पोखरा । गण्डकी प्रदेश समितिको आयोजनामा ‘दोस्रो गण्डकी लोकतारा–२०८३’ आगामी जेठ ९ गते शनिबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुने भएको छ।

प्रतिष्ठानले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकी प्रदेश लोकसंस्कृति, मौलिक भाका र परम्परागत कलाको उर्वरभूमि भएकाले नवप्रतिभाको खोजी तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। कार्यक्रममा गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहकार्य रहेको जनाइएको छ।
प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष माया गुरुङका अनुसार गण्डकी प्रदेशका ११ जिल्लाबाट अडिसनमार्फत छनोट भएका प्रतियोगीहरू ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन्। प्रतिस्पर्धीहरूमा कास्कीका समिर पुन, पर्वतका शोभा परियार, बाग्लुङका ललिता घर्ती मगर, म्याग्दीका शक्ति छिनाल, तनहुँका मन्दिरा थापा मगर, गोरखाका निश्चल गुरुङ, लमजुङका युगेश परियार, स्याङ्जाका बत्तीकुमारी थापा, नवलपुरका गणेश विक, मुस्ताङका सविता छिनाल र मनाङका ममता तामाङ रहेका छन्।
प्रतियोगिताको निर्णायक मण्डलमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा लोकदोहोरी गायिका, वरिष्ठ गायक तथा संगीतकार , लोकदोहोरी गायकद्वय र रहने जनाइएको छ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु. ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै वरिष्ठ सर्जक को शब्द तथा लयमा निःशुल्क अडियो गीत रेकर्डिङ गर्ने अवसर पनि प्रदान गरिनेछ। द्वितीय हुनेले रु. ३३ हजार ३ सय ३३ तथा तृतीय हुनेले रु. २२ हजार २ सय २२ नगद पुरस्कार प्राप्त गर्नेछन्। सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीलाई रु. ११ हजार १ सय ११ प्रदान गरिने आयोजकले जनाएको छ।
त्यस्तै प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई तीन महिनासम्म निःशुल्क संगीत प्रशिक्षणको व्यवस्था गरिएको छ भने अन्य सहभागीलाई जनही रु. ५ हजार नगद प्रदान गरिनेछ।
कार्यक्रम सम्पन्न गर्न करिब रु. १४ लाख आम्दानी तथा रु. १० लाख खर्च हुने अनुमान गरिएको प्रतिष्ठानले जनाएको छ। बचत रकम कलाकार कल्याणकारी कोषमा जम्मा गरिने बताइएको छ।
प्रतियोगिताका लागि संस्थाका वरिष्ठ उपाध्यक्ष रामजी पाैडेललाइ कार्यक्रम संयोजकको जिम्मेवारी दिइएको छ। प्रतिष्ठानकी अध्यक्ष माया गुरुङले कार्यक्रम सफल बनाउन सबैको सहयोग अपेक्षा गरिएको बताइन ।