काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधरण सदस्यबाटै हटाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। त्यस्तै महासचिव पौडेलमाथिको कारबाहीबारे भने आज कुनै निर्णय भएन । पौडलमाथिको कारबाही प्रक्रियामै रहेको साहले जानकारी दिए।
२ माघमा सकिएको स्थायी कमिटी बैठकले ओली र महासचिव विष्णु पौडेललाई समेत कारबाहीका लागि स्ष्टीकरण सोध्ने निर्णय गरेको थियो । ५ माघमा नेताहरु सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने लगायतका नेताहरू गएर प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा स्पष्टीकरण पत्र छाडेका थिए ।
पत्रमा ‘पार्टी विरोधी गतिविधि गरिरहनु भएका तपाईंलाई पार्टीको सदस्यताबाट किन निष्काशन नगर्ने ?’ लेखिएको थियो । स्पष्टीकरण पत्र प्राप्त गरेको वा निवासमा टाँसेको मितिले तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको थियो । तर, प्रधानमन्त्री ओलीले त्यसको कुनै जवाफ दिएनन् ।