काठमाडौं, मंसिर २१ गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम हैसियतमा बनेका पार्टी कमिटीहरु एकता महाधिवेशनसम्म सहमतिकै आधारमा चल्नुपर्छ भन्नुभएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा आइतबार लिखित पत्र पेश गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा भन्नुभएको हो ।
“महाधिवेशन सम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसैअनुरुप सहमतिका आधारमा चल्नु पर्दछ” पत्रमा अध्यक्ष ओलीले उल्लेख गर्नुभएको छ । सत्यसँग नलड्ने र शक्तिसँग कहिल्यै नझुक्ने आफ्नो धारणा रहेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभएको छ, “सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो, सत्य व्यक्त र संस्थाका सहि विचार र व्यवहारमा अन्तरनिहित हुन्छ भन्ने म ठान्दछु ।”
अत्यन्त उज्ज्वल सम्भावना बोकेको नेकपा अहिले इतिहासकै गम्भीर संकटमा पुगेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले पार्टीको आफ्नै कारणले पार्टी संकटमा पुगेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “यो संकट कुनै बाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचन बाहिरबाट सरकार बदल्न खोज्ने केही व्यग्र नेतृत्वमोहका कारण निम्तिएको हो ।”