० र नुन प्रतिकिलोमा रु दुई छुट गरिएको छ।

सुपथ मूल्यमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले चाडपर्वलाई लक्षित गर्दै हरेक बर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...