पोखरा, माघ २० गते । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले लैंगिक हिंसा अन्त्यका लागि महिला पुरुष दुवैको सहभागीता आवश्यक रहेको बताउनु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर २४ ले मंगलबार आयोजना गरेको लैंगिक हिंसा विरुद्ध पुरुषको ऐक्यबद्धता सचेतना कार्यक्रममा बोल्दै उहाँले लिंगका आधारमा हुने हिंसाबाट पुरुष भन्दा महिलाहरु बढि हिंसामा पर्ने भएकाले त्यसको न्यूनिकरण र अन्त्यका लागि महिला पुरुषको समान सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
पुरुषहरु पनि हिंसामा परेका हुन्छन् तर धेरै महिला पीडित भएका छन् उहाँले भन्नुभयो, महिला हिंसा अन्त्यका लागि पुरुष र महिलालाई एकै ठाँउमा राखेर कार्यक्रम आयोजना गर्दा महिलाप्रतिको दृष्टिकोण सकरात्मक बनाउन सकिन्छ भनेर महानगरले गत वर्षदेखि लैगिंक हिंसा विरुद्ध पुरुषको ऐक्यबद्धता समसचेतना नारा सहित कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । ‘विगतमा महिला हिंसा विरुद्धका कार्यक्रममा महिला मात्रै सहभागी हुने गरेका थिए । त्यसले हिंसा न्यूनिकरणमा खासै भुमिका खेल्न सकेको अनुभुति भएन ।
त्यसैले महिला र पुरुष दुवैलाई कार्यक्रममा सहभागी गराउदाँ प्रभावकारी हुन्छ भन्ने लागेर कार्यक्रम सञ्चालन गरेका हौ ।’ उपप्रमुख गुरुङले महिला हिंसा अन्त्यका लागि पुरुषको ऐक्यबद्धता र साथ आवश्यक रहेको बताउनुभयो । उहाँले समाजमा महिलाहरुमाथि सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक रुपमा हिंसा हुने गरेको बताउदै भन्नुभयो, ‘महिला र पुरुषको हैसियत बराबरी नभएसम्म हिंसा अन्त्य हुदैन् ।’ उहाँले महिलाका पक्षमा नीति नियम र कार्यक्रम राम्रा बनेपनि कार्यान्वयन प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले समाजमा रहेका महिलालाई राज्यको मुल प्रवाहमा ल्याउन उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो ।
समाजमा पछाडी परेका महिलालाई आत्मनिर्भर, व्यवसायी र नेतृत्व विकास गर्ने उदेश्यले कार्यक्रम ल्याएको बताउनुभयो । कार्यक्रममा महानगरपालिका कार्यपालिका सदस्य सन्तु सुवेदीले महिलाहरु घरभित्र र बाहिर हिंसाको सिकार हुने गरेको बताउदै महिला र पुरुष दुवैको सहभागीताले मात्रै हिंसा अन्त्य गर्न सकिने बताउनुभयो । पोखरा महानगरपालिका वडा नम्वर २४ का अध्यक्ष ओमप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य पुष्पा घले पहारी, वडा प्रहरी कार्यालय बैदामका निरिक्षक चुनुमाया तामाङ लगायतले बोल्नुभएको थियो ।