फागुन पहिलो साता मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

विजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्ने

पोखरा,माघ ६ गते ।पोखरामा आगामी फागुनको पहिलो साता मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा पहिलो पटक मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता फागुन ४ गतेदेखि ८ गतेसम्म पोखरा रंगशाला भलिबल कोर्टमा हुने छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाको सहभागिता रहने छ । मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङजा, नवलपुर, तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाको सहभागिता रहने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए । गत वर्ष पोखरामै मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।

 

पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा म्याटमा प्रतियोगिता आयोजना गरिने छ । दुई वटा कोर्ट निर्माण गरिने छ । यद्यपी प्रतियोगिता भने सेन्टर कोर्टमै खेलाउने योजना रहेको भलिबल संघले जनाएको छ । प्रतियोगिता लिगको आधारमा खेलाईने छ । बेष्ट अफ फाईभमा खेलाईने छ ।

केही दिन अघिमात्रै भलिबल संघले नै विभिन्न पाँच जिल्लालाई समेट्दै मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको थियो । कास्की, बाग्लुङ, पर्वत, स्याङजा र नवलपुरको पुरुष टोलीले मैत्रीपूर्ण प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धा नेपाली भलिबल टोलीको कप्तान अरुणा शाहीलाई पल्सर स्पोर्टस अवार्डको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको थियो ।

 

मुख्यमन्त्री कपमा भने जिल्लाले गैर जिल्लाको राष्ट्रियस्तरका खेलाडीलाई सहभागिता गराउने नपाईने संघका अध्यक्ष पराजुलीले बताए । ‘सम्बन्धीत जिल्लाकै राष्ट्रिय खेलाडीले खेल्ने पाउने छन् । गैर जिल्लाका खेलाडी समावेश गराउन भने पाईदैन् ।’ उनको भनाई थियो । प्रतियोगितामा महिला तथा पुरुष टोली विजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेता र तेस्रो हुने टोलीले भने नगद १ लाख र ५०हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...