काठमाडौँ, माघ १८ गते । नेपाल पत्रकार महासङ्घले केन्द्र र प्रदेशको केन्द्रीय नेतृत्व चयनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा गएसँगै करिब १५ हजारको हाराहारीमा रहेका सदस्य घटेर अब करिब १० हजार कायम हुने भएका छन् ।
महासङ्घमा व्यावसायिक पत्रकारहरू मात्रै रहून् भन्ने उद्देश्यले चालिएको शुुद्धीकरण अभियानको क्रममा प्रत्यक्ष निर्वाचन प्रणालीमा गएपछि गैरपत्रकारको सङ्ख्या पनि ह्वात्तै घटेको छ । एक जना केन्द्रीय पार्षद् बन्नका लागि १० जना सदस्य हुनुुपर्ने पुरानो परपाटीको अन्त्य भएसँगै महासङ्घका सदस्य पनि घटेका हुन् । गोरखापत्र प्रतिष्ठान शाखाको नवौँ साधारण सभालाई शनिबार सम्बोधन गर्ने क्रममा महासङ्घका पदाधिकारीहरूले गैरपत्रकारको बहिर्गमनसँगै महासङ्घमा अब सच्चा पत्रकार मात्र रहने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको सबैभन्दा पुुरानो अर्थात् १२० वर्ष लामो छापा पत्रकारिताको इतिहास बोकेको गोरखापत्र प्रतिष्ठान शाखाको उद्घाटन गर्दै गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनालले पत्रकारले आफ्नो हकहितका कुरा उठाइरहँदा कर्तव्य र दायित्व पनि सँगसँगै सम्झनुपर्नेमा जोड दिनुभयो । उहाँले कोरोना महामारीका समयमा पनि गोरखापत्र संस्थानका सबै कर्मचारीले समयमै तलब पाएको र कसैलाई पनि नहटाइएको स्पष्ट पार्नुभयो ।
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक श्रीधर आचार्यले गौरवपूर्ण इतिहास बोकेको महासङ्घको अब आउने नयाँ नेतृत्वले यसको मर्यादालाई अझ माथि उठाउने विश्वास व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घका सचिव रामप्रसाद दाहालले चैतको पहिलो सातासम्म निर्वाचन सकेर महासङ्घको स्थापना दिवस चैत १६ गते प्रत्यक्ष निर्वाचनबाट चुनिएका पदाधिकारीलाई नेतृत्व हस्तान्तरण गरिने योजना रहेको जानकारी दिनुुभयो ।
अर्का सचिव प्रकाश थापाले १० जना बराबर एक पार्षद्ले मतदान गर्ने परम्पराको अन्त्य यस प्रत्यक्ष निर्वाचन पद्धतिबाट हुने बताउनुभयो । प्रतिष्ठानहरूका इन्चार्ज यम विरहीले ३० वर्ष पत्रकारिता गरेका र ६० वर्ष उमेर पुुगेका पत्रकारलाई केही रकम भत्ता उपलब्ध गराउनका लागि प्रयास भइरहेको सुनाउनुुभयो । यस निर्वाचनमा केन्द्र, प्रदेश, प्रतिष्ठानलगायत सबैको छुट्टै बाकस राखेर निर्वाचन हुने छ र महासङ्घका हरेक सदस्यले प्रत्यक्ष मतदान गर्ने छन् ।