काठमाडौं, माघ ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अोलीले देश बर्बाद गर्न चाहनेहरुलाई आफूले रोकेर देश बचाएको बताउनुभएको छ । देश र जनताको मुहारमा मुस्कान ल्याउने काम आफूले गरेको उहाँले प्रष्ट पार्नुभयो ।नेकपा प्रदेश १ को कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । लोकतन्त्रमा अदालतले स्वतन्त्ररुपमा काम गर्न पाउनेपर्ने भन्नुहुँदै प्रधानमन्त्री ओलीले जति काम सरकारले गरेको छ खुला र पारदर्शीरुपमा गरेको बताउनुभयो ।
मन्त्रिपरिषदले निर्णय गर्दा नेपालको संविधानबमोजिम गरेको बताउनुहुँदै उहाँले भन्नुभयो, “सरकारको कामको नेतृत्व प्रधानमन्त्रीले गर्ने हो, संविधानको धारा ७६ (७), धारा ८५ अनुसार नै काम गरिएको हो, संसदीय अभ्यास र प्रणालीअनुसार गरिएको हो ।” आफ्नै अध्यक्षताकाविरुद्ध मिडियामा गएर अराजकता र अनुशासन विपरित काम गरेको अरु पार्टीका नेताहरुलाई देख्नुभएको छ ?” उहाँले जिज्ञासा गर्नुभयो ।
राष्ट्रको सर्वोच्च संस्थामाथि गालीगलौज गरिएकोमा दुःख व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानले संवैधानिक इजलासको व्यवस्था गरेको छ, त्यहीअनुसार वहस भइरहेको छ, अनावश्यक झमेला किन रु” सरकारले निर्वाचन गर्ने तयारी गर्दा केही समूह निर्वाचन आयोगमा गएर निर्वाचन गराउन पाइँदैन भन्नुभएको रहेछ, के यही हो लोकतान्त्रिक सोच ? उहाँले जिज्ञासा गर्नुभयो ।
“नेपाली जनता हाँस्दा कसै कसैलाई निकै पीर परेको देखेको छुँ, जनता खुशी हुँदा किन तिनको टाउको दुख्छ ?” प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली जनता, बालबालिका, युवा, किशोर, वयस्क तथा बृद्धबृद्धा सबैको अनुहारमा मुस्कान ल्याउने काम सरकारले गरिरहेको छ, काम गर्दा अरुलाई किन पीडा हुन्छ ?” जनतालाई हँसाउन पनि नपाइने कस्तो सोच पालेर नेताहरु मनमा पालेको उहाँले टिप्पणी गर्नुभयो ।
“मनमा एउटा कुरा बाहिर अर्को कुरा राख्नेहरुको भ्रममा कोही नपरौं, लोकतन्त्रको रक्षा गर्ने अभियानमा लागौं” प्रधानमन्त्री ओलीले युवाहरुलाई देशको समृद्धि कायम गर्नमा लाग्न आव्हान गर्नुभयो । अवको निर्वाचनमा देशभक्त विचार भएकाहरुको जित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘सूर्य’ चिन्ह र पार्टी आफू नेतृत्वकै पार्टीको भएकाले त्यसकालागि दावी गर्न आवश्यक नरहेको उहाँले बताउनुभयो ।
“निर्वाचन गर्नु भनेको देश संकटमा पर्नु होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतान्त्रिक व्यवहार नदेखाउने तर लोकतन्त्रको नाम जप्न नछाड्नेहरुको भ्रममा कोही पर्नु हुँदैन ।” निर्वाचनको कुरा सुन्दा सपनामा पनि ‘त्रसित’ हुनेहरु लोकतान्त्रिक हुन नसक्ने उहाँले बताउनुभयो ।