जेन्जी आन्दोलन अगाडि पछाडि एमाले माथि देशी-विदेशी शक्तिको चौतर्फी आक्रमण र घेराबन्दी

रामप्रसाद खनाल/नेपालको कम्युनिष्ट आन्दोलनमा लामो इतिहास बोकेको र पटक-पटक सरकारको नेतृत्व गरिसकेको नेकपा (एमाले) माथि चौतर्फी आक्रमण र घेराबन्दी भइरहेकोछ ।

यो घेराबन्दी एउटा शृङ्खलाबद्ध प्रक्रिया हो । विशेषगरी, २०८२ भदौमा भ्रष्टाचार र बेथितिविरुद्ध उठेको भनिएको ‘जेन्जी आन्दोलन’ र त्यसले निम्त्याएको राजनीतिक उथलपुथल जसले एमालेको नेतृत्वको सरकारलाई नै अपदस्थ गर्‍यो । ‘घेराबन्दी’ को पछिल्लो र महत्त्वपूर्ण कडी यो आन्दोलनमा घुसपैठ, षड्यन्त्र र सेटिङ गरी गरिएको विध्वंस नै हो । यो विध्वंसले मुलुकको समृद्धिलाई २० औं वर्ष पछि धकेलिदिएको छ । एमालेको बलियो राष्ट्रिय अडान र विकासको स्पष्ट एजेन्डाले गर्दा देशी-विदेशी स्वार्थहरूमाथि चुनौती खडा भएकाले नै यो आक्रमण केन्द्रित भएको हो ।

 

एमालेमाथि घेराबन्दी हुनुको मुख्य कारण एमालेले आफूलाई विकास र समृद्धिको नेतृत्व गर्ने एकमात्र बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न खोज्नु हो । बाह्य शक्तिहरूको दीर्घकालीन रणनीति नेपालमा बारम्बार राजनीतिक अस्थिरता सिर्जना गरेर मुलुकलाई कमजोर बनाउनु रहेको र एमाले बलियो भएमा यो अस्थिरता रोकिने देशीविदेशी शक्तिहरूको बुझाइ छ । त्यसबाट उनीहरू अत्तालिएका छन् । जति धेरै राजनीतिक दल हुन्छन्, त्यति बढी अस्थिरता र बाह्य हस्तक्षेप बढ्छ, त्यसैले दलहरूको सङ्ख्या बढाउने र एमालेलाई बलियो राष्ट्रिय शक्ति बन्न नदिने उद्देश्यले नै यो चौतर्फी घेराबन्दी गरिएको हो ।

 

यो घेराबन्दीका पछाडि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विभिन्न कारणहरू छन्, जसमा राष्ट्रियता र स्वाभिमानको अडान प्रमुख हो । खासगरी केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको दृढतापूर्वक सामना गर्नु, चीनसँग पारवहन तथा यातायात सन्धि गरी उत्तरी नाका खोलेर विदेश सम्बन्धमा सन्तुलन कायम गर्नु, र नेपालको अद्यावधिक नक्सा (कालापानी, लिपुलेक र लिम्पियाधुरासहित) जारी गर्ने र नेपालको सार्वभौमिकतालाई अन्तर्राष्ट्रियकरण गर्न उहाँले संयुक्त राष्ट्रसंघमा नेपालको नयाँ चुच्चे नक्सा दर्ता गर्नु जस्ता ऐतिहासिक कदमले केही बाह्य शक्ति चिढिएका छन् । राष्ट्रवादलाई केवल सिमानाको रक्षामा मात्र सीमित नगरी आर्थिक आत्मनिर्भरता, स्वाभिमान र आन्तरिक स्रोतको अधिकतम उपयोगसँग जोड्ने एमाले र कमरेड केपी शर्मा ओलीको प्रयासले समेत घेराबन्दीलाई थप मद्दत पुगेको नेपाली जनताको भनाइ रहेको छ ।

 

राष्ट्रिय स्तरमा पनि एमालेविरुद्ध विभिन्न शक्तिहरू लागेका छन् । गणतन्त्र र लोकतन्त्रमाथि नै अनास्था फैलाएर पुरानो व्यवस्था फर्काउन चाहने राजावादी र मण्डले शक्तिहरूले परिवर्तनको संवाहक एमालेमाथि प्रहार गरिरहेका छन् । त्यस्तै, एमालेबाहेकका राजनीतिक दलहरू र केही कथित स्वतन्त्र भनिनेहरुले ‘सिद्धान्तहीन’ गठबन्धन बनाएर एमालेलाई सत्ताबाट बाहिर राख्ने र कमजोर बनाउने मिसनमा लागेको देखिन्छ ।

 

एमाले विरुद्ध ‘जेन्जी आन्दोलन’ जस्ता घटनालाई इङ्गित गर्दै, भ्रमको खेती गर्ने ‘लक्ष्यविहीन किनिएका मान्छेहरू’ ले एमालेविरुद्ध निरन्तर कुप्रचार गरिरहेका छन् । यो सबैका पछाडि विदेशी शक्तिको चलखेल रहेको छ । एमाले जस्तो देशभक्त पार्टी नभएमा नेपाललाई आफ्नो ‘क्रीडास्थल’ बनाउन चाहने र नेपालको अस्थिरतामा लगानी गरेर आफ्नो स्वार्थ पूरा गर्न चाहने अन्तर्राष्ट्रिय शक्तिहरू र नेपालमा रहेका तिनीहरूका दलाल नै एमालेविरुद्धको अभियानमा लगानी गरिरहेका छन् ।

 

एमालेमाथिको आक्रमण उसको विकास मोडलविरुद्ध पनि लक्षित रहेको देखिन्छ । ‘आफ्नो गाउँ आफैं बनाऔं’, सामाजिक सुरक्षा भत्ता तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना जस्ता लोकप्रिय कार्यक्रमदेखि ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यले जनतामा ‘हामी आफ्नो देश बनाउन सक्छौं’ भन्ने आत्मविश्वास बढाएको थियो ।

 

 

यो राष्ट्रिय आत्मविश्वास बाह्य स्वार्थका लागि बाधक बन्यो । त्यसैले, एमाले सरकारबाट हट्दा देश आर्थिक संकटमा पर्ने गरेको र एमाले र यसको नेतृत्व खासगरी केपी शर्मा ओलीका महत्त्वाकांक्षी आयोजनाहरू (जस्तै सुरुङमार्ग, रेल, जलमार्ग) को निरन्तर विरोध हुनु पनि यही विकास विरोधी षडयन्त्रको हिस्सा मानेको छ ।

 

यो चौतर्फी आक्रमण र घेराबन्दीलाई चिर्नका लागि नेकपा(एमाले) ले संगठनात्मक, वैचारिक र राजनीतिक स्तरमा सशक्त प्रतिवादको रणनीति अख्तियार गर्नुपर्छ । पार्टीविरुद्ध फैलाइएका भ्रम र षड्यन्त्रको जालो चिर्न देशव्यापी जागरण सभा र प्रशिक्षणमार्फत वैचारिक प्रतिवाद गर्ने योजना बनाउनुपर्छ ।

 

 

पार्टीभित्रका विसङ्गति हटाएर संगठनात्मक सुदृढीकरण गर्ने, एमाले सरकारले गरेका कामहरूका साथै एमालेलाई लगाइएका आरोपहरूको खण्डन सहितको हातेपुस्तिका बनाई जनताको घरदैलोमा गई सशक्त प्रचार गर्ने, राजनीतिक स्थायित्व र लोकतन्त्रका लागि जिम्मेवार दलहरूसँग सहकार्यको पहल गर्ने र जेन्जी समूहले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनको नेतृत्व एमालेले लिनुपर्छ । अन्ततः आवधिक निर्वाचनलाई नै राजनीतिक सङ्घर्षको केन्द्रीय प्रश्न मान्दै जनताको विश्वास र जनमत पुनः प्राप्त गर्ने दिशामा पार्टी केन्द्रित हुनुपर्छ ।

 

नेकपा (एमाले) माथि भइरहेको चौतर्फी आक्रमण र ‘जेन्जी आन्दोलन’ जस्ता हालैका राजनीतिक घटनाक्रम लामो समय देखिको एउटा बृहत् घेराबन्दीको परिणाम हो । राष्ट्रिय राजनीतिमा आफ्नो नेतृत्वदायी भूमिकालाई कमजोर पार्ने र नेपाललाई दीर्घकालीन अस्थिरतामा धकेल्ने देशी-विदेशी स्वार्थको यो एकीकृत प्रयास हो ।

 

 

पार्टीको बलियो संगठन, देशभक्तिपूर्ण अडान, र ‘समृद्ध नेपाल सुखी नेपाली’ को विकास मोडल नै यो घेराबन्दीको मुख्य निसाना बनेको र पार्टी सोही अनुरूप प्रतिवादमा उत्रिनुपर्छ । नेता कार्यकर्ताले विगतका कमीकमजोरीबाट शिक्षा लिँदै आफ्ना कार्यशैली तथा जीवनशैलीमा सुधार गर्दै जनताका समस्याहरू समाधान गर्न जनताको बीचमा जानुपर्छ । जनता नै त्यो अजेय शक्ति हुन जसले एमालेलाई सशक्त र बलियो राष्ट्रिय शक्ति बनाउन आफै लाग्छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...