देशको समृद्धिमा झिनामसिना अवरोधले केही फरक पदैन ः प्रधानमन्त्री ओली

काठमाडौं, माघ १९ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले विकास विरोधी तत्वहरुलाई पन्छाएर भएर पनि देशको विकास गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सरकारको प्रमुख लक्ष्य नै देशको समृद्धि भएकाले झिनामसिना अवरोधले केही फरक नपर्ने बताउनुभयो ।


नेपाल विद्युत प्राधिकरण ढल्केबर सवस्टेशनको सोमबार उदघाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । देशलाई डिजिटलाइज्ड गर्ने र देशलाई अघि बढाउने सन्दर्भमा ढल्केबर सवस्टेशनको निर्माण सम्पन्न भई उदघाटन गरिएको उहाँले बताउनुभयो । विजुली उत्पादनमा नेपालले फड्को मारिरहेको बताउनुयभो ।

“पार्टीभित्रका केही नेताहरु उपद्रव गरेर विकासको काममा बाधा पु-याउँदै आएका थिए, तर अब त्यो अवस्था छैन” प्रधानमन्त्री ओलीले थप्नुभयो, “अब केही वर्षभित्र यी ठाउँहरु विदेशीहरु आनन्दका लागि भ्रमण गर्ने ठाउँमा परिणत हुन्छ ।” विकासले सबैलाई फाइदा पुग्ने उहाँले बताउनुभयो । “म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर” कुन्ती मोक्तानको गीत स्मरण गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, “काममा जति अवरोध गर्ने प्रयास गरेप नि विकासको काम रोकिँदैन, सरकारले काम गर्छ ।”

“नेकपा पार्टी अहिले निद्राबाट व्यूँझिएजस्तो भएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “पार्टीबाट दुई चार जना मान्छे बाहिरिदैमा कुनै फरक पर्दैन, त्यस्तो मान्छे बाहिर जाँदा पार्टी शुद्धीकरण भएको छ ।” सरकार सानातिना कुरामा नअल्झिने प्रष्ट पार्नुहुँदै उहाँले थप्नुभयो, “सरकारले निर्वाचनको मिति तोकिसकेको छ, तोकिएकै मितिमा निर्वाचन हुन्छ, साथ दिन सबैमा आग्रह गर्दछुँ ।”सन् २०२१ मै देश र दुनियाँबाट कोभिड १९ पराजित हुन्छ भन्नुहुँदै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रणका लागि सरकारले खोप शुरु गरेको बताउनुहुँदै कोभिड १९ संक्रमण हटिनसकेकाले अझै सजग रहन सबैमा आव्हान गर्नुभयो ।

यसअघि सरकारको नेतृत्व गर्दा देशमा १८ घण्टा लोडसेडिङको अवस्था रहेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “फर्पिङबाट बिजुली उत्पादन शुरु गरेको एक सय ११ वर्ष भए पनि विभिन्न कारणले नेपाल अँध्यारै रह्यो, तर अब हामी उर्जामा ठूलो फड्को मारेका छौं ।” पछिल्लो पटक २०७४ फागुन ३ गते आफू प्रधानमन्त्रीको जिम्मेवारीमा पुनः आएपछि २०७५ जेठबाट लोडसेडिङमुक्त देश बनाएको बताउनुभयो ।

वर्षायाममा उत्पादन हुने बिजुली खपत गर्न नसक्दा खेर गइरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री अ‍ोलीले अब विजुली विक्री गर्ने अवस्थामा नेपाल पुगेको बताउनुभयो । भारत र बंगलादेशलाई विजुली विक्री गर्ने तयारी भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । तराईमा पनि ढल निर्माण, पूर्व–पश्चिम राजमार्ग फराकिलो गर्ने काम शुरुभएको उहाँले चर्चा गर्नुभयो । सरकारले पूर्व–पश्चिम रेलको पनि छिटै शिलन्यास गरिने उहाँले बताउनुभयो ।

मरिन डाइभर्सन निर्माणको काम पनि छिटै शुरु हुने र तराईमा सिंचाई तथा विजुली दुवैको लाभ हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । व्यवस्थित शहरको विकास, कृषिको आधुनिककरणमा पनि सरकारले ध्यान दिएको उहाँले प्रष्ट पार्नुभयो । विरोधीहरुले ‘प्रधानमन्त्री ओली मधेस विरोधी हो’ भन्ने आरोप लगाएर कान भरेका होलान भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । आफू मधेसको विकासको पक्षमा रहेको प्रष्ट पार्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...