ग्रामिण क्षेत्रका प्राकृति र संस्कृतिका विविधताको उपयोगमा जोड

प्रदेशमा गन्तव्य वर्ष घोषणा गरिने

वासुदेव पौडेल
पोखरा, पुस १२ गते ।गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुर्नउत्थान एवम् ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रममा ग्रामिण क्षेत्रका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत शनिबार बाग्लुङको काठेखोला गाउँपालिका वडा नं ५ बिहुँकोटस्थित शिवधुरी सामूदायिक होमस्टे र गलकोट नगरपालिका वडा नं ११ स्थित रिघा सामूदायिक होमस्टेमा गरिएका अन्तरक्रियामा वक्ताहरूले नेपालमा ग्रामिण क्षेत्रमा पर्याप्त पर्यटकीय सम्भावना भएर पनि त्यसको अझै उजागर हुन नसकेको बताउनुभयो ।


कोरोना कहरका कारण थलिएको पर्यटनलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै चलायमान गराउनुपर्नेमा पनि वक्ताहरूले जोड दिए ।गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले हरेक गाउँ, पर्यटकीय ठाउँ भन्ने नाराका साथ भिटोफले गाउँ पर्यटनको प्रवद्र्धन र विकासमा जोड दिएको बताउनुभयो । लामो समयदेखि कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी सहितको टोली पुर्नउत्थान एवम् प्रवद्धन कार्यक्रममा सहभागी भएको उहाँले बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय गाउँको प्रवद्र्धनका माध्यमबाट आन्तरिक पर्यटनको विकास गर्न सकिने बताउनुभयो । पर्यटनमा बाटोको सहजता अपरिहार्य हुने बताउँदै उहाँले गाउँसम्म आउने बाटोलाई व्यवस्थित गर्ने तर्फ लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । पर्यटकीय सम्भावनाका आधारमा गाउँको प्राथमिकीकरण गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले रमणीय गाउँहरूमा पर्यटनका धेरै सम्भावना रहेको बताउँदै पूर्वाधार विकास लगायतमा स्थानीय जागरुकता अपरिहार्य हुने बताउनुभयो । स्थानीय जागरुकता भएका भएमा बजेटको अभावमा पूर्वाधार नरोकिने उहाँको तर्क छ ।

शिवधुरी सामूदायिक होमस्टेका अध्यक्ष प्रेमबहादुर श्रीसले घरवास पर्यटनमा पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । घरवास सञ्चालनका लागि निर्धारित मापदण्डलाई सहज बनाउनुपर्ने बताउँदै उहाँले सुन्दर गाउँहरू प्रवद्र्धनको पर्खाइमा रहेको बताउनुभयो ।होमस्टेका सचिव प्रेमबहादुर पुन, उपाध्यक्ष ध्रुबबहादुर कंडेल, काठेखखोला गाउँपालिकाका कार्यपालिका सदस्य हेमबहादुर विक लगायतले शिबधुरी र आसपासका ऐतिहासिक एवम् सांस्कृतिक महत्वका स्थललाई पर्यटनसँग जोड्न सकिने धेरै आधार रहेको उल्लेख गर्नुभयो ।

गन्तव्य वर्ष घोषणाले उत्साहित

रिघा सामूदायिक होमस्टेमा आयोजित अन्तरक्रियामा जनप्रतिनिधि एवम् होमस्टे सञ्चालकहरूले रिघा सामूदायिक होमस्टेलाई भिटोफ गण्डकी प्रदेशद्वारा गन्तव्य वर्ष घोषणा गरिनुले यहाँको पर्यटकीय विकासमा उत्साह थपेको बताए ।

गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले भिटोफले रिघा समूदायिक होमस्टेलाई गन्तव्य वर्ष घोषणा गर्नुले यहाँका स्थानीयलाई उत्साहित बनाएको बताउँदै कृषि र पर्यटनलाई सँगसँगै लैजाने उल्लेख गर्नुभयो । स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्दै स्थानीयको आयआर्जन बढाउने सोच राखिएको बताउँदै उहाँले पर्यटकलाई प्राङ्गारिक उत्पादन खुवाउने गरी स्थानीयवासी कृयाशिल बनेको बताउनुभयो ।

गलकोट नगरपालिकाका प्रवक्ता खिमबहादुर भण्डारीले नगरपालिका भित्र रिघा सहित चारवटा होमस्टे सञ्चालनमा आएको जानकारी दिदै धेरै सम्भावना भएर पनि लुकेका पर्यटकीय गाउँको प्रवद्र्धन आवश्यक हुने बताउनुभयो ।रिघा सामूदायिक होमस्टेका अध्यक्ष सुमन श्रीसले कोरोन महामारीसँगै सुस्ताएको घरवास पर्यटन विस्तारै पूर्ववत् अवस्थामा आउने विश्वास व्यक्त गर्नुभयो ।

गलकोट नगरपालिका वडा नं ११ का वडा अध्यक्ष डम्बर श्रीसले समुद्री सतहबाट एक हजार ७०० मिटर उचाइमा रहेको रिघा हिमाली एवम् पहाडी दृश्यावलोकनका लायि आकर्षक गन्तव्य भएको उल्लेख गर्नुभयो । कार्यक्रमको सञ्चालन उदय सुवेदीले गर्नुभएको थियो भने उक्त अवसरमा मगर संस्कृतिमा आधारित विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । भिटोफ गण्डकीका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सूर्यनाथ पहारीका अनुसार भ्रमण टोलीले आज विभिन्न पर्यटकीय गन्तव्य हुँदै ढोरपाटन पुग्ने कार्यक्रम छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...